वैदेशिक रोजगारीमा कार्यरत श्रमिक छोराको तर्फबाट ,आमालाई पार्सल:कथा।

कथा: आमालाई पार्सल ,
लेखक :- जीवन देवान गाउँले ,,

मध्यान्ह :
एस.आई.क्यासकेट कम्पनीले फलोअप गरिरहेको रहेछ । कम्पनीको मान्छेसँग सलायाङ हस्पिटल स्थित शव–कक्षको प्रतिक्षालयमा भेट भयो । उसैले काउन्टरमा कुरा राख्यो र शवगृहका कर्मचारीले हामीलाई लास राख्ने चिसो कोठामा पुर्यायो।
हामी भन्नाले मृतकसँग एउटै कम्पनीमा काम गर्ने साथी, लास नेपाल पठाउन सहयोग गर्न तत्पर संस्थाका प्रतिनिधि र म –लाई कर्मचारीले यार्क जस्तो बकास तानेर लास देखाई दियो । जसै, बकास भित्र थुनिएको चिसो वाफ र ह्वास्स गन्ध नाकैमा ठोक्कियो अनि पहेलिदै गएको अनुहार देखा पर्यो ।
केही दिन अगाडी सम्म सँगै काम गरेका साथीले भनिदिए –दाई नै हो ।
उसले मात्रैतेति भनिदिनु पर्ने थियो –केवल औपचारकिताको लागि । किनकी मृतक को हो ? भन्ने जानकारी त थियो नै, तर अरुकसैको डकुमेन्टबाट हस्पिटल भर्ना भएको हुदा वास्तविक नाम सच्याउनु पर्ने हुन्थ्यो । हो त्यही नाम नमिलेको कारण कागजी प्रकृयाले सनाखत गरिदिनु पर्ने माग गर्यो । र, हामी लासको पहिचान गर्न शवगृहको चिसो कोठामा उभिएका थियौ ।
मैले भनिसकेको छु कि पहिचान गर्नु केवल औपचारिकताको लागि मात्रै हाे । क्यासकेट कम्पनीले नै आवश्यक कागजात तयार गर्दै रहेछ । नेपालबाट पनि शव चाँडो पठाईदिए हुने आसयको कल तारन्तार आईरहेको थियो । नेपालमा शव रिसिभ गर्नेको विवरण खुलाएर फर्म भर्नु पर्ने रहेछ । काउन्टरको कर्मचारीले मागेको विवरण हामीले टिपायौ । त्यसपछि क्यासकेट कम्पनीले हामीलाई फ्लाईट कन्फर्म गरेर जानकारी दिने कुरो भयो।

साँझ :
‘घर परिवारसँग बेखवर भएर नेपाली केटाहरु मलेसियामा गुमनाम बस्नुको कारण के होला ?’ –मलाई समेत ट्याग गरेर कसैले स्टाटस पोष्ट गरेको रहेछ । कम्प्युटर अगाडी बसेर फेसबुक लगईन गर्ने बितिकै स्क्रिनमा फुत्त देखा पर्यो । सोचे,– ‘उसले जुन उदेश्यले स्टाटस लेखेको होस तर मेरो पनि धारणा जान्न चाहेको हुन सक्छ । नत्र किन ट्याग गर्यो त !’
दिउसो मात्रै घरपरिवारसँग वेखवर भएर गुमनाम बसिरहेका एकजना पात्रलाई अस्पतालको शवगृहमा भटेर आएको छु । यसरी बेखवर बस्नुको कारण के थियो ? –परको लोकमा पुगिसकेको पात्रलाई सोध्ने कुरा भएन । वरको लोकमा छदै भेट्न सकेको भए एउटा खास जवाफ पाईन्थ्यो कि !
म आफ्नो धारण दर्ता गराउनु पहिला कमेन्टबक्स खोतल्न थाल्छु । माउसमा औला जोतेर उधिन्दै एकएक प्रतिकृया निकाल्छु।
–लट्री(टोटो, म्यागनम, कुडा –जुन हरेक हप्ताको सनिवार, आईतवार, वुधवार ड्र गर्छ भने महिनाको पहिलो र अन्तिम हप्ताको मंगलवार स्पेशल–ड्र को नाममा खुल्ने गर्छ ।) फस्ने लाससमा फसेर ।
–ईण्डोन, फिलिपिना, भेतनामी, कम्बाेडियन केटीहरुको मायाजालमा उनिएर ।
–श्रीमतीले घर ब्यवहार बिगारेर ।
कमेन्टहरु मध्येबाट टिपोट गर्नु पर्दा मलाई समेत पत्यार लागेका प्रतिकृया थिए यि ।
उसो त रत्नदाई पनि घर–परिवारसंग बेखवर भएर बसिरहेका थिए । मृत्युको अन्तिम घडिसम्म पनि घर–परिवारसंग उहाले सम्पर्क गरेको पाईएन । किन त ? कारण बताउन उहा जिवित हुनुहुन्न। यद्पी केही संकेत त भेटिएला कि ! भन्ने ठानेर पिएनसिसि नामक संस्थाले डकुमेन्ट्री बनाउने क्रममा उहाको आमासंग गरेको वार्तालाप सुन्नलाई पुनः यु–ट्याुव भित्र पस्छु । र, सुन्छु आमालाई मात्रै –दोहोर्याई दोहोर्याई।
आमालाई सुनिसके पछि फेसबुकमा बसिरहन मन अडिएन । कमेन्ट दर्ज नगरी–लग आउट गर्छु । जिन्दगीको रंङ उड्दै गएको आमाको अनुहारले आँखा भरीएर आउछ । कम्प्युटर नै सट डाउन गरेर विरक्तिलो एकलाप बहकिन्छु म,:–

आमा !
‘छोरा आउछ । तर कहिले आाउछ ! आउनु चै आउछ ।’ भनेर केही बर्ष अगाडी मात्रै छोरा माथिको आफ्नो विश्वास रेकर्ड गराउनु भएको रहेछ । हजुरको यही रेकर्डेड दृढ विश्वासले आज म तिलमिलाएको छु । सोच्दैछु, यदी पिएनसिसि नामक संस्थाले हजुरहरू जस्तासम्म पुगेर परदेशी आफन्तको ‘अनन्त पर्खाई…’मा बसेकाहरूको आवाज र दृश्यलाई डकुमेन्ट्रीमा कैद नगरेको हुन्थ्यो भने सायद म हजुरको छोराको शव नेपाल फर्काउनमा सकृय हुने थिईन । धन्न ! हजुरले केमेरा भिरेर गाउँ पसेकाहरूको भरोसा गर्नु भयो । तिनीहरूको केमेरा अघि उभिएर मन भित्रको वेदना पोख्ने सहास गर्नु भयो । ‘आफ्नो पीर–बेथा आफुसंगै छ, दुनियालाई कहेर के हुन्छ ?’ पनि त भन्दिन सक्नु हुन्थ्यो नि !
सम्भवतः छोराको मृत्यूको खवर आमाले कसैमार्फत पाउनु भयो होला ! तर, मैले चै मलेसियाबाट प्रकाशन हुने पत्रिकाबाट थाहा पाएको हुँ । ‘मलेसियामा रत्न दाईको निधन, शव अलपत्र’ शिर्षकमा प्रकाशित समाचारलाई मैले अर्को एउटा दुःखद घट्नाको निरन्तरताको रूपमा मात्रै लिएको थिए । किनभने विचल्ली, मृत्यू, शव अलपत्र जस्ता समाचारहरू हुनु र सुनिनु मलेसियाको हकमा सामान्य जस्तै हुदै जादैछ । वा, भनौ यस्ता घट्नाहरूलाई सामान्नीकरण गर्न अभ्यास्त हुदैछौ । फेरी, घर–परिवारसंग पूर्ण रूपमा बेखवर भएर बसोबास गर्नेहरू आफैमा अलपत्र पात्र हुन् । त्यसैले अलपत्रेहरूको मृत्यू नै अलपत्र अवस्थाको हुन्छ भने शव अलपत्र त हुने नै भयो नि ! तर, पुत्र शोकमा डुबेकी आमालाई मथिङगलमा राखेर दोहोर्याई तेहेर्याई उक्त डकुमेन्ट्री हेरे पछि भने अलपत्र भनिएको शवलाई अलपत्रै छाड्नु हुन्छ भन्ने लाग्दै लागेन । ‘छोरा आउछ’ आफूले जन्म दिएको छोरा प्रति हजुरको कत्रो विश्वास ! हजुरको त्यही दृढ विश्वासले मलाई रन्थनाएर हार–गुहार गर्ने अवस्थामा पुर्याएको हो, ताकी सन्तान प्रति आमाहरुको विश्वासमा विचलन नआओस  । त्यहिभएर म ढुनमुनिदै पिएनसिसि प्रतिनिधि र किरात याक्थुङ चुम्लुङ मलेसिया सम्म गुहार माग्नु पुगे । निश्प्राण नै सहि आज उहाहरुकै सहयोगमा हजुरको विश्वासलाई डगमगाउन नदिने प्रयत्न सफल भएको छ । अर्थात, वकासमा सिलबन्दी भएरै भए पनि हजुरको छोरा घर आउदैछ ।
आमा ! अलिकति यथार्थ बताउछु । कुनै समय थियो जुन बेला यस्ता घट्नाहरू आम सरोकारको विषय बन्थ्यो । यस्ता घट्नाहरूको समाधानमा ऐकबद्धता जुटाउन सहजै सकिन्थ्यो । तर, अचेल उस्तै प्रकृतिको घट्ना घट्दा पनि नीजि सरोकारको मात्रै विषय बन्दैछ । के ढाट्नु ! घर–परिवार भुलेर वेपताहुनेहरू जिवित या मुर्दा हुन्, कसै प्रति पनि सहानुभूति जाग्नु छाडि सकेको छ । घर–पारिवार प्रतिको उतरदायित्व वोध गर्न नसक्नेहरुको लागि यतातिर संवेदनशिल हुन छाडि सकेका छौ । हुदाहुदा, यस्तो प्रकृतिका लासहरू चन्दा उठाएर नेपाल पठाउनु कति उपयुक्त हुन्छ ? भन्नेसम्मको वहस उठान हुन थालिसकेको छ । यस्तो अवस्थामा उक्त डकुमेन्ट्री देखाएर सहानुभूति बटुल्नु बहायक अर्को विकल्प देखिन । त्यसैले मैले हार गुहार गर्नु पर्ने जति सबैलाई आमाको आशु देखाएरै गरेको हुँ । यसरी हजुरको दुःख देखाई हिडेर मैले गलत गरे या सहि ? त्यो त म जान्दिन । यदी हजुरको नजरले गलत देखेमा माफी चहान्छु । तर, पिएनसिसिका प्रतिनिधि र किरात याक्थुङ चुम्लुङ लगायतका सहयोगीहरू, हजुरको दुःख देखेरै शव पठाउन तत्पर भएका हुन् ।
साँचि ! आमा आफैले चै उक्त भिडियो हेर्न पाउनु भयो कि भएन होला ?
आमालाई जिज्ञासा लाग्न सक्छ –मैले पिएनसिसि र याक्थुङ चुम्लुङलाई नै किन गुहारे ? दुतवासलाई किन गुहारीन ? आमालाई थाहाहोस– पिएनसिसि तेही संस्था हो जसले मलेसियामा बेखवर ढंगले भासिएको छोराको बारेमा सोधखोज गर्न क्यामेरा भिरेर हजुर सम्म आईपुगेको थियो । दुःखमा तेत्रोबिधि चासो राख्नेले आपत परेको बखत पनि साथदेला भन्ने विश्वासले नै गुहार्न पुगेको हुँ । याक्थुङ चुम्लुङ त हाम्रो समुदायको मूलघर नै भैगयो र परेको बेलामा ओत लाग्नुको लागि घरको मुखताक्ने हाम्रो स्वभाविक चलन पनि त हो । जहासम्म दूतवासलाई गुहारिन कि ! भन्ने लागेको भए, आमालाई  जानकारी होस– दूतवासको समन्वय बेगर यस्तो प्रकृतिको शव पठाउनु कठिन हुन्छ । तर, अवैधानिक भएर बसेकाहरुको हकमा शव पठाउदा लाग्ने खर्च बेहोर्न दूतवास बाध्यकारी नहुने रहेछ । र, आमालाई यो पनि थाहाहोस –सरकारी कामकाज गर्ने तौरतरिका विदेशमा पनि उस्तै हुन्छ, जस्तो देशमा हुने गर्छ । अव यो नसोध्नु होला –विदेशमा पनि सरकारबाट दिईने सेवा सुविधा पाउन पहुच हुनु र नहुनुले अर्थ राख्छ ?
आमा ! हजुरको जीवनमा घटेका घट्नाहरु सुन्दा मात्रै पनि फिलिमको कथा झै लागेर आउछ । बोल्नु त केमेरा अगाडि उभिएर बोल्दा थोरै बोल्नु भएको छ तर जति बोल्नु भएको छ हजुरले वाँचेको जिन्दगानी बुझ्न तेती काफी छ ।  ‘एकमात्र सन्तान छोरालाई कोखमा थमाई राखेर मुग्लान हिडेको लोग्नेको अहिलेसम्म अत्तोपत्तो नहुनु, त्यहि एउटा छोरा पनि धन कमाउने नाममा मलेसिया जानु र बाउ जसैगरि लापता हुनु अनि मृत्युको खवर आउनु, वंशपरम्परालाई निरन्तरता चलाउन अंकुराएको मुना(नाती) दैवले चुडेर लानु, छोराले भुल्यो त के भयो बुहारीले त छाडेर गकी छैन नि ! भनेर मन थामीदिने बुहारी पनि एक्लो पारिराखेर भगवानको भैजानु, अन्ततः वंश हिडाउने बाटोमा पूर्णविराम लाग्नु !’ अक्सर यस्ता दृश्यहरु कुनै फिलिमका लागि कल्पना गर्न सकिएला भन्ने लाग्दछ । तर, यो पत्याई नसक्नुको वास्तविकता आमाको जीवनले भोगिरहेको दुखद संयोग हो । आमाको जीवनका यस्ता यथार्थतालाई देख्दा लाग्छ –एकवारको जुनीले दुखको सगरमाथा थामेर बाच्नु पर्ने दिन पनि आईलाग्दो रहेछ । खैर, जानेहरुले किन फर्किनु जान्दैनन् ? –म आफैपनि एकजना अरपे हुनुको नाताले चिन्तित हुदै आमालाई बुझ्ने प्रयत्न गरेको छु, कि ! –परदेशले हजुरलाई पीडा बाहेक अरु केही दिएन । जीवन सुम्पिएको लोग्ने मुग्लानले खोसिदियो । भएको एउटा छोरा मलेसियाले निलिदियो । खै किन हो, परदेश लागेको हजुरको परदेशीहरु पर…को देश कै भयो । आमालाई पनि त आफ्ना परदेशीहरु संग यसैमा गुनासो होला नि है !
हुनत ‘जीवन संग जोडिएर आएकी अर्धाङ्गिनीको जिन्दगी घरको न घाटको स्थिति सम्म पुर्याउने  गरि उतै भासिनु पर्ने तेस्तो के कारण पर्यो ?’ भनेर हजुरको मुग्लानेलाई सोध्नु पर्ने सवालको गुञ्जाईस अझतक छ छैन ! त्यो त म जान्दिन । यति जान्दछु आमाको सिउदो माथि प्रश्न गर्ने हक मलाई छैन । तर, अरपे छोराको सन्दर्भमा भने गुनासो गर्न वाहेक अव वाकी केही रहेन । यदि समयमै भेट्न सकेको भए म आफै पनि सोधिदिने थिए,– ‘हाउ दाई ! नौ महिना गर्भमा बोकेर जन्मदिने आमालाई नौ धारा आँशुमा डुबाएर बेखवर हुनु पर्ने के कारण पर्यो ?’ अफसोच, मैले भेट्दा दाई शवगृहको चिसो बकासमा चिर निन्द्रामा हुनुहुन्थ्यो । यस्ता तमाम सवालहरु अनुतरीत जमेर कक्रक्क परिसकेको थियो ।
अकारण पर–परहुदै परलोक पुगेको परदेशी छोरासंग आमाको गुनासो जीवनभर रहला नै ! तर असमयमै कसरी तेसो भयो ? कारण थाहा पाउनु एउटी आमाको हक हो भन्ने पनि लाग्दो होला । म आमालाई आफूले थाहा पाएसम्मको जानकारी गराउदै छु,– ‘पछिल्लो समय संगै काम गरेका साथीहरूको भनाईमा दाई अत्याधिक मादक पदार्थ सेवन गर्नु हुन्थ्यो रे । तेसरी पिउनुको रहस्य चै उनीहरुले पनि पत्तो पाएका रहेन छन । निश्चयपनि अस्पतालमा भर्ना हुदैगर्दा देखिने गरिको घाउ नै लिएर भर्ना हुनु भएको हो । तर, घाटीमा निस्केको गिर्खा र पछि फुटाउदा बिग्रेको घाउ बहाना मात्रै हो, लगेको त रक्सीले नै हो भन्ने उनीहरूको ठहर छ ।’ म भन्छु– उनीहरूले बाहिर जे देखे त्यही भने तर कलिलो छोरा गुमाउनु, त्यसमाथि असमयमै विदुर हुनुको भित्री पीडा उनीहरूले देखेनन् । दाईले पनि देखाएनन् । दाईको भित्री पीडाको भेद खुले पछि भने तिनै साथीहरूले अनुमान गरे –भित्री पीडा भुलाउनुको लागि तेसरी पिउथेछन् । साथीहरुले रक्सी पिउनुको कारण अनुमान गरे जसैगरि हस्पिटलका डक्टरले पनि डेथ सर्टिफिकेटमा लेखिदिएको थियो –क्यान्सर ।
आमा ! यदी दाईले त्यही बहानामा पिएको हो भने छोटो बुद्धि गर्नु भो भन्न म कन्चुस गर्दिन । किनभने जिन्दगीलाई दाईले साच्चिकै बुझेका भए रक्सिको साहरामा पार पाईन्छ भन्ने भ्रमबाट मुक्त हुनुहुन्थ्यो र बाँकी जिन्दगीलाई सकरात्मक सोचले अगाडी लान सक्नु हुन्थ्यो । किनकी नयाँ ढंगले जिन्दगीलाई आगाडी बढाउने बहाना धेरै थिए । जस्तो कि आधा उमेर त सिंगै नै बाँकी थियो । साँचि, आमा आफैले पनि त छोरा फर्किएर आए जोडी बाधिदिएर नयाँ घरजाम गराई दिने सपना देख्नु हुन्थ्यो नि हगि !
‘तँलाई हेरेर जसरी मैले जीउनु जाने, तेसैगरि मलाई हेरेर तैले जीउनु सक्दैनस ?’ –पुत्र र पत्नी वियोगको भारी बोकेर जिन्दगी देखि भाग्दै तेतिपर सम्म पुगेको सुईको पाउनु भा भए आमा आफैले पनि छोरालाई सोध्नु हुन्थ्यो होला है ! किनपनि यो सवाल गर्नु हुन्थ्यो होला ठान्छु भने आमाले जीउनु भएको परिवेश पनि लगभग उस्तै न हो । तर, हजुरलाई त्यो हक जताउने मौका समेत छोराबाट प्राप्त भएन । सोच्छु– पत्नी गुमाउनु पर्दाको पीडा खपिरहेको एउटा श्रीमानले, छ दशक देखि एक्लो जिन्दगी काटिरहेकी अर्की श्रीमतीको पीडालाई किन देख्न सकेन ? पुत्र गुमाउनु पर्दाको पीडा भोगेको एउटा बाउले, बुढेसकालमा छोरा गुमाउनु पर्दा हुन सक्ने अर्की आमाको पीडालाई किन बुझ्न सकेन ? हो, यहीनिर आमाको जीवन हेरेर मलाई महसुस भएको छ  –हामी छोरा मान्छे हदसम्मको निर्दयी र निष्ठुरी पनि हुन सक्दा रहेछौ ।
उज्यालो पछि अध्यारो हुनु जति प्राकृतिक छ, अध्यारो पछि उज्यालो हुनु पनि उति नै प्राकृतिक छ । यो जान्दाजान्दै पनि उज्यालो भोग गरि रहेको हामी एक्कासी अध्यारोले छोपिदा अतालिने रहेछौ र अध्यारोमै अल्मलिदा रहेछौ । कमैले मात्रै अध्यारोलाई भोली आउने उज्यालोको रूपमा जीवनमा अनुसरण गर्न सक्दा रहेछन । हजुरलाई मैले ति कमै मध्येको एक मानेको छु –आमा । हजुरले यहि प्राकृतिक सत्यलाई बुझेर नै त होला नि, छोरा सास छदै आवोस भन्ने आस गर्नु भो, फेरी जोडी बाँधिदिएर घरजम बसाई दिने कल्पना गर्नु भो । विडम्बना हजुरको छोराले प्राकृतिक सत्यलाई चिर्न सकेन । उ अध्यारो मै रुमलियो । एउटा पाटोलाई नै पूर्णता ठान्यो । अन्ततः स्वर्गवासी श्रीमती र छोराको मायाले तानिएर स्वर्गकै बाटो समात्यो । र, एउटी आमाको कथा वियोगान्तमा पटाक्षेप भयो ।
तर, आमा ! यो हजुरको एक्लो कथा हैन । परदेशी छोराको पर्खाईमा ओवानो आँखा लिएर बाटो कुर्ने धेरै आमाहरू छन् –देशमा । आमाको विश्वास माथि कुठाराघात गर्ने रत्नदाईहरू धेरै छन –विदेशमा । शोकको यो घडीमा देशबाट आमाहरुले र विदेशबाट हामी छोराहरुले कामना गरौ –देश फर्किने बाटो भुलेर अलमलिएका परदेशीहरु जीवित फर्किउन । ताकी फेरीफेरी बकासवन्दी गरेर कसैलाई पठाउनु नपरोस । 

लिपिबद्धरुपमा ब्यक्त भएका भावनालाई एकपल्ट सरसर्ती पढे । मनमा उब्जेको उकुस मुकुस लाई पुन महसुस गरे । अनि आफैलाई सोधिहेरे, – यो एकलाप हो कि चिठ्ठी ?
चिठ्ठी भनु –ढाँचा मिलेको छैन । र पनि मैले तुरुन्त निर्कौल गरे –ढाँचा नमिले नि आमासम्म पुर्याउछु ! यो सोचेर कि ! शवसंगै एट्याज भएर पुगोस।
तेसपछि लिपिवद्घ कागजको पन्नालाई पट्याएर खाम भित्र हुले । खामको दायाँ पट्टी ठुलो अक्षरमा लेखे –

अरपे,
मलेसिया । 

अर्कोदिन :
‘शव आज वेलुकीको फ्लाईटबाट जाने भयो ।’ किरात याक्थुङ चुम्लुङ र पिएनसिसि मलेसियाका प्रतिनिधि दुवैतर्फबाट खवर पाएँ । फोन गरेर उनीहरुले यो पनि भने,– दिउसोतिर अस्पतालमा भेटौ र वकासवन्दी गर्नु पहिला श्रद्घाञ्जलीको फूल चढाएर विदा गरी पठाऔ ।
‘दिउसो भनेको कति वजे ?’ –एघार बाह्र वजेतिर कल गरेर दिउसो भन्नेलाई के सोध्नु त ! उनीहरुले प्राष्ट्याए,– क्यासकेट कम्पनीले नै अहिले भर्खर कल गर्यो । हामी हिड्न लागेको, छिटो गरेर सिधै उतै आउनु।
हतार हतार गरेर अस्पतालको शवगृह पुग्दा किरात याक्थुङ चुम्लुङ र पिएनसिसि मलेसियाका प्रतिनिधि लगायत पाँचसात जना कम्पाउण्डमा हुजुप्प भईरहेका थिए । क्यासकेट कम्पनीका स्टाफहरु हतारो लगाउदै रहेछन– छिटो गर छिटो, यहा धेरैबेर राख्न मिल्दैन ।
श्रद्घाञ्जलीको नाममा तेत्रोविधि के नै गर्नु थियो र हामीलाई ! वस् अन्तिम पटक शवको अनुहार हेर्ने र श्रद्घाको दूईथुङ्गा फूल समर्पण गर्नु न हो । तेत्तिगर्न हामीले कति नै समय लिन्थ्यौ र ? तैपनि क्यासकेट कम्पनीका स्टाफहरुले हाम्रो भावना बुझिराखेका थिएनन् । सम्भवत: पैसाको पछि कुद्नेहरुका दील हुदैन।
रातो मलमलले मोडेको बकास टेवलमा थियो । वकास भित्र रत्नदाई कहिल्यै नउठ्ने गरि सुतेका छन भनेर बुझ्न मलाई कठिन भएन । हामी पालैपालो वकासको नजिक गयौ, शवको अनुहार हेर्यौ र श्रद्घाको फूल चढायौँ । हामीले अन्तिम विदाई गर्यौ।
‘सकियो कि अझै पनि केही गर्नु वाँकी छ ?’ –सोध्नेले वकासको ढकानी लगाउने सुरसार गर्दै थियो । क्यासकेट कम्पनीका स्टाफहरुलाई कति हतार छ भन्ने प्रष्ट देखिदै थियो । हामीले बुझ्यौ –सोध्नको लागि सोध्दैछ।
‘सकियो सकियो ।’ हामी मध्येबाटै कसैले आवाज दियो ।
क्यासकेट कम्पनीका स्टाफहरुले रत्नदाईको शवलाई वकासवन्दी गर्न सुरु गरे । वकासमा सील मारे । शवको नाम, ठेगाना अनि रिसिभ गर्नेको नाम, सम्पर्क नम्बर लेखिएको कागज वकासमा टाँस्न शुरु गरे । तिनीहरुको हातमा ए–फोर साईजको पेपर देखे पछि म झसंग भए । आफुले आफैलाई सोधे –चिठ्ठी खै ?
ल्याईन भन्ने थाहा हुदाहुदै पनि हात गोजी छाम्न पुगिहाल्यो । हतारमा तयारी चिठ्ठी गोजीमा हाल्न भुलेको पनि याद आयो । मनमनै भने –ला…बिर्षिएछु।
तेतिन्जेल सम्म क्यासकेट कम्पनीका स्टाफहरुले तयार पारिसकेका थिए– आमालाई पार्सल।

समाप्त ,,