सरकारले नै विद्युतीय बस किन्ने

काठमाडौं । सरकारले नै विद्युतीय बस खरिद गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सोमबार एक सूचनामार्फत विद्युतीय गाडी निर्माता तथा आपूिर्तकर्ता कम्पनीबाट उत्पादनबारे जानकारी मागे गरेको छ । यसअघि सरकारले विद्युतीय बस खरिदका लागि साझा यातायातलाई ३ अर्ब रुपैयाँ दिएको थियो तर पछि साझाले विद्युतीय बसका सम्बन्धमा मन्त्रालयको स्पेशिफिकेशन नमानेको भन्दै रकम फिर्ता लिने निर्णय गरेको थियो । कामठाडौं उपत्याका अन्य प्रमुख शहरमा विद्युतीय वस सञ्चालन गर्ने योजनाअनुसार मन्त्रालयले आफंै खरिद गर्न लागेको हो । 

विद्युतीय बस खरिदका लागि सरकारले भौतिक पूर्वाधार मन्त्रालयकी सहसचिव प्रमिला बज्राचार्यको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ । समितिले विद्युतीय बसको गुणस्तर, ब्याट्री क्षमता, बसको दररेट, मर्मत सम्भार खर्च, स्पेयर पार्टस् उपलब्धताबारे जानकारी लिनेछ । बसको स्पेशिफिकेशन तयार भएपछि बिडिङ डकुमेण्ट बनाएर खरिद प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ । सोही प्रक्रियाको पहिलो चरणअन्तर्गत विद्युतीय बसका लागि सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ । ३ सयवटा विद्युतीय बस खरिद गर्ने मन्त्रालयको तयारी छ ।