अमेरिकामा उपचार शैली

हुन तयो यो मसँग सम्बन्धित मेरो नितान्त निजी कुरा हो । तर मेरो यो अनुभव सबैका लागि ग्रहणीय होला भन्ने लागेर शेयर गर्न भ्याहेको छु । यसका कारणमध्ये पहिलो हो कोभिडको बेला अन्य बिरामीलाई परेको अप्ठ्यारो र विकसित देशमा बिरामीलाई गर्ने व्यवहार र उपचार पद्धति ।

मानवलगायत सबै प्राणीको शरीर बेलाबेलामा मर्मत गर्नु त छँदैछ । मर्मतको आसय हो उपचार । प्रोस्टेट सर्जरी गर्दा पिसाबनली साँघुरो भएकाले दुईपटक डाइलेट गरेपनि स्थायी समाधान नभएकाले अब तपाइँको राम्रै मर्मत गर्नुपर्छ । म यस क्षेत्रकै विशिष्ट सर्जनलाई रिफर गर्छु भनेर युरोलोजिस्टले भनेपछि फिलाडेल्फियाको आइन्टाइन हस्पिटल गइयो । त्यँहा दक्षिण भारतका डाक्टर जय सिंहन विशेषज्ञले एक्सरे र नली जाँच गरेपश्चात् शल्यक्रियाको मिति अप्रिलको २ तारिख दिनुभयो । विश्वलाई कोरोनाले तहसनहस बनाएको अवस्था भएकाले उहाँले फोन गर्नुभयो । फोनमा हेर्नुहोस् यस अवस्थामा स्टेटले नै शल्यक्रिया नगर्नू भनेर निर्देशन दिएको छ । हामी पछि तपाइँलाई खबर गर्छौं भन्नुभयो । 

लगभग १ महिनापश्चात फेरि डाक्टरले फोन गर्नुभयो र अब हामी अपरेसन गर्छौं । तपाइँ तयार हुनुहुन्छ ? भन्नुभयो । मैले हुन्छ, म तयार छु भनेपछि उहाँले मेरो अफिसबाट तपाइँलाई फोन गर्नुहुन्छ मिति तय गर्न तर अपरेसन गर्नु दुई दिनअघि कोभिड टेस्ट गर्नुपर्छ भन्नुभयो, मैले हुन्छ भनेँ । 

जुनको १६ तारिक अपरेसनको मिति तय भयो । १३ तारिक बिहान १०.४५ बजे कोभिड टेस्ट भयो । अब यसको रिजल्ट र अपरेसनको समय १५ तारिकको दिन खबर गर्छौं भन्ने कुरा भयो । नर्सले कोभिड टेस्ट नेगेटिभ आयो, १६ तारिकको ५.३० बजे बिहान आउनुहोला, आज रातको १२ बजेदेखि केही नखानुहोला भन्नुभयो । 

छोरा आशिष र बुहारी जल्पनाले मेरो अपरेसनका लागि भनेर कामबाट बिदा लिएका थिए । यद्धपि काम त्यतिबेला घरबाटै हुँदैथियो । हामी ५.३० बजे १.३० घण्टाको ड्राइभिङपश्चात् अस्पताल पुग्यौँ । त्यतिबेला सबै मास्क लगाएर सजगतापूर्वक कम्तीमा पनि ६ फिट दूरीमा बसेका थिए । त्यहाँ चेकइन गरिसकेपछि पार्किंङ लटमा कारमै बस्नुहोस्, फोन गरेर नर्सले बोलाउनुहुन्छ भन्नुभयो । त्यहाँ कमभन्दा कम मानिस बस्न दिने रहेछन् । कस्तो जमाना आयो काम पनि गर्नुपर्ने र मानिसँग सम्पर्क गर्न पनि नमिल्ने । 

हामी कारमा गएर बसेको ५ मिनेटमा नर्स केथीले बोलाउनुभयो । हामी तीनजना गेटमा पुगेपछि उहाँले अब बिरामीलाई मात्र हामी लिएर जान्छौं, तपाईंहरू बाहिरै बस्नुहोस् भन्नुभयो । अपरेसन सकेपछि डाक्टरले अपरेन कस्तो भयो, आज बस्ने कि जाने बारे तपाइँहरूलाई जानकारी दिनुहुन्छ । अपरेसन अवधि लगभग ३ घण्टा लाग्न सक्छ । ल त बुबा बेष्ट अफ लक भन्दै अंकमाल गरेर छोराबुहारीले गह्र्रौ मन गर्दै बिदा दिए । 

अब मलाई केथीले एउटा कोठामा लगेर मेरा सबै कपडाहरू खोलेर दुईवटा ब्यागमा राख्नु भन्नुभयो । तीन प्याकेट हट मोस्चराइजर टावल दिएर क्रमशः हात, खुट्टा र शरीर पुछ्न र सकेपछि घण्टी बजाउनु भन्नुभयो । उहाँ आएपछि कम्प्युटरमा मेरो बारेमा सबै डिटेललाई पुनः भेरिफाइ गर्दै सोध्नुभयो । हातमा मेरो नाम, जन्म मितिलगायत सम्पूर्ण कुरा हेर्दै पुनः नाम, जन्म मिति, ठेगाना सोध्नुभयो । मलाई पनि सबैकुरा थाहा छ, तपाइँलाई पनि थाहा छ तर फेरि पनि सोध्छु तपाइँ यहाँ किन आउनुभएको हो ? जवाफ दिएपछि अब म तपाइँलाई ३ किसिमको औषधि दिन्छु । 

यसको काम यस्तो यस्तो हो भनेर बेलिविस्तार लगाउनुभयो । हातमा सबै औषधिहरू पास गराउने आईभी लगाइ दिनुभयो । ब्लड प्रेसर र सुगर जाँच पनि गर्नुभयो । सबै काम सकेर बेष्ट अफ लक भन्दै अबको ५ मिनेटभित्र एनेस्थियाको टोली आउँछ र त्यसपछि सर्जन आउनुहुन्छ भन्दै हात हल्लाउँदै बिदा हुनुभयो । 

केही समयपछि एनेस्थेसिया अर्थात् बेहोस बनाउने डाक्टर आएर परिचय दिनुभयो । नाम, जन्म मिति, आउनुको कारण सबै सोधिसकेपछि उहाँले आश्वस्त पार्दै तपाइँ ढुक्क हुनुहोस् म सर्जनसँग तपाइँको अपरेसनभर बस्छु, तपाइँलाई नदुखाउने जिम्मा मेरो भयो भन्नुभयो । 

अनि मेरो अपरेसन गर्ने सर्जन आउनुभयो । उहाँले अबको आधा घण्टापछि म अपरेसन सुरु गर्छु । मलाई विश्वास छ अब तपाइँलाई दुःख दिने ‘स्कार’लाई म काटेर फाल्छु र यो स्थायी समाधान हो । मलाई कुनै प्रश्न छ भन्नुभयो ?

मैले सबै ठीक छ भनेँ । यसबीचमा मलाई ३÷४ वटा कागजमा सबै कुरा छरलंग बताएर सही गर्न लगाइयो । ल अब म तपाइँलाई एउटा इन्जेक्सन सलाइन दिने ठाउँ बताइदिन्छु र तपाइँलाई अपरेसन थिएटरमा लान्छु है त भनेर मेरो बेड लग्दै गरेकोसम्म मलाई थाहा छ त्यसपछि म ४ घण्टा बेहोस भएँ । 

चार घण्टापछि केही नर्सहरू गुनगुनाइरहेको सुनेँ । एकजना नर्सले विस्तारै नाम बोलाएर कस्तो छ अहिले भनेको सुनेँ, त्यो पनि कता कताजस्तो लाग्यो । अनि लरबरिएकै स्वरमा मेले ठीक छ भनेँ । मुख सुकेको छ मेरो भनेपछि नर्सले मसँग पानी, क्रेनबेरी जुस र अरेन्ज जुस छ के लिने भनेपछि क्रेनबेरी भनेँ । एउटा ग्लासमा आधा जुस र आधा आइस ल्याएर दिएपछि मज्जाले पिएँ । 

लगभग १ घण्टापछि ल अब आफ्नो कपडा लगाउनुहोस् भन्दै कपडा लगाउन नर्सले सहयोग गर्नुभयो । घर पुगेर के के गर्ने भन्ने एउटा पेपर दिँदै सबै बताइदिनुभयो । औषधि तपाइँको फार्मेसीमा अर्डर गरिसकेका छौं बाटोमा जाँदाजाँदै लिनू भन्नुभयो र मलाई हिृवल चेयरमा राखेर ढोकामा पु¥याउँदा छोरा आशिषको गाडी ठीक थियो । यसरी त्यही दिन हामी बाटोमा औषधि लिँदै घर आयौँ । 

बेलाबेला दबाई दिने, स्याहार सुसार गर्ने घरपरिवारका सदश्य विशेष गरी श्रीमती सधैँ मसँग नै हुन्छिन् । छोराबुहारी, छोरी ज्वाइँ र पृय नातिनातिनाहरूको सामिप्य तथा भाइ हरिहरको परिवारले क्यालिफोर्नियाबाट फोनमा प्रत्येक दिन कुरा गरेकैहुन्छन् । आमाबुबा, दाजुभाइ, दिदीबहिनी, नातेदार तथा इष्टमित्रहरूको शुभेक्षाले गौरवमय शक्ति र आत्मबल प्रदान गरेको छ । 

अस्पतालबाट नर्सले दिनदिनै फोन गरेर कस्तो छ ? यदि समस्या भए मेरो यो निजी नम्बरमा कुनै पनि बेला फोन गर्न सक्नुहुन्छ भनेर नम्बर दिएको छ । अर्को कुरा कुनै पनि सर्जिकल सामान, औषधि बिरामीले किनेर दिनुपर्दैन र अपरेसनअघि पैसाको कुरा गरिँदैन । इन्स्युरेन्सले नै तिरिदिन्छ र यदि बढी भएपछि बिल आउँछ । 

अब २० दिनपछि मात्र क्याथेटर निकाल्ने भनेको छ डाक्टरले । त्यो पनि विशेष किसिमको एक्सरे गरेर ठिक देखिएको अवस्थामा मात्र । मलाई त आशा छ २० दिनपछि उठ्छु र देश देशान्तरसम्म स्वतन्त्र विचरण गर्छु । तर, आधा शरीर नचल्नेहरू जो कहिल्यै उठ्न सक्दैनन् र केवल मृत्यु पर्खिरहेका छन् तिनीहरू कहिले उठ्लान् ? हो, उनीहरूको उठान स्थायी हुनेछ र कहिल्यै दुःख र कष्टको अनुभूति गर्ने छैनन् ।