मास्क नलगाउने २ हजार बढी कार्बाहीमा

बैतडी । सार्वजनिक स्थलमा मास्क नलगाई हिड्नेलाई बैतडी प्रहरीले कार्बाही गरेको छ । मास्क नलगाउनेलाई नियन्त्रणमा लिनुका साथै जरिवाना समेत तिराउने गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  

असार २२ गतेदेखि मंगलबारसम्म २ हजार १४० जनालाई कार्बाही गरिएको बैतडीका प्रहरी प्रवक्ता गौरीप्रसाद जैसीले जानकारी दिनुभयो  ।  बजारक्षेत्रमा बिना मास्क निस्केका २२ जनालाई जनही १ सय रुपैयाँ  जरिवानासमेत तिराईएको उहाँले बताउनुभयो । यसका साथै ३५ जनालाई मास्क समेत बितरण गरेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका अधिकाँसलाई मास्क अनिवार्य लगाउनुपर्ने बिषयमा सम्झाई बुझाई छाडिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो ।  

गृह मन्त्रालयले असार २२ गते मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो । स्थानीय प्रशासन र प्रहरीलाई परिपत्र गर्दै मन्त्रालयले स्वास्थ्य मापदण्डअनुसार सामाजिक दूरी कायम नगर्ने र मास्क बिना बाहिर हिँड्डुल गर्नेमाथि संक्रमण रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न निर्देशन दिइएको हो । 

मास्क नलगाई हिड्ने र सामाजिक दूरी कायम नगर्नेलाई संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गर्ने गरी परिपत्र गरेअनुसार कार्बाही गर्ने क्रम जारी रहेको बैतडीका प्रमुख जिल्ल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो ।    

लकडाउनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै खुकुलो बनाउने नीति अबलम्वन गरिएपनि सर्वसाधारणसहित सरकारी, निजी तथा गैरसरकारी संघसंस्था र कार्यालयले यसको उल्लंघन गरेकाले तत्काल कडाइका साथ पछिल्लो निर्देशन कार्यान्वयन गराउन गृहले निर्देशन दिएको थियोे ।  कोरोना भाईरसको संक्रमणबाट आफू जोगिन र अरुलाई पनि जोगाउन अनिवार्य मास्क लगाएर हिड्डुल गर्न तथा सामाजिक दूरी कायम गर्नको लागि आग्रह गरिएको छ ।