ट्याक्सी व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौं । ट्याक्सी व्यवसायीहरूले बिहीबारदेखि आन्दोलन स्थगित गरेका छन् । ट्याक्सी सञ्चालन कार्यविधि बनाएर सञ्चालन गर्न दिने सम्बद्ध निकायकोट प्रतिबद्धता आएकाले आन्दोलनका कार्यक्रम फिर्ता लिएको अखिल नेपाल यातायात मजदुर संघद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

ट्याक्सी व्यवसायी तथा मजदुरको तत्कालीन तथा दीर्घकालीन माग सम्बोधन गर्ने प्रक्रिया अघि बढेको र संघीय संसद विकास तथा प्रविधि समितिले सरकारलाई मजदुर तथा व्यवसायीको माग सम्बोधन गर्न निर्देशन दिएको पनि उनीहरूले बताएका छन् । 

साथै बागमती प्रदेशका सरोकारवाला प्रादेशिक मन्त्रालयसँगसमेत छलफल भई माग सम्वोधन गर्ने प्रतिबद्धता आएको बताइएको छ । विज्ञप्तिमा भनिएको छ, हाम्रो रचनात्मक, सांकेतिक र ऐतिहासिक आन्दोलन र मजदुर एकतालाई थप सशक्त बनाउँदै हाम्रो एकता जीवन्त राख्दै कोभिड १९ को संक्रमण र उच्च जोखिमलाई पनि मध्यनजर गर्दै तत्कालका लागि यातायात विभागमा गरिरहेको धर्ना स्थगन गरेका छौ ।’

अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात मजदुर संघ र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघकोे समेत समर्थनमा सुरु गरिएको ऐतिहासिक आन्दोलन समग्र यातयात मजदुर स्वरोजगार र व्यवसायीको तत्कालीन समस्यालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा उजागर गर्न सफल भएको बताइएको छ । जोर बिजोर प्रणालीका आधारमा ट्याक्सी सञ्चालन गर्न पाउने माग राख्दै उनीहरूले बुधबारदेखि आन्दोलन कार्यक्रम सुरु गरेका थिए । 

अखिल नेपाल यातायात मजदुर संघ, उपत्यका ट्याक्सी विशेष समिति र उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले संयुक्तरूपमा आन्दोलन गरेका हुन् ।