‘पुटिन’ विश्वकै शक्तिशाली राष्ट्रपतिको बाटोमा

मस्को ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विश्वकै शक्तिशाली राष्ट्रपतिको बाटोमा अगाडी बढ्नुभएको छ । राष्ट्रपति पुटिन चिनियाँ राष्ट्रपति सी चिनफिङ जस्तै सर्वशक्तिशाली बन्ने अभियानमा अगाडि बढ्नुभएको विश्लेषण अन्तर्राष्ट्रिय संचारमाध्यहरुले गरेका छन् । सन् २००० देखि रुसी राजनीतिको केन्द्रबिन्दुमा रहनुभएका पुटिनलाई ३०३६ सम्म राष्ट्रपति पदमा बनिरहन सायदै कसैले रोक्ने छ । यति बेला उहाँको उमेर ८३ वर्ष हुनेछ ।

चिनियाँ कम्युनिष्ट पार्टीले दुई वर्षअघि मात्र सीलाई आजीवन राष्ट्रपति बनिरहने कानुनलाई पास गरेको थियो । यस्तै अभियान रुसमा पनि भएको छ । तर, यहाँ जनमत संग्रहको सहयोग लिइएको छ । बुधबार मात्र ७ दिन लगाएर रुसमा जनमत संग्रह सम्पन्न भयो । साताब्यापी यो अभियान कोरोना भाइरसको संकटका कारण डिजिटल प्लेटफर्मको सहयोगले भएको थियो । जसमा ६० प्रतिशत मत खसेको र ६७ वर्षीय पुटिनको पक्षमा बहुमत प्राप्त हुने दावी गरिएको छ । 

रुसको साइबर त्यसै पनि पहिलेदेखि बदनाम छ । पछिल्लो अमेरिकी चुनावमा डोनाल्ड ट्रम्पलाई विजय गराउन रुसको साइबर सक्रिय भएको चर्चा अहिले पनि अमेरिकी मिडियाले गर्दै आइरहेका छन् । त्यसैले जनमत संग्रहको नतिजा आउनुअघि नै पुटिनको जितलाई लिएर सतप्रतिशत अड्कल गरिएको छ । पुटिनको कार्यकाल २०२४ मा समाप्त हुँदैछ । उहाँले आफू राष्ट्रपति बनिरहन यस्तो मौका चुन्नुभएको हो । सरकारी एजेन्सी वत्सोमले हालै सार्वजनिक गरेको एउटा सर्भेमा पुटिनको संविधान संसोधनको पक्षमा ७६ प्रतिशत रुसीले समर्थन गरेको बताइएको छ । 

अहिले यसैको वरिपरी नतिजा निस्किने अड्कल पनि गरिएको छ । सन् २००० मा पहिलो पल्ट राष्ट्रपति नियुक्त हुनुभएका पुटिनको लोकप्रियता देशभित्र ६० प्रतिशत रहेको एउटा नीजि सर्वे एजेन्सी लेवाडाले बताएको छ । यो उहाँको घट्दो लोकप्रियताको ग्राफ भएको आलोचकहरु बताउँछन् । यसअघि पुटिनको लोकप्रियता ९० प्रतिशतसम्म रहेको दावी गरिएको थियो । यद्यपि यो ग्राफ पश्चिमा देशहरूका लागि भने टाउको दुखाईको विषय हो । 

पुटिन आफ्नो आक्रमक विदेश नीतिका कारण पश्चिमा देशहरूमा भने आलोचना खेप्दै आउनुभएको छ । चीनसँग केही वर्षअघि व्यापार युद्धमा अल्झिनु अघिसम्म अमेरिका आफ्नो कट्टर दुश्मन रुसलाई मान्ने गर्दथ्यो । रुसलाई लिएर अमेरिकाको विदेश नीतिमा खासै कुनै परिवर्तन आएको छैन । तर, बीचमा चीन अगाडि आएका कारण दुई देशबीचको लडाईमा अमेरिका अल्झिएको छ । अमेरिकालगायत विश्वका अन्य बलिया शक्ति राष्ट्र चीनसँग आक्रामक बनिरहेको बेला पुटिनले यही जनवरीमा संविधान संसोधनको प्रस्ताव अघि सार्नुभएको थियो । 

आफ्नो रणनीतिमा वर्तमान प्रधानमन्त्री दिमित्री मेदवेदेव तगारो बन्न सक्ने सम्भावनाका बीच उहाँले बीचैमा दिमित्रीलाई राजिनामा गर्न लगाउनुभयो । यद्यपि दिमित्रीलाई उहाँले नै प्रधानमन्त्री बनाउनुभएको हो । 

रुसी सत्तामा आफैं सरकार र आफैं प्रतिपक्षी बन्नुभएका पुटिनले दिमित्रीको स्थानमा राजनीतिमा कम अनुभवी मिखाइल मिसुस्टिनलाई प्रधानमन्त्री बनाउनुभयो । पुटिनका लागि सबैभन्दा अफ्ठेरो बेला २००८ मा आएको थियो, जब उहाँ पुनः राष्ट्रपतिको निर्वाचनका लागि उठ्दै हुनुहुथ्यो । त्यति बेला विपक्षी नेता एलेक्सेई नावालनीले पुटिनबिरुद्ध भ्रष्टाचारको मुद्धा उठाउनुभएको थियो ।  तर, रुसको जासुसी संस्था केजीबीका पूर्व कर्मचारीसमेत रहनुभएका पुटिनले उल्टै नावालनीलाई एउटा मुद्धामा फसाएर चुनाव आयोगमार्फत निर्वाचनमा भाग नै लिन नपाउने स्थिति सिर्जना गरिदिनुभयो । 

पुटिनको शासन व्यवस्थालाई पश्चिमाहरूले पूर्व सोभियतकालिन सत्ताको रूपमा अथ्र्याउने गरेका छन् । रुसमा करिब ३ हजार टेलिभिजन च्यानल छ । यी च्यानलले राजनीतिसँग जोडिएको कुनै समाचार दिनु प¥यो भने सरकारको स्विकृति लिनुपर्छ । पुटिनले सत्तारोहण गरेको तीन महिनाभित्रै यो नियम लागू गराउनुभएको थियो । क्रमश सबै क्षेत्रमा आफ्नै पकड जमाउनुभएका पुटिन अब भने विश्वमै शक्तिशाली शासकको रुपमा अगाडी बढ्न तल्लिन देखिनुभएको छ । 

यसैबीच, पुटिनलाई अर्को कार्यकाल राष्ट्रपतिको उम्मेदवार हुनेगरी मार्गप्रशस्त गर्न संवैधानिक सुधारसम्बन्धी जनमत संग्रहमा भारी बहुमत प्राप्त भएको छ । रुसी केन्द्रीय निर्वाचन आयोगले मतगणनाको अन्तिम नतिजा सार्वजनिक गर्दै संवैधानिक सुधारको पक्षमा ७७ दशमलब ९२ प्रतिशत मत प्राप्त भएको जनाएको छ । आयोगकाअनुसार कूल मतदातामध्ये करिब ६५ प्रतिशतले मतदानमा भाग लिएका थिए । रुसी राष्ट्रपति पुटिनले संवैधानिक सुधारसम्बन्धी प्रस्तावमाथि जनताको अभिमत बुझ्न जनमत संग्रहका लागि आह्वान गर्नु भएको थियो । जसमा राष्ट्रपतिको कार्यकाल समेत अन्य केही संवैधानिक सुधारका व्यवस्थाहरु रहेका थिए