मलेसियामा अत्यधिक गर्मीको चेतावनी, कामदारलाई सुरक्षा सतर्कता अपनाउन आग्रह।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा आगामी महिनाहरूमा ‘सुपर एल निनो’ को प्रभावका कारण अत्यधिक गर्मी र लामो खडेरी पर्न सक्ने मौसम पूर्वानुमानपछि मलेसियाको व्यावसायिक सुरक्षा तथा स्वास्थ्य विभाग (DOSH) ले देशभरका रोजगारदाता र श्रमिकलाई कार्यस्थलमा ‘हिट स्ट्रेस’ (Heat Stress) को जोखिमबारे उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

DOSH का अनुसार निर्माण, कृषि, वृक्षारोपण, फलाम तथा स्टिल उद्योग, इँटा उद्योग, सडक निर्माण तथा अन्य खुला घाममा वा अत्यधिक तातो वातावरणमा काम गर्ने श्रमिकहरू सबैभन्दा बढी जोखिममा छन्। तापक्रम बढेसँगै शरीरमा पानीको कमी (डिहाइड्रेसन), मांसपेशी बाउडिने (हिट क्र्याम्प), अत्यधिक थकान (हिट एक्सहस्टन) र समयमै उपचार नपाए ज्यानै जान सक्ने हिटस्ट्रोक जस्ता गम्भीर स्वास्थ्य समस्या हुन सक्ने विभागले जनाएको छ।

विभागका अनुसार नयाँ काम सुरु गरेका श्रमिक, ५० वर्षभन्दा माथिका कामदार, बाक्लो व्यक्तिगत सुरक्षा सामग्री (PPE) लगाएर काम गर्ने, साथै मुटुरोग, मधुमेह, उच्च रक्तचाप, मोटोपन वा गर्भावस्थामा रहेका व्यक्तिहरूलाई विशेष जोखिम हुने भएकाले अतिरिक्त सावधानी अपनाउन आवश्यक छ।

श्रमिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै DOSH ले रोजगारदातालाई नयाँ कामदारलाई ७ देखि १४ दिनसम्म क्रमशः गर्मीमा अभ्यस्त गराउने (Heat Acclimatisation), प्रशस्त सफा पिउने पानी उपलब्ध गराउने, विश्रामका लागि छायाँयुक्त स्थानको व्यवस्था गर्ने तथा अत्यधिक गर्मी हुने समयलाई ध्यानमा राखेर कामको तालिका परिवर्तन गर्न निर्देशन दिएको छ। साथै आवश्यक परे कामको अवधि घटाउने, विश्रामको समय बढाउने र श्रमिकको स्वास्थ्य अवस्था नियमित रूपमा निगरानी गर्न पनि आग्रह गरिएको छ।

DOSH ले सबै श्रमिकलाई पर्याप्त पानी पिउन, असहज महसुस भएमा तुरुन्तै विश्राम लिन, अत्यधिक गर्मीका लक्षण देखिएमा तत्काल उपचार गराउन तथा सहकर्मीमा हिटस्ट्रोकका संकेत देखिएमा ढिलाइ नगरी आपतकालीन सहायता लिन अनुरोध गरेको छ।

विभागले कार्यस्थलमा श्रमिकको स्वास्थ्य र सुरक्षाप्रति लापरबाही गर्ने रोजगारदातामाथि प्रचलित व्यावसायिक सुरक्षा तथा स्वास्थ्य कानुनअनुसार कडा कारबाही, भारी जरिवाना वा जेल सजायसमेत हुन सक्ने चेतावनी दिएको छ।

मलेसियामा बढ्दो गर्मीको अवस्थालाई ध्यानमा राख्दै DOSH ले श्रमिकको जीवन र स्वास्थ्य सुरक्षालाई सर्वोच्च प्राथमिकता दिन सबै रोजगारदाता र सम्बन्धित पक्षलाई जिम्मेवारीपूर्वक कार्य गर्न आग्रह गरेको छ।