काठमाडौं । विभाजनको संघारमा पुगेको सत्तारूढ सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफल बिना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिपछि बल्झिँदै गएको विवाद समाधानका लागि शुक्रबार अध्यक्षद्वय ओली र दाहालबीच छलफल भए पनि ठोस निष्कर्षबिनै टुंगिएको हो ।
नेकपाको जारी स्थायी कमिटीको बैठकले बिहीबार पार्टी एकता हरहालतमा रक्षा र सुदृढ गर्नका लागि अध्यक्षद्वय ओली र दाहालका बीचमा छलफल आवश्यक रहेको निष्कर्ष निकालेको थियो । सोहीअनुसार दुवै नेताका बीचमा शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै तीन घण्टा छलफल भएको हो ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र कार्यकारी अध्यक्ष दाहालबीच बालुवाटारमा मन माझामाझ भए पनि ठोस निष्कर्ष निस्कन नसकेको बालुवाटार स्रोतले जानकारी दिएको छ । ‘दुवै अध्यक्षले छलफलका क्रममा आ–आफ्ना तिक्तताहरू विस्तारपूर्वक राख्ने काम भयो । तर, ठोस निष्कर्ष निस्कन सकेन,’ बालुवाटार स्रोतले भन्यो, ‘बैठकले सम्बन्धलाई हार्दिकतामा बदल्ने प्रयास भने गरेको छ ।’
छलफलका क्रममा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहालबीच अत्यन्तै खुलस्त ढंगबाट कुराकानी भएको नेकपा महासचिव बिष्णु पौडेलले पुष्टि गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘उहाँहरू (ओली–दाहाल) का बीचमा निकै खुलस्त कुराकानी भयो । दुबै अध्यक्षले आफूलाई लागेका कुराहरू छलफलमा राख्नुभयो ।’
छलफलमा दुई अध्यक्षका अतिरिक्त महासचिव पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा सहभागी हुनुहुन्थ्यो । उहाँहरू दुबैजना तत्कालीन नेकपा एमाले र माओवादीबीच पार्टी एकताका लागि भएको गोप्य सहमतिका साक्षी पनि हुनुहुन्छ ।
पौडेल र शर्माले पार्टी एकताका लागि भएको गोप्य सहमतिमा फर्काउने र एकतालाई दुर्घटनामा जान नदिन प्रयत्न गरे पनि बैठक निष्कर्षमा पुग्न नसकेको स्रोतको दाबी छ । २०७५ जेठ ३ मा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा हुनुअघि पाँच बुँदे गोप्य सहमति भएको थियो । उक्त सहमतिको चौथो बुँदामा ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुबै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख थियो । उक्त सहमतिको साक्षीका रूपमा प्रधानमन्त्री ओलीका तर्फबाट पौडेल र कार्यकारी अध्यक्षका तर्फबाट शर्माले हस्ताक्षर गर्नुभएको थियो ।
शुक्रबारको छलफलमा दुई अध्यक्षबीच स्थायी कमिटी बैठकमा सदस्यहरूले राखेको मागबारे छलफल भएको बताइएको छ । दाहालले सरकार र पार्टीलाई गतिशील बनाउनका लागि प्रधानमन्त्री ओलीलाई एउटा पद त्याग्न सुझाव दिएको स्रोतको भनाइ छ । प्रत्युत्तरमा ओलीले आफू दुवै पदमा रहने अडान राखेको स्रोतले जानकारी दियो ।
बालुवाटार स्रोतका अनुसार दुवै अध्यक्षबीच शनिबार बिहान स्थायी कमिटी बैठक बस्नुअघि फेरि सहमतिको प्रयासस्वरुप छलफल गर्ने समझदारी भएको छ ।
प्रधानमन्त्री ओलीले गत आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा आफूलाई हटाउन भारतीय राज्य संयन्त्रले सक्रियता बढाएको अभिव्यक्ति दिएपछि नेकपाभित्र विवाद चर्किएको थियो । विवादकै क्रममा ओलीले बिना परामर्श बिहीबार संघीय संसदको जारी अधिवेशन अन्त्य गर्ने निर्णय लिएपछि विवाद थप उग्र बनेको हो ।
प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहालबीच बिहीबार बिहान मन्त्रिपरिषद् बैठक नबोलाउने र जारी बजेट अधिवेशन अन्त्य नगर्ने समझदारी भएको थियो । तर, प्रधानमन्त्री ओलीले कार्यकारी दाहालसँगको समझदारीविपरीत अघि बढेर बिहीबार नै मन्त्रिपरिषद् बैठकमार्फत बजेट अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्नुभएको थियो ।
भारतीय राज्य संयन्त्रसँगै पार्टीका नेताहरूले आफूलाई सत्ताच्यूत गर्ने षडयन्त्र गरेको आरोप प्रधानमन्त्री ओलीले लगाएसँगै स्थायी कमिटीको बैठकमा कार्यकारी अध्यक्ष दाहालले प्रधानमन्त्रीको राजीनामा भारतले नभई आफूले मागेको जिकिर गर्नुभएको थियो । बैठकमा स्थायी कमिटी सदस्यहरूले समेत एकपछि अर्को गर्दै प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने धारणा राखेका थिए । विवाद बढ्दै गएर पार्टी फुटको संघारमा पुगेको नेताहरू बताइरहनुभएको छ ।
विवाद मिलाउन दोस्रो पुस्ता सक्रिय
सत्तारुढ नेकपाको समभावित विभाजन रोक्न दोस्रो पुस्ताका नेताहरूले दौडधुप सुरु गर्नुभएको छ । दौडधुपको संयोजन स्थायी कमिटी सदस्यसमेत रहनुभएका कृषि मन्त्री घनश्याम भुसालले गर्नुभएको छ ।
उहाँले शुक्रबार आप्mनै निवासमा स्थायी कमिटीका सदस्यहरूको भेला बोलाएर पार्टीलाई विभाजनबाट जोगाउने उपायका बारेमा छलफल गर्नुभएको छ । भेलाले पार्टी एकता हुँदाको म्यान्डेटका आधारमा अगाडि बढ्न नेतृत्वलाई सुझाव दिएको छ । भेलाले पार्टी एकताको आधारबाट पछि हट्न नहुने सुझाव दिएको भेलामा सहभागी एक स्थायी कमिटी सदस्यले जानकारी दिनुभयो ।
उक्त भेलामा प्रदेश नम्बर ५ का मुख्यमन्त्रीसमेत रहनुभएका स्थायी कमिटी सदस्य शंकर पोखरेल, पर्यटन मन्त्री योगेश भट्टराई, बन मन्त्री शक्ति बस्नेत, ऊर्जा मन्त्री वर्षमान पुन, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, टोपबहादुर रायमाझी, जनार्दन शर्मा, मणि थापा र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी हुनुहुन्थ्यो । स्थायी कमिटी सदस्यहरूले भेलाको निष्कर्षलाई लिएर दुबै अध्यक्षसँग छलफल गर्ने जिम्मेवारी कृषि मन्त्री भुसाललाई दिएको बताइएको छ ।
पार्टी एकता जोगाउन पार्टी मुख्यालयमा धर्ना
आन्तरिक विवादले पार्टी विभाजनको संघारमा पुगेपछि नेकपाका नेता–कार्यकर्ताहरूले पार्टी मुख्यालयमा धर्ना दिएका छन् । पार्टी विभाजनको दिशामा जान नहुने र विधिअनुसार सञ्चालन गरिनुपर्ने भन्दै नेकपाका नेता कार्यकर्ताहरूले पार्टी मुख्यालयमा धर्ना दिएका हुन् ।
नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टी एकता बचाउनका लागि धर्नामा दिइएको प्रतिक्रिया दिनुभएको छ । ‘पार्टी विभाजनको दिशामा जानुहुँदैन । विधिमा चल्नुप¥यो भनेर धर्ना दिएका हौं,’ उहाँले भन्नुभयो, ‘सकारात्मक सन्देश जाओस् भनेर पहलकदमी लिएका हौं ।’
अर्का केन्द्रीय सदस्य दिलु पन्तले अभूतपूर्व जनमत र जिम्मेवारीविपरीत नेतृत्व व्यक्तिवादी भएर अघि बढेका कारण विधिमा चल्नका लागि ध्यानाकर्षण गराउन धर्ना दिइएको बताउनुभयो । पन्तका अनुसार शनिबार दिउँसो २ बजे पनि पार्टी मुख्यालयअगाडि धर्नालाई निरन्तरता दिने योजना छ ।
शुक्रबार दिउँसो १ बजेदेखि ३ बजेसम्म भएको धर्नामा नेकपाका नेता–कार्यकर्ताहरूले ‘कम्युनिस्ट पार्टी नीति प्रधान हुन्छ, नेतृत्व प्रधान होइन’, ‘व्यक्तिमा होइन, विधिमा चल’, ‘टुटफुट होइन एकता कायम राखौं’ लगायतका नारा लेखिएका प्लाकार्ड बोक्नुभएको थियो ।
प्रधानमन्त्रीको निर्देशनलगत्तै सडकमा उत्रिए युवा
पार्टीभित्र राजीनामाको माग बढेपछि दबाबमा पर्नुभएका प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका युवापंक्तिसँग सहयोग माग्नु भएको छ ।
बिहीबार साँझ बालुवाटारमा पार्टीका आफू निकट युवा तथा विद्यार्थी नेतालाई बोलाएर पछिल्लो राजनीतिक घटनाक्रम र आफूले झेलेका समस्याबारे छलफल गर्नुभएका ओलीले युवा पुस्ता चुप लागेर बस्न नहुने बताउनुभएको थियो । उहाँले आफूविरुद्ध पार्टीभित्रैबाट षडयन्त्र हुन थालेको भन्दै युवाहरू सडकमा उत्रनुपर्ने बेला आएको बताउनुभएको छलफलमा सहभागी एक सदस्यले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीबाट निर्देशन पाएलगत्तै प्रधानमन्त्रीका समर्थक युवापंक्ति शुक्रबारबाट देशव्यापी रुपमा प्रदर्शनमा उत्रिएका छन् । काठमाडौं, भक्तपुर, पोखरा, बुटवल, चितवन, सुर्खेत लगायतका स्थानमा प्रधानमन्त्रीको समर्थनमा युवाहरूले प्रदर्शन गरेका छन् । प्रधानमन्त्री ओलीको समर्थनमा निस्किएका नेकपाका युवाले राष्ट्रिय झण्डा बोकेका छन् । उनीहरूले नेपालको नयाँ नक्सासँगै प्रधानमन्त्री ओलीको तस्वीर रहेको ब्यानर तथा राष्ट्रिय झण्डा बोकेर नाराजुलुस गरेका हुन् ।



















