मौद्रिक नीतिले पुनर्कर्जामा जोड दिने

काठमाडौं । नेपाल राष्ट्रले आगामी मौद्रिक नीति कोरोनाबाट प्रभावित अर्थतन्त्र उकास्नमा केन्द्रित हुने जनाएको छ । मौद्रिक नीति कोरोनाका कारण अस्तव्यस्त बनेको अर्थतन्त्रको पुनरउत्थानमा केन्द्रित रहने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउनुभएको छ । 

नेपाल आर्थिक पत्रकार समाज (सेजन)द्वारा बिहीबार आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । कोरोनाका कारण सबै क्षेत्र प्रभावित भएकोले खासगरी साना तथा मझौला उद्यमीका लागि केन्द्रित गरेर बैंक तथा वित्तीय संस्थाका हरेक शाखामार्फत ५ वटामात्र पुनर्कर्जा प्रदान गरिनु उपयुक्त हुने पनि उहाँले बताउनुभएको छ । 

कोरोनाका कारण असहज अवस्थामा पुगेका हरेक उद्योगी व्यावसायीलाई सहज गराउने गरी मौद्रिक नीति आउने उहाँको भनाइ थियो । राष्ट्र बैंकले पुनर्कर्जा कार्याविधिको ड्राफट तयार बनाएर सुझाबका लागि ल्याएको बताउँदै कार्यविधिमार्फत साना तथा माझौला व्यवसायलाई केन्द्रित हुनेगरी पुनर्कर्जा प्रदान गर्न खोजेको जानकारी दिनुभयो । 

अधिकारीका अनुसार राष्ट्र बैंकले गाउँ सहर र सुगम तथा विकट सबैक्षेत्रमा पुनर्कर्जा पुग्नेगरी कार्यविधिको ड्राफ्ट तयार पारेको र केही समयमै त्यसलाई अन्तिम रूप दिनेछ । 

आगामी आर्थिक वर्षको बजेटले पनि साना तथा मझौला व्यवसायलाई केन्द्रित गर्दै सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत वाणिज्य बैंकले प्रतिशाखा कम्तीमा १० तथा विकास बैंकले प्रतिशाखा कम्तीमा पाँचजनाका दरले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ । अब सबै गाउँपालिकामा पुनर्कर्जा सुविधा पुरयाइने पनि उहाँले बताउनुभएको छ । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको सबै जिल्लामा ५५ सय शाखा रहेको र एक शाखाले पाँचवटा ऋण दिएमा २७ हजारले पुनर्कर्जा पाउने उहाले बताउनुयो ।

मौद्रिक नीतिले कर्जाको पुनर्संरचना र पुनरतालिकीकरणको विषयलाई सम्बोधन गर्ने उहाँले आश्वासन दिनुभएको छ । कस्तो कर्जालाई पुनर्तालिकीकरण गर्ने, कस्तोलाई पुनर्संरचना गर्ने, कस्तो कर्जाको प्रोभिजनिङमा लचकता अपनाउने भन्ने विषयमा अध्ययन भइरहेको उहाले बताउनुभयो । कोरोनाका कारण बन्द रहेका उद्योग ब्यापार, व्यवसायका लागि अन्य समस्याभन्दा पनि वर्किङ क्यापिटल आवश्यक रहेको भन्दै मौद्रिक नीतिले व्यवसायको आकार तथा प्रकृतिका आधारमा त्यसलाई पनि अघि बढाउन सहयोग उपलब्ध गराउने उहाँले बताउनुभयो । 

गभर्नर अधिकारीले कस्तो कर्जालाई रि–सेडुल गर्ने, कस्तो कर्जालाई रि–स्टक्चर गर्न आवश्यक छ, कस्तोलाई छैन, कस्तोलाई पुनर्तालिकीरण गर्न अवाश्यक छ कस्तोलाई छैन भन्ने विषयमा छलफल जारी रहेको बताउनुभयो । ऋण लिएका उद्यमी व्यवसायी जसले ऋण तिर्ने बेला आइसकेको र त्यसका लागि दिएको समयले पनि नपुग्ने भएकाले त्यसमा कसरी अघि बढने भन्ने विषयमा छलफल भएको उहाँले जानकारी गराउनुभयो । समस्यामा परेको उद्योगी व्यवसायीलाई सहयोग नै गरेर जाने राष्ट्र बैंक तयार रहेको उहाँको भनाइ थियो ।

हाल अर्थतन्त्रका लागि आवश्यक तरलताको समस्या नरहेको पनि उहाँले जानकारी दिनुभयो । अधिकारीकाअनुसार हाल साढे २ खर्बभन्दा बढी अधिक तरलताको अवस्था छ । थप आवश्यक परेमा पनि केन्द्रीय बैंक अन्य वित्तीय औजारसमेत प्रयोग गर्न तयार छ । नेपाल राष्ट्र बैंकको प्रारम्भिक अध्ययनअनुसार कोरोनाका कारण अर्थतन्त्रलाई १ खर्ब ६४ अर्ब नोक्सान भएको छ । कोरोनाका कारण आयातमा कमी आउँदा वैदेशिक मुद्रा सञ्चिती प्रर्याप्त रहेको पनि उहाँले जानकारी दिनुभएको छ । 

कोरोनाका कारण नेपालको आर्थिक अवस्था त्यति नराम्रो अवस्थामा नपुगेको पनि उहाले दाबी गर्नुभएको छ । राजश्व र आर्थिक वृद्धिमा ठूलो कम्परमाइज गरिरहेको भन्दै अबको आर्थिक वर्षको अन्त्यसम्म बाहृय क्षेत्रमा डराउनुपर्ने अवस्थ नरहेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले कोरोना प्रभावितका लागि घोषणा गरेको पुनर्कर्जा बैंककै तहबाट पाउने व्यवस्था मौद्रिक नीतिमार्फत गरिनुपर्ने बताउनुभएको छ । कोरोनाबाट अर्थतन्त्रलाई जोगाउन बजारमा तरलता व्यवस्थापन गर्ने, उद्योगलाई चलायमान बनाउन छिटो मौद्रिक नीति ल्याउनुपर्ने उहाँको माग थियो । गोल्छाले सरकारले बजेटमार्फत घोषणा गरेको पुनरकर्जा ठूलामात्र नभई देशभरि रहेका साना, मझौला व्यवसायीले समेत सहज रूपमा पाउने व्यवस्था गर्न आग्रह गर्दै पुनर्कर्जाको ब्याज ५ प्रतिशतभन्दा माथि हुन नहुने बताउनुभयो । 

गोल्छाले तरलता व्यवस्थापन, सहुलियत कर्जा र श्रमिक व्यवस्थापनलगायतमा उद्योग व्यवसाय क्षेत्रलाई पुनर्जाग्रित गर्न स्ट्युमलस प्याकेजमा जोड दिनुभएको थियो ।