दशैँमा पनि नआउने भो अनमोलको नयाँ फिल्म

काठमाडौं । लामो समयको लकडाउनका कारण नेपाली चलचित्र क्षेत्र ठप्प भइरहेको अवस्थामा छायांकन तथा रिलिज हुन सकेका छैनन् । नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ यो वर्षको दशैँमा रिलिज हुने तयारीमा थियो । युवास्टार अनमोल केसी र नायिका सुहाना थापा अभिनित यस चलचित्रको ३० प्रतिशत बढी छायांकन पनि सकिएको थियो । 

चलचित्रको निर्माण टिम छायांकनसँगै चलचित्र पूरा गर्न अन्य आवश्यक कामलाई अगाडि बढाइरहेको थियो तर लकडाउनले निर्माण टिम र प्रिप्रोडक्सनको कामसमेत अगाडि बढ्न सकेको छैन । 

निर्माता सुनीलकुमार थापा र निर्देशक झरना थापासहितको टिमले दशैँमा चलचित्र रिलिज नगर्ने निर्णय गरेको हो । यो टिम अब लक डाउन खोलेर सरकारले सुटिङका लागि अनुमति दिएपछि काम सुरु गर्ने तयारीमा छ । तर, दशैँसम्म खुल्ने वातावरण नबन्ने देखिएको छ । यसैले पनि चलचित्रको काम सकेर बस्ने तर रिलिजका लागि तत्काल निर्णय नलिने निर्माता सुनिलकुमार थापा बताउनु हुन्छ ।

यो चलचित्रमा सलोन बस्नेतको मुख्य भूमिका छ । अनमोल केसीका कुनै पनि चलचित्र हालसम्म दशैँको बिदामा रिलिज भएका छैनन् । यो पटक उहाँले दशैँमा दर्शकमाझ पुग्ने अवसर गुमाउनु भएको छ । यस्तै दशैँमा रिलिज हुने भनिएको दीपकराज गिरीको छक्का पञ्जा ४ पनि यसअघि रिलिज नहुने पक्का भइसकेको छ ।