अमेरिकामा कोरोनाका संक्रमित २ करोड नाघ्ने प्रक्षेपण

न्युर्योक । कोरोना भाइरसले विश्वकै सबैभन्दा धेरै संख्यामा प्रभावित पारेको मुलुक अमेरिकामा २ करोडभन्दा बढी मानिस संक्रमित भएको हुनसक्ने प्रक्षेपण गरिएको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) वृद्ध–वृद्धाभन्दा युवा–युवतीमा कोरोनाको संक्रमण अमेरिकामा धेरै रहेको हुनसक्ने भन्दै २ करोड भन्दा बढी मानिस यसबाट प्रभावित रहेको हुनसक्ने प्रक्षेपण गरेको हो ।

सीडीसीका निर्देशक डा. रोबर्ट रेडफिल्डले बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफ्नो अनुमान तथ्यपूर्ण हुने दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अमेरिकामा एकजना मात्रै कोरोनाका नयाँ संक्रमित देखिन्छ, तब अन्य १० जना पनि नयाँ संक्रमित पुष्टि हुन्छन् । त्यसकारण यसबाट संक्रमित करोडौं हुन सक्छन् ।’

वृद्ध–वृद्धाभन्दा युवा–युवतीहरू संक्रमणबाट कम सतर्क हुनाले अमेरिकाका युवाहरु कोरोनाबाट धेरै प्रभावित भएको बताइएको छ । तर युवा युवतीमा संक्रमण हुनु भनेको मृतकको संख्यामा कमी आउनु रहेको हुनाले यो फाइदाको विषयसमेत भएको सीडीसीको ठम्याइ छ । अब यो नियन्त्रण तथा न्यूनीकरणका लागि युवा युवतीहरुले धेरै मात्रामा प्रयोग गर्ने सोसल मिडियाजस्तै टिकटक या त अन्य लोकप्रिय माध्यम प्रयोग गरिने सोचमा रहेको उल्लेख गरिएको छ ।

यसैबीच, अमेरिकाको रोग नियन्त्रण केन्द्रका स्वास्थ्य अधिकारीहरुले भने अमेरिकामा कोरोना भाइरसबाट झण्डै दुई करोड मानिस संक्रमित भईसकेको बताएका छन् । अमेरिकाको रोग नियन्त्रण केन्द्रले संक्रमितको वास्तविक संख्या अहिले पुष्टि गरिएको भन्दा १० गुणा बढी हुनसक्ने पनि जनाएको हो ।

संक्रमित र अस्पताल भर्ना हुनेहरूको संख्या बढेपछि टेक्सास राज्यले पूर्ण रूपमा खुला गर्ने आफ्नो योजनालाई स्थगित गरेकै बेला यस्तो तथ्य सार्वजनिक भएको हो । अमेरिकामा अहिलेसम्म संसारकै सबैभन्दा धेरै २४ लाख जना संक्रमित भएको तथ्यांक छ । त्यसैगरी अमेरिकामा हालसम्म एक लाख २२ हजारभन्दा बढीको कोरोनाका कारण मृत्यु भएको छ ।  

देशका दक्षिणी र पश्चिमी केही राज्यहरूमा पछिल्लो समय अत्याधिक धेरै मानिस संक्रमित भएको विवरण सर्वाजनिक भएका छन् । यस बारेमा अध्ययन अनुसन्धान गरिरहेका वाशिङटन विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले आगामी अक्टोबर महिनासम्ममा १ लाख ८० हजारको मृत्यु हुने अनुमान गरेका छन् । उनीहरुले ९५ प्रतिशत अमेरिकीहरूले मास्क लगाएमा त्यो सख्या १ लाख ४६ हजारमा सिमित हुन सक्ने अनुमान पनि गरेका छन् ।