कथा : बेखबर

बिरामी कहाँ गयो र कता हरायो भनेर पूरै हस्पिटलमा खैलाबैला मच्चिएको छ । ‘आफन्त कोही नआएका भए पनि उसले आवश्यक हस्पिटल खर्च पहिले नै डिपोजिट गराइसकेको थियो । निको भएर डिस्चार्ज नभएसम्म पेसेन्टको जिम्मा हामीमाथि नै रहन्छ । तिमी कुरेर बसेका थियौ । केयर त गर्नुपर्छ नि । उसका आफन्तहरु आएर हेर्न खोजे भने अब हामीले के जवाफ दिनू ?’ हस्पिटलका ठूला हाकिम कुरुवा बसेको पालेसँग कडा स्वरमा भन्दै थिए ।

‘मुटुको अप्रेसन गरेको बिरामी पनि यसरी उठेर हिँड्नु नपर्ने । खै हजुर । मध्यरातमा आँखा झपक्क लागेछ । टोइलेट गएको हो कि भनेर एकै छिन पर्खिएँ । अनि फेरि त्यहाँ गएर पनि हेरेँ । नदेखेपछि खबर गरिहालेको हुँ । भर्खरै त हो नि हराएको पनि ।’ कुरुवाले झिनो स्वरमा जवाब दियो ।

खोजी जारी छ । उपचारका लागि झिकेर मेसिनमा चलायमान गरी राखेको मुटु यथावत् छ । व्याधी के हो र उपचार के गर्नुपर्छ भनेर परीक्षणका लागि विदेश पठाएको कुराको रिपोर्ट आएको छैन । यता बिरामी हराएर उस्तै जात्रा । यता खोज्यो छैन । उता खोज्यो छैन । वर हेरियो पर हेरियो । नालाखोलामा हेरियो छैन । खाल्टाभौडामा खोजियो भेटिँदैन । कोहीकोही गाइँगुइँ गरी हस्पिटलले ख्याल त गर्नुपर्छ नि बिरामीलाई बेपत्ता हुन दिनु नहुने हो भन्छन् । 

उसरी नै सानो स्वरमा कोही थाहै नदिई हिँड्नेसँग कसको के चल्छ भन्छन् । आफन्त कोही आएनन् । कसैले खोजी गरेनन् । धेरै वर्ष बितिसके आज आउला छैन, भोलि आउला छैन । आधिदैविक, आधिभौतिक र आध्यात्मिक अनेकौँ आधिव्याधी आए गए । बीचमा सानातिना सुख आए र गए । २०७२ को महाभूकम्प आयो जगतै हल्लायो । दुनियाँको बेहाल भयो ।

संसारलाई आआफ्नै समस्यासँग पौँठेजोरी खेल्दै र दुःखकष्ट झेल्दै ठिक्क भयो । नाकाबन्दी भयो र खुल्यो । परिवर्तन सुखद् भए पनि आए गए र दुःखद् भए पनि टरिरहे । हराएका बिरामीको कथा दुनियाँले बिर्सिँंदै गयो । उसको खोजीको क्रम पनि विस्तारै सेलाउँदै आयो । अर्को व्याधी कोरोनाको प्रादुर्भाव भयो । आफन्तको किरिया गर्न कोरो बारेर बसेझैँ दुनियाँ लकडाउनमा बस्यो । यता मुटु अस्पतालकै प्रयोगशालामा जम्मा भएर सुरक्षित थियो । त्यही बिरामी खुसुक्क आएर आफ्ना बेडमा बस्यो ।

सबै अचम्म भए । भूतप्रेत नै आयो कि भनी कोही तर्सिए । साकार छ, जिउँदो जाग्दो नै छ । प्रष्ट बोल्दै छ, राम्ररी चल्दै छ । म जिउँदो मान्छे हूँ भन्दै छ । कुराकानीले सबैलाई पत्यार भयो । यस्तो अवस्थामा हराएको झण्डै ४२ वर्षपछि भेटिँदा सोधखोज नगर्ने कुरा भएन । सबैले आआफ्ना अनेकौँ प्रश्न सोधे । उसले जवाफ दियो ।

सबैको खुशी यसमा थियो कि धन्न बिरामी भेटियो । सबैका मनको आखिरी प्रश्न हस्पिटलका ठूला हाकिमको थियो ‘यतिका वर्ष हृदयविहीन अवस्थामा तिमी कता बसेका थियौ ?’ उसको जवाफ प्रतिप्रश्न मिसिएको यस्तो थियो ‘म देशको आमूल परिवर्तनका लागि सत्ताको सर्वोच्च तहमा पुगिसकेको थिएँ । सार्वभौम अधिकार सम्पन्न जनताहरू किन बेखबर ?’