कोरोनाको सङ्क्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु।

काठमाडौँ:= कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ जना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स ९युएई०मा थप छ, भारतमा पाँच, ओमान र कुवेतमा एक÷एक नेपालीको मृत्यु भएको हो ।समितिका अनुसार शनिबार साँझसम्म विभिन्न १४ देशमा १४३ नेपालीको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ । हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्विडेन, ओमानलगायत देशमा रहेका नेपालीको मृत्यु भएको छ ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस हप्ता विदेशमा मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना सङ्क्रमणको दर न्यून हुँदै गएको छ । शनिबार साँझसम्म विदेशमा २८ हजार ९१८ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने २५ हजार २२६ गैरआवासीय नेपाली कोरोना मुक्त भएका छन् । एनआरएनएका अनुसार हालसम्म विश्वभर ३७ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट प्रभावित भएका छन् ।

चार्टर्ड उडान मार्फत नेपाल फर्काउने कार्य जारी :

यसैबीच कोरोना भाइरसका कारणले विश्वव्यापी लकडाउन सुरु भएपछि विभिन्न देशमा रोकिएका नेपालीको चार्टर्ड उडानबाट उद्धारको कामले तीव्रता पाएको छ ।
एनआरएनए र विदेशस्थित नेपाली कूटनीतिक नियोगको संयुक्त पहलबाट एक महिनाको अवधिमा २१ देशमा रहेका १८ हजार २९३ नेपालीको उद्धार गरिएको छ ।

अफगानिस्तान, अष्ट्रेलिया, ओमान, कतार, म्यान्मा, कुवेत, जापान, थाइल्यान्ड, दक्षिण कोरिया, बङ्गलादेश, मलेसिया, माल्दिभ्स, श्रीलङ्का, युएई, साउदी अरब, सिङ्गापुर, हङकङ, पाकिस्तान, बहराइन, अमेरिका र बेलायतलगायत मुलुकमा रहेका नेपाली स्वदेश फर्किएको सङ्घको कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो । विभिन्न अन्तर्राष्ट्रिय मुलुकबाट स्वदेश फर्किने नेपालीहरु रोजगारदाता कम्पनी र आफ्नै पर्सनल खर्चमा नेपाल सरकारको चार्टर्ड उडानबाट फर्किरहेका छ्न।