उपाधि होडमा रोचक प्रतिस्पर्धा

मड्रिड । स्पेनिस ला लिगा फुटबलमा उपाधि होडका लागि साविक विजेता बार्सिलोना र रियल मड्रिडबीच रोचक प्रतिस्पर्धा देखिएको छ । शीर्षस्थानमा बार्सिलोनाले एक अंकको अग्रता लिएको २४ घण्टा नबित्दै मड्रिडले उसलाई पछि पार्दै दुई अंकको अग्रता बनाएको छ ।

रियल मड्रिडले अब ६ जित अथवा ५ जित र एक बराबरी खेलेमा मात्रै लिगको उपाधि जित्नेछ । रियलले २०१२ यता लिगको उपाधि जित्न सकेको छैन । जितसँगै रियलको ३२ खेलमा ७१ अंक छ भने दोस्रो स्थानको बार्सिलोनाको ६९ अंक छ । एस्पान्योल भने ३२ खेलमा २४ अंकसहित पुछारमा यथावत छ ।

मड्रिडले आइतबार राति इस्पानियललाई १–० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । खेलको ४५औं मिनेटमा कासिमेरोले करिम बेन्जेमाको पासमा गोल गर्दै टोलीलाई जित दिलाउनुभएको थियो । खेलको सुरुवातमा पनि कसिमेरोले गोलको सुन्दर मौका पाउनुभएको थियो । तर, उहाँको प्रहारलाई डियगो लोपेजले विफल तुल्याइदिनुभयो ।

इस्पानियोलका खेलाडीले गरेको पटक पटकका प्रहार पनि रियलका गोलकिपर थिबाउट काउर्टियसलले बचाउनु भएको थियो । बाउर्टिउसले ५ वटा उत्कृष्ट प्रहार जोगाउनुभएको थियो । इस्पानियलको टोली शनिबारमात्रै उसका स्पोर्टिङ निर्देशक फान्सिस्को रुफटेले सम्हाल्नुभएको थियो । एल्बर्डो फर्नान्डेजका स्थानमा उहाँ सिजनको तेस्रो प्रशिक्षक चुनिनुभएको हो ।

रियलको निर्णायक गोलमा उत्कृष्ट पास उपलब्ध गराउनुभएका बेन्जेमाको यस सिजनमा यो १०औं गोलमा सहायकको भूमिका हो । ला लिगामा लियोनल मेस्सी, लुइस सुआरेज र उहाँमात्रै गोल र गोलमा सहायकको भूमिका खेल्नेमा दोहोरो अंक जोड्ने खेलाडी हुनुहुन्छ ।

आफ्नो भूमिकाबारे बेन्जेमाले भन्नुभयो, ‘मेरा लागि यो फुटबलमात्रै हो । मलाई केसिमिरो मेरो पछाडि थियो भन्ने थाहा थियो । त्यसैले कर्नरतिर जादै गरेको बललाई मैले पछाडि धकेले ।’

रियलका प्रशिक्षक जिनेदिन जिदानले पनि बेन्जेमाको उत्कृष्ट पासबाटमात्रै जित सम्भव भएको बताउनुभयो । ‘यसले मलाई आश्चार्यमा पारेन । उनी यस्तै उत्कृष्ट क्षणहरू निर्माण गर्ने खेलाडी हुन् । यो क्षण लिगको सर्वोत्कृष्ट क्षणमध्येको एक हो,’ जिदानले भन्नुभयो ।

जिदानले ६ खेल बाँकी रहे पनि लिगको उपाधि अन्तिम खेलबाट होस् भन्ने चाहेको बताउनुभयो । ‘हामीले दुई अंकको अग्रता लिएका छौं तर लिगको उपाधि छिनोफानो अन्तिम दिन होस् भन्ने चाहन्छु । हामीले प्रत्येक खेलमा उत्कृष्ट प्रतिस्पर्धा गर्नेछौं,’ उहाँले थप्नुभयो ।

लालिगा अन्तर्गत आइतबार राति भएको अन्य खेल लेभेन्टेले रियल बेटिसलाई ४–२ गोलअन्तरले पराजित गरेको छ । जितसँगै लेभान्टे १२औं स्थानमा यथावत छ । रियल बेटिस उ भन्दा एक अंक स्थान तल छ । लेभान्टेले ३२ खेलबाट ४१ अंक जोड्दा बेटिसले त्यतिनै खेलबाट ३७ अंक छ ।

यस्तै भिल्ला रियलले भ्यालेन्सियालाई २–० र इबरले ग्रानेडालाई २–१ गोलले पराजित गरेको छ । भिल्लारियल ५१ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ भने भ्यालेन्सिा ४६ अंकसहित आठौं स्थानमा छ । यस्तै ३५ अंक भएको इबर १५औं स्थानमा उक्लिँदा ४३ अंकसहित ग्रानेडा १०औं स्थानमा यथावत छ ।