‘फास्ट-ट्र्याक’ मार्फत १५,००० विदेशी कामदारहरूको आवेदन तुरुन्त खुलाउन प्रधानमन्त्रीको निर्देशन।

क्वालालम्पुर (मलेसिया):= मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले देशको रेस्टुरेन्ट व्यवसायमा देखिएको गम्भीर श्रमिक अभावलाई समाधान गर्न ‘फास्ट-ट्र्याक’ (द्रुत मार्ग) मार्फत १५,००० विदेशी कामदारहरूको आवेदन प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ।

मलेसिया सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री फहमी फाजिलका अनुसार, मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्रीले रेस्टुरेन्ट क्षेत्रको श्रम संकटलाई ढिलाइ नगरी तुरुन्तै सम्बोधन गर्न मानव संशाधन मन्त्रालयलाई विशेष आदेश दिनुभएको हो।

यो निर्णयले मलेसियामा श्रमिक अभाव झेलिरहेका रेस्टुरेन्ट व्यवसायीहरू, विशेष गरी इन्डियन मुस्लिम रेस्टुरेन्ट (मामाक) क्षेत्रलाई ठूलो राहत दिनेछ, जसले विगत लामो समयदेखि १५,००० कामदार अभाव भएको भन्दै कोटा खुलाउन माग गरिरहेका थिए।

प्रधानमन्त्री अनवरले यसअघि नै यो क्षेत्रको समस्या एक महिनाभित्र समाधान गर्न सम्बन्धित सरकारी निकायहरूलाई समयसीमा (डेडलाइन) दिनुभएको थियो। सरकारको यो द्रुत कदमले मलेसियाको रेस्टुरेन्ट क्षेत्रमा रोजगारीका लागि जान चाहने नेपालसहित अन्य देशका श्रमिकहरूका लागि पनि बाटो सहज बनाउने देखिएको छ।

श्रमिक भर्ना प्रक्रियालाई तीव्र बनाइए पनि देशमा जथाभाभी रूपमा अदक्ष विदेशी कामदार भित्र्याउन भने रोक लगाइने प्रधानमन्त्री अनवरले स्पष्ट पार्नुभएको छ।

मलेशिया सरकारले वास्तवमै कामदार अभाव भएका निश्चित र संवेदनशील क्षेत्रहरूलाई मात्र पहिचान गरी पूर्ण रूपमा नियमन र नियन्त्रण गरेर विदेशी कामदार भर्ना गर्ने नीति लिएको छ। प्रक्रियालाई सहज र छिटो बनाउँदा पनि देशको सुरक्षा र श्रम मापदण्डको पूर्ण पालना गरिने मलेशियाको सरकारी अधिकारीहरूले बताएका छन्।