पुटिनलाई सन् २०३६ सम्म शक्तिमा रहने बाटो खुल्यो

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सन् २०३६ सम्म राष्ट्रपति हुन पाउने हुनुभएको छ । उहाँको पक्षमा अझै १६ वर्षसम्म शक्तिमा रहन पाउने गरी जनमत प्राप्त भएको छ । एक साता लामो ऐतिहासिक मतदानपछि बिहीबार सार्वजनिक नतिजाअनुसार राष्ट्रपति पुटिन देशकै शक्तिशाली व्यक्ति बन्नुभएको छ । 

पुटिनलाई लामो समयसम्म शक्तिमा राख्नेगरी बनाइएको नयाँ संवैधानिक व्यवस्थाको पक्षमा ठूलो मत परेको छ । नयाँ मतादेशले संविधान संशोधनको प्रस्तावलाई अनुमोदन गरेकाले रुसको संविधानमा केही संशोधन भएको छ । संविधान संशोधनसम्बन्धी प्रस्ताव राष्ट्रपति पुटिनले गत जनवरीमा ल्याउनुभएको थियो । त्यस प्रस्तावमा अहिलेमात्रै मतदान भएको हो ।

सुरुमा गत अप्रिल २२ मा मतदान गर्ने तय भए पनि कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि गत जुन १ का लागि तय गरिएको थियो । तर त्यतिबेला पनि हुन नसकेपछि सरेर अहिले मतदान गरिएको हो । मतदानका लागि एक हप्तासम्म मतदान केन्द्रहरू खुला गरिएको थियो भने मतदान गर्ने बेलामा भिडभाड नहुने व्यवस्था गरिएको थियो ।

प्रत्येक कार्यकाल ६ वर्षको हुने भएकाले उहाँले अर्को १२ बर्ष रुसमा शासन गर्ने कानुननी बाटो खुलेको हो । राष्ट्रपति पुटिनको अहिलेको कार्यकाल आगामी सन् २०२४ मा सकिने थियो, तर थप ६ वर्षे दुई कार्यकाल थपेकाले उहाँको कार्यकाल अब सन् २०३६ सम्म सुनिश्चत भएको हो । ६७ वर्षीय पुटिनले रूसमा गत दुई दशकदेखि शासन गर्दै आइरहनुभएको छ । उहाँ रूसी जनतामाझ लोकप्रिय हुनुहुन्छ । उहाँलाई थप दुई कार्यकाल शक्तिमा राख्ने प्रस्तावसहितको संविधान संशोधनको यो प्रस्तावलाई संसदले यसअघि नै पारित गरिसकेको छ ।