चिकित्सकमा संक्रमण फैलिएसँगै अस्पतालहरू बन्द

सुर्खेत । कोरोना संक्रमण समुदायस्तरमा फैलिन सुरु भएसँगै कर्णालीका स्वास्थ्यकर्मीहरू समेत संक्रमित हुन थालेका छन् । कोरोना रोकथामका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि विभिन्न अस्पतालले आकस्मिक बाहेकका सेवा बन्द गरेका छन् । भारतबाट फर्किएकामा मात्रै संक्रमण देखिएको कर्णालीमा एक सातायता भने समुदायस्तरमै संक्रमण फैलिएको छ । 

कर्णाली प्रदेशका विभिन्न अस्पतालका चिकित्सकमा कोरोना संक्रमण देखिएपछि अपस्तालले सेवाहरू बन्द गरेका हुन् । स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि सुर्खेतको प्रदेश अस्पताल, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । सल्यानको जिल्ला अस्पताल पनि अनिश्चित कालका लागि सिल गरिएको छ ।

कर्णाली प्रदेश अस्पतालमा दुई जना चिकित्सकसहित ९ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । जुम्लाको शिक्षण अस्पतालमा कार्यरत एक जना चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि आकस्मिकबाहेक अन्य सेवा बन्द गरिएको छ ।

जिल्ला अस्पताल सल्यानका एक स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि अस्पताललाई बिहीबारदेखि अनिश्चित कालका लागि सिल गरिएको छ । संक्रमण देखिएका स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राखिएको छ । समुदायस्तरमा संक्रमण फैलन नदिन कन्ट्याक्ट ट्रेसिङ गरेर अन्य स्वास्थ्यकर्मी तथा कर्मचारीको पिसिआर परीक्षणका लागि अस्पतालका सेवाहरू बन्द गरिएका हुन् ।

सम्भावित संक्रमित व्यक्तिहरूले सूचना लुकाउँदा स्वास्थ्यकर्मीमा संक्रमण फैलिएको चिकित्सकहरूको गुनासो छ । आकस्मिक रूपमा आउने बिरामीका आफन्तले क्वारेन्टिनबाट ल्याएको सूचना लुकाउँदा चिकित्सकमा संक्रमण फैलिएको प्रदेश अस्पताल सुर्खेतका डा. डम्मर खड्काले बताउनुभयो । 

अहिले समुदायबाट आएका बिरामीमा कोरोना देखिन थालेपछि चिकित्सक तथा स्वास्थ्यकर्मीमा चुनौती थपिएको छ । क्वारेन्टिनमा सीमित कोरोना संक्रमण अहिले समुदायस्तरमा पुगिसकेको छ । संक्रमण नियन्त्रणको लागि कन्ट्याक्ट ट्रेसिङ, स्वाब परीक्षणलगायत काम प्रभावकारी भएका छैनन् । पोजेटिभ देखिएर आइसोलेसनमा बसिरहेका संक्रमितलाई परीक्षणबिनै घर पठाउन थालेपछि समस्या बढेको हो । यसले गर्दा कोरोना संक्रमण समुदायमा फैलिने जोखिम अझ बढेको कोरोना विशेष अस्पताल, सुर्खेतका फोकल पर्सन के.एन.पौडेले बताउनुभयो । 

पिसिआर रिपोर्ट नआउँदै जेठ तेस्रो साता क्वारेन्टाइनबाट ३ देखि ५ दिनसम्म घरमा बसेका दैलेखको नारायण नगरपालिकाका ८७ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । उनीहरूको परिवारका सदस्य र सम्पर्कमा पुगेका समुदायका अन्य व्यक्तिको पिसिआर परीक्षण गर्नुको साटो क्वारेन्टिनमा फर्केका उनीहरूलाई बिहीबार परीक्षणबिनै घर पठाइएको छ ।

बिहीबार नै दैलेखका स्थानीय तहमा कार्यरत कर्मचारी, विभिन्न स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित ४३ जनामा संक्रमण देखिएको छ । प्रदेशका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका ६९२ मध्ये कतिपय पिसिआर रिपोर्टको आधारमा नभई लक्षणमुक्त भएपछि घर गएका छन् ।