झापा। । झापामा धान खेत मासेर किसानले निजी वन लगाउन थालेका छन् । किसानले पछिल्लो समय निजी वनलाई बहुउत्पादनमूलक बनाएका छन् । जसबाट धान खेतीभन्दा बढी आम्दानी हुने गरेको छ । झापामा यस्ता किसानको संख्या ४३० पुगिसकेको छ ।
३० वर्षदेखिको जुत्ता चप्पलको व्यापार छाडेर काठमाडौँबाट गाउँ फर्किनुभएका कनकाई नगरपालिका–६ का शान्तिराज प्रसाईले चार बिगाहा धान खेतलाई निजी कृषि वनमा रुपान्तरण गर्नुभएको छ । उहाँले कृषि वनमा टिक, मसला, रक्तचन्दन र पाउलेनियाका विरुवा हुर्काउनु भएको छ । जुन वन अहिले जिल्लाकै नमूना निजी वनका रुपमा परिचित छ । २०७० सालमा पाथीभरा निजी वन वाटिका तत्कालीन जिल्ला वन कार्यालय झापामा दर्ता गर्दै उहाँले निजी वन लगाउनुभयो । त्यसवेला उहाँले झण्डै १५ लाख रुपैयाँ लगानी गर्दै धान खेत मासेर विरुवा रोप्नुभएको थियो । जुनबेला उहाँलाई छर–छिमेकले प्रसाईको मानसिक सन्तुलन बिग्रिएछसम्म भन्न भ्याए । निरन्तरको मेहनत र लगनशीलताका कारण प्रसाई दम्पत्ती (शान्तिराज–कुशुम) लाई वन तथा वातावरण मन्त्रालयले देशकै उत्कृष्ट कृषकको रुपमा गत वर्ष सम्मान गरेसँगै प्रसाई परिवारको चर्चा अहिले झापाभर छ ।
उहाँले हुर्किदै गरेका ठूला रुख भएको वनभित्रै बेसार, केरा, मेवा, कागती, लिची, आप, अनारलगायत विभिन्न जातका फलफूलका बगैँचासमेत लगाउनुभएको छ । कृषि वनको जगेर्नाका लागि उहाँले पाथीभरा अग्र्यानिक कृषि प्रोडक्सन प्रालि नामक संस्था दर्ता गर्नुभएको छ । ‘गर्दा हुँदोरहेछ, धान खेत मासेर कृषि वन शुरु गरे, सन्तुष्ट छु’, उहाँले भन्नुभयो, ‘अब वनभित्रै कुखुरा र हाँस पनि पाल्ने तयारीमा छु । थोरै जमिनबाट बहुआयमिक उत्पादन गर्न सकिँदोरहेछ ।’
शिवसताक्षी नगरपालिका–५ लामाटोलका किसान दयानन्द दाहाल, कनकाई नपा–६ का मोहनप्रसाद सुवेदीलगायतका किसानले पनि धान खेत मासेर वनसँगै कृषिजन्य उत्पादन गरिरहनु भएको छ । गौरादह–६ का दुर्गा प्रसाई निजी कृषि वन व्यवसायी संस्थाको जिल्ला अध्यक्ष हुनुहुन्छ । उहाँले बुवाबाट अंशमा पाएको पाँच विगाहा जमिनमा धान खेत मासेरै कृषि वनको परियोजना सञ्चालन गर्नुभयो । उहाँको वनमा यतिबेला टिक र मसलालगायतका विरुवा हुर्किसकेका छन् भने वनभित्रै काँक्रा, फर्सी, करेला, कागतीसमेत फलाउनुभएको छ । उहाँले वनभित्रै पाडा र स्थानीय कुखुरा पाल्नुभएको छ । उहाँका दुई भाइले दाजुको सिको गर्दै कृषि वनसँगै व्यावसायिक माछापालन, बङ्गुर र पाडा पालेका छन् ।
झापा उद्योग बाणिज्य संघका पूर्वउपाध्यक्ष मोहनप्रसाद सुवेदीले मुलुकमा जस्तोसुकै संकट आउँदा पनि कृषि पेशा नै भरपर्दो र बलियो देखिएको बताउनुभयो । उहाँले धान लगाउँदा उत्पादन कम र मजदूर अभाव हुने बताउँदै किसानले धान खेत मासेर धमाधम कृषि वनका रुपमा विकास गर्न थालेको बताउनुभयो । कनकाई–६ मा उहाँको पनि निजी कृषि वन छ । नेपाल सरकारले निजी कृषि वनलाई थप प्रोत्साहन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा आधुनिक कृषि औजार वितरण गर्ने कार्यक्रम रहेको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताउनुभयो ।
उहाँले कार्यालयले व्यावसायिकरुपमा काम गरिरहेका किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले आवश्यकता हेरेर दुईदेखि पाँच लाख रुपैयाँको कृषि औजार खरिदमा अनुदान दिइने बताउनुभयो । वनलाई बहुउत्पादनमूलक वनाउन कार्यालयले प्रोत्साहित गरिरहेको छ । केन्द्रका झापा प्रमुख निलमणि साहले निजी कृषि वनमा लागेका किसानलाई प्राविधिक सहयोग र फलफूलका विरुवा वितरण गरिने बताउनुभयो । उहाँले थोरै जमिनमा गरिने बहुआयामिक कृषि प्रणालीबाट धेरै आम्दानी गर्न सकिने बताउनुभयो ।



















