लिभरपुलको बराबरी

लण्डन । इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुल आइतबार राति भएको खेलमा एभर्टनसँग गोलरहित बराबरीमा रोकिएको छ । गुडिसन पार्क रंगशालामा भएको खेलमा गोलरक्षक एलिसानको उत्कृष्ट प्रदर्शनसँगै लिभरपुलले एभर्टनसँग अंक बाँडेको छ । 

दोस्रो हाफको अन्त्यतिर एभर्टनका डोमिनिक कल्भर्टले नजिकैबाट गरेको प्रहारलाई उत्कृष्ट ढंगले एलिसानले बिफल बनाइदिएका थिए । लगत्तै रिबाउन्डमा गएको उक्त बलमा टोम डेभिसले प्रहार गरेपनि पोस्टमा लागेपछि लिभरपुल हारबाट जोगियो । 

खेलपछि प्रशिक्षक योर्गन क्लोपले एलिसानको प्रशंशा गरे । ‘उनी विश्वस्तरीय गोलकिपर हुन् । त्यो बचाउ निकै आकर्षक थियो । यस ९० मिनेटको खेलमा सम्झन लायक त्यही क्षण रहृयो,’ खेलपछि क्लोपले भने । एलिसानले रिर्कासलको प्रहारलाई पनि जोगाएका थिए । 

यस बराबरीसँगै लिभरपुलको उपाधि उचाल्ने सपना अझै लम्बिएको छ । उसलाई अब उपाधिका लागि ५ अंक आवश्यक छ । तर, दोस्रो स्थानको म्यानचेस्टर सिटी सोमबार आफ्नै मैदानमा बेर्नालीसँग पराजित भयो भने चाँही लिभरपुललाई उपाधि उचाल्न एक जित नै काफी हुनेछ । बुधबार लिभरपुलले क्रिस्टल प्यालेससँग आफ्नै मैदानमा खेल्दैछ । यसपटक लिभरपुल ३० वर्षपछि उपाधि उचाल्ने होडमा छ । 

यस खेलमा जित हात पारेर आगामी बुधबार आफ्नै मैदानमा हुने खेल पनि जित्दै लिभरपुलले उपाधि उचाल्ने लक्ष्य राखेको थियो । तर कोरोना भाइरसको महामारीका कारण १०६ दिनपछि मैदानमा उत्रिएको लिभरपुलले सोचेजस्तो भने खेल्न सकेन ।

खेलको चौथो मिनेटमा नै रिचार्लीसनको प्रहारलाई एलिसनले जोगाएका थिए । ३०औं मिनेटमा जोए मटिपको सशक्त प्रहार पोस्टबाट थोरै बाहिरिएको थियो । लगत्तै लिभरपुलका मिनामिनोको प्रहारले पनि बाहिरियो । यस्तै दोस्रो हाफ सुरु भए लगत्तै नवेी केइटार रोवर्टाे फिर्मिन्होको वान टु वान पासमा फिर्मिन्होको प्रहार बाहिरिएको थियो । 

बराबरीसँगै लिभरपुलको ३० खेलबाट ८३ अंक पुगेको छ । जुन दोस्रो स्थानको म्यानचेस्टर सिटीको भन्दा २३ अंक बढी हो । सिटीको २९ खेलबाट ६० अंक छ । एभर्टन ३८ अंक जोडेर १२औं स्थानमा छ । एभर्टनले अब बुधबार नर्वीच सिटीसँग खेल्नेछ । त्यही दिन लिभरपुलले क्रिस्टल प्यालेसको सामना गर्नेछ ।