शेयर बजारमा गिरावट

काठमाडौं । शेयर बजारमा लगातार दुई दिनसम्म सकारात्मक सर्किट ब्रेक लाग्दै आएकोमा बिहीबार भने ब्रेक लागेको छ । मंगलबार र बुधबार सकारात्मक सर्किट ब्रेक लागेको थियो । बिहीबार भने शेयर बजार खुलेको १ घण्टा ४० मिनेटमै नेप्से परिसूचक ८०.४ अंकले घटेर १२५६.११ अंकमा सर्किट लागेर कारोबार बन्द हुन पुग्यो । 

कारोबारमा कम्पनीको संख्या बढे पनि अधिकांशले गुमाएका छन् । १४२ कम्पनीको शेयर ४७ करोड ६६ लाख ५४ हजार ९ सय ७१ रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले जनाएको छ । ८० अंकले बजार घट्दा म्युचुअल फण्डबाहेक सबै समूहका परिसूचक उच्च अंकले घटेको छ । सबैभन्दा धेरै बैंकिङ क्षेत्रको सूचक घटेको छ । 

सबैभन्दा धेरै सोल्टी होटलको शेयर मूल्य घटेको छ । सोल्टी होटलको शेयर मूल्य १० प्रतिशतले घटेको हो । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको भने ८.०७ प्रतिशतले शेयर मूल्यवृद्धि भएको थियो । गोर्खाज फाइनान्सको ३.८१ प्रतिशत अर्थात् ४ रुपैयाँले बढेर प्रतिकित्ता १०९ रुपैयाँमा कारोबार भएको थियो भने गुडविल फाइनान्सको ३.३८ प्रतिशत अर्थात् ५ रुपैयाँ बढेर प्रतिकित्ता १५३ रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ३.१७ प्रतिशत अर्थात् १२ रुपैयाँले बढेर प्रतिकित्ता ३९० रुपैयाँ र मितेरी डेभलपमेन्ट बैंकको ३.०१ प्रतिशत अर्थात् १० रुपैयाँले बढेर प्रतिकित्ता ३४२ रुपैयाँमा कारोबार भएको थियो । 

स्पर्स लघुवित्त, सर्पोट लघुवित्त, एनएलजी इन्स्योरेन्स, मिथिला लघुवित्त र कालीका पावर कम्पनीका शेयरधनीले पनि २ प्रतिशतले कमाएका छन् । कुल १४२ कम्पनीको शेयर कारोबारमा आएकोमा ३२ कम्पनीको शेयरमूल्य बढेको, ९८ कम्पनीको शेयर मूल्य घटेको र १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

यसैबीच नेप्सेमा पाँच कम्पनीको शेयर सूचीकृत भएको छ । देवः विकास बैंकले वेष्टर्न डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछिको ५० लाख ४० हजार ६८१.६० कित्ता शेयरसहित सिर्जना फाइनान्स, आरएसडिसी लघुवित्त, सिन्धु विकास बैंक र सानिमामाई हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको हो । सिर्जना फाइनान्सले १५ प्रतिशत बोनसवापतको ११ लाख ५ हजार ८७६.८० कित्ता, आरएसडिसी लघुवित्तको ६ प्रतिशत बोनस शेयरवापतको ३ लाख ८० हजार १०७.२० कित्ता , सिन्धु विकास बैंको ११.५१ प्रतिशत बोनस शेयरवापतको ५ लाख ७४ हजार २८७.५ कित्ता र १० प्रतिशत बोनस शेयरवापतको सानिमामाई हाइड्रोको २३ लाख २१ हजार कित्ता शेयर नेप्से सूचीकृत भएको छ ।