मलेसियामा नक्कली राहदानी बनाउने अर्को गिरोह पक्राउ, ११९ वटा पासपोर्ट बरामद।

क्वालालम्पुर:= मलेसियाको अध्यागमन विभाग (JIM) इमिग्रेशनले नक्कली राहदानी (पासपोर्ट) तयार गरी विदेशी कामदारलाई गैरकानुनी सेवा उपलब्ध गराउँदै आएको अर्को गिरोहलाई पक्राउ गरेको छ।

अध्यागमन विभागले ४ अगस्ट २०२६ राति ११:०० बजे क्वालालम्पुरको तामान श्री कुचिङतामान बुकित चेरास क्षेत्रमा विशेष अपरेशन सञ्चालन गरी गिरोहका मुख्य योजनाकारसहित तीन जना इन्डोनेसियाली नागरिकलाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरूको उमेर ३० देखि ५० वर्षबीच रहेको विभागले जनाएको छ।

एक महिनासम्मको गोप्य सूचना संकलन र निगरानीपछि सञ्चालन गरिएको अपरेशनका क्रममा पक्राउ परेका मुख्य अभियुक्तसँग निर्माण क्षेत्रमा जारी गरिएको अस्थायी रोजगार पास (PLKS) रहेको पाइएको छ भने अन्य विदेशी नागरिकहरू भिसाको अवधि सकिएपछि पनि मलेसियामा अवैध रूपमा बसिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

अपरेशनका क्रममा अध्यागमन टोलीले ११९ वटा शंकास्पद नक्कली पासपोर्ट बरामद गरेको छ। बरामद गरिएका राहदानीमध्ये ८५ इन्डोनेसियाली, ७ बंगलादेशी, २२ म्यानमारका र २ भियतनामी राहदानी रहेका छन्। साथै राहदानी बनाउन प्रयोग गरिएको प्रिन्टर, मोबाइल फोन तथा RM१,५०० नगद समेत नियन्त्रणमा लिइएको छ।

FOMEMA स्वास्थ्य परीक्षण छल्न नक्कली राहदानी

प्रारम्भिक अनुसन्धानअनुसार गिरोहले क्लाङ उपत्यकामा रहेका विदेशी कामदारलाई लक्षित गर्दै FOMEMA (Foreign Employee Medical Examination) स्वास्थ्य परीक्षणमा असफल भएका वा स्वास्थ्यका कारण अयोग्य ठहरिएका कामदारलाई नक्कली वा विवरण परिवर्तन गरिएको राहदानी उपलब्ध गराउने गरेको थियो। यसका लागि प्रति राहदानी RM८० देखि RM१३० सम्म शुल्क लिने गरिएको खुलेको छ।

अध्यागमन विभागका अनुसार यही तरिकाले काम गर्ने गिरोहविरुद्ध यो पाँचौं पक्राउ हो। उक्त गिरोहले यसै वर्षको सुरुदेखि यस्तो अवैध गतिविधि सञ्चालन गर्दै आएको विश्वास गरिएको छ।

मुख्य अभियुक्तमाथि आप्रवासन ऐन १९५९/६३ को दफा १२(१)(f) अन्तर्गत मुद्दा दर्ता गरिएको छ भने अन्य पक्राउ परेका विदेशी नागरिकमाथि दफा ६(१)(c) अन्तर्गत अनुसन्धान भइरहेको छ। सबैलाई थप अनुसन्धानका लागि पुट्राजायास्थित अध्यागमन कार्यालयमा राखिएको छ।

अध्यागमन विभागले देशको सुरक्षा, कानुनी व्यवस्था तथा सार्वजनिक हितविरुद्ध हुने यस्ता अवैध गतिविधिविरुद्ध भविष्यमा पनि कडा कारबाही जारी रहने जनाएको छ।