अयोध्या भारतमा होइन, नेपालमै : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दूहरूको धार्मिकस्थल अयोध्या भारतमा नभएर नेपालमै रहेको दाबी गर्नुभएको छ । भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको उहाँको भनाइ छ । भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ऐतिहासिक तथ्यहरूमाथि भारतले अतिक्रमण गरेको आरोप लगाउनुभयो । सोही कारण नेपाल सांस्कृतिक हिसाबले थिचिएको उहाँले प्रष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने बताउनुभयो । भारतले उत्तरप्रदेशमा विवादित अयोध्या खडा गरेको उहाँको भनाइ छ । अयोध्याका बारेमा भारतमै पनि प्रशस्त विवाद रहेको उहाँले बताउनुभयो ।

‘हामी अहिले पनि ठानिरहेका छौँ, हामीले सीता भारतका राजकुमार रामलाई दियौँ । भारतका होइन अयोध्याकालाई दिएका हौँ हामीले । अयोध्या भनेको वीरगञ्जभन्दा अलि पश्चिम पट्टीको गाउँ हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिले खडा गरिएको अयोध्या होइन । अयोध्या भीषण विवाद छ है त्याँ ।’

प्रधानमन्त्री ओलीले अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, बाल्मिकी आश्रम यहीँ (नेपालमा) र दशरथबाट सन्तान नभएपछि पुत्रेष्टि यज्ञ लगाउने पण्डितजी पनि नेपालकै रिडीका भएको बताउनुभयो । ‘त्यसकारण सन्तान (राम) पनि भारतीय होइनन् ठाउँ (अयोध्या) पनि भारतीय होइन,’ उहाँले भन्नुभयो । 

भारतले नै भनेको अयोध्या सही हो भने त्यहाँका राजा विवाह गर्नका लागि कसरी जनकपुर आइपुगे भनेर प्रश्नसमेत उहाँले गर्नुभयो । त्यो समयमा कुनै सञ्चार सुविधा विना अहिले भारतले बनाएको अयोध्याबाट राम विवाहकै लागि जनकपुर आउन सम्भव नभएको उहाँको भनाइ थियो । 

प्रधानमन्त्री ओलीले ज्ञान, विज्ञान र अनेक कुराको सुरुवात र विकास नेपालमा भए पनि त्यो शृंखलाले निरन्तरता पाउन नसकेको बताउनुभयो । नारायणीको सुरम्य किनारमा बाल्मीकिको आश्रम हुनु, कोशी तटमा कौशिकी रहनु, आयुर्वेदका प्रणेता धन्वन्तरि र चरक यतैका हुनाले हिमवत्खण्ड नै ज्ञानभूमि, तपोभूमि हो भन्ने बुझिने उहाँको भनाइ छ ।