प्रदेश–२ देखि सुदूरपश्चिम प्रदेशसम्मको यात्रा

कैलाली । भारतबाट प्रदेश–२ हुँदै नेपाल प्रवेश गरेको सलह किरा लामो यात्रा तय गर्दै सुदूरपश्चिम प्रदेशसम्म पुगेको छ । फट्याङग्रा जातिको उक्त किरा सुदूरपश्चिमका विभिन्न जिल्लामा देखिएको हो । सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी, डडेल्धुरा र तराईको कैलाली–कञ्चनपुरमा यो किरा देखिएको हो । यसअघि प्राय सबै प्रदेशमा फाट्टफुट्ट रुपमा यो किरा देखिँदै आएको छ । 

भारतबाट सलहको केही टुक्रा नेपाल प्रवेश गरेको र हावाको बहावसँगै त्यहाँबाट बिभिन्न जिल्लामा छरिदा नेपालमा सलहले खासै असर नपार्ने विज्ञहरुले बताउँदै आएका छन् । सलह किरा बुधवार बैतडीको पाटनका विभिन्न क्षेत्रमा देखिएको छ । 

पाटन नगरपालिका–१ मा सलह देखिएको वडा नं १ का वडा अध्यक्ष गणेशदत्त भट्टराईले बताउनुभयो । खेतबारीमा सलह किरा देखिएपछि स्थानीयवासी यतिबेला आगो बाल्नुका साथै ठूलो आवाज निकालेर भाँडाकुँडा ठटाएर सलह किरा धपाउन जुटेका छन् । यस्तै नगरपालिकाको वडा नं १० को ठाँटामा पनि सलह किरा देखिएको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले पुष्टी गर्नुभएको छ ।  ‘नगरपालिकाका केही क्षेत्रमा सलह किरा देखियो भनेर किसानहरुले खबर गरेपछि फिल्डमा जाँदा सलह किरा भेटिएको हो, उहाँले भन्नुभयो’ अहिले धेरै ठूलो झुण्ड नभएपनि एकदुई सयको झुण्ड देखा परेको छ’  ।

सलह फट्याङग्रा एक वर्ग किलोमिटर क्षेत्रमा फैलिएर बस्ने र एउटा बथानमा लाखौं किरा हुने विज्ञहरुले बताएका छन् । यो फट्याङग्राले सम्पूर्ण कृषि वालीको बोटविरुवा, बाली, फुल, डाँट, डाँटको बोक्रासम्म खाइदिने क्षमताका भएकाले प्रवेश गरेको स्थानमा ठूलो भोकमरी र अनिकाल पर्ने गरेको बताइएको छ । बैतडीमा सलहको ठूलो झुण्ड नपुगेकाले बालीनालीमा त्यति क्षति पु¥याउन नसक्ने कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘बारीमा सलह देखा परेमा ठूलो आवाजमा थाल बजाउन, आगो बालेर धुँवा निकाल्न, बाजा बजाउन र सलह बसेको ठाउँमा बिषादी छर्कन सल्लाह दिएका छौं’ ।

फेदकटुवा किरा र फौंजी किराको प्रकोप झेलिरहेका बैतडीका विभिन्न ठाउँका किसानहरु सलह किरा पनि देखिन थालेपछि चिन्तित बनेका छन् । फेदकटुवा किराले मकैबाली नष्ट गरेपछि दोश्रो पटक लगाएको मकैमा सलहकोसमेत प्रकोप देखिन थालेपछि अनिकाल हुने चिन्ता थपिएको किसान केशवराज भट्टले बताउनुभयो । भारतबाट भित्रिएको भनिएको सलह किरा बैतडीको पाटन नगरपालिका क्षेत्र, डडेल्धुराको परशुराम नगरपालिका र कैलालीको गौरीगंगा र लम्की चुहा क्षेत्रमा देखा परेको हो ।  यसैबीच, सुदूरपश्चिम सरकारले एक केजी सलह कीरा ल्याए २५ रूपैँया दिने यसअघिनै घोषणा गरिसकेको छ । 

हिमाली जिल्ला म्याग्दीमा पनि सलह किरा भित्रिएको छ । बेनी नगरपालिका, अन्नपूर्ण, मालिका, रघुगंगा, मंगला र धवलागिरि गाउँपालिकामा सलह किरा भेटिएको हो । सलह पहाडी क्षेत्र हँुदै धवलागिरि हिमालको फेदीमा रहेको मुदीबाट उकालो लागेको बताइएको छ । लाखौँको संख्यामा आकाशै छोपिने गरी म्याग्दी नदीको किनारै किनार धवलागिरि हिमालतर्फ उडेका धवलागिरि–७ बगरका कृषक भुवानी पौडेलले जानकारी दिनुभयो । 

मंगला गाउँपालिकाको सयमुरे फाँटमा चार रोपनी खेतमा भर्खरै रोपिएको धानको बिरुवा सलहले नष्ट पारेको स्थानीय श्रीराम पौडेलले जानकारी दिनुभयो । मालिका गाउँपालिका–४ सिस्नेरीमा पनि सलहको हुल देखिएको स्थानीय बालकुमार सुनारले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाको दानामा पनि सलह देखिएको स्थानीय गंगा पुनले बताउनुभयो । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालाले सलहले पार्न सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सतर्कता अपनाउन आग्रह गरिएको बताउनुभयो । 

यसैबीच, रघुगंगा गाउँपालिकाले एक किलो सलह नियन्त्रणमा लिनेलाई १५ रुपैयाँका दरले व्यवस्थापन खर्च उपलब्ध गराउने निर्णय गरेकोसमेत प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।