सीमा क्षेत्रमा झडप : एक जनाको मृत्यु, पाँच जना घाइते

सर्लाही । सर्लाहीको सीमावर्ती पर्सा गाउँपालिका–३, नारायणपुरमा शुक्रबार भारतीय नागरिक जबर्जस्ती नेपाल प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीसँग झडप भएको छ । झडपका क्रममा उत्तेजित भिडले सुरक्षाकर्मीको हतियार खोस्ने प्रयास गरेपछि गोली चलाउनु परेको र सो क्रममा एक भारतीयको मृत्यु हुनका साथै दुई भारतीय नागरिक घाइते भएको स्थानीय प्रशासनले जनाएको छ । तीन नेपाली सुरक्षाकर्मी पनि घाइते भएका छन् ।

भारतीयहरू नारायणपुर नाका हुँदै शुक्रबार बिहानै जबर्जस्ती नेपालतर्फ प्रवेश गर्न खोजेपछि सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी टोलीले रोक्न खोजेको थियो । सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठकाअनुसार सुरुमा ४०÷४५ जना भारतीय जवरजस्ती नेपाल प्रवेश गर्न खाजेकोमा सुरक्षाकर्मीले रोकेका थिए । त्यसपछि उनीहरूले सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्न थाले । सुरक्षाकर्मीले हवाई फायर गरेपछि उनीहरू भागेका सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो । ‘फेरि ६०÷६५ जनाको हुलमा आएर प्रहरीमाथि ढुंगामुढा साथै हतियार खोस्ने प्रयास गरे,’ उहाँले भन्नुभयो, ‘त्यसक्रममा सशस्त्र प्रहरीले फेरि हवाई फायर गरेर उनीहरूलाई भगायो ।’ 

झडपमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर भारतको प्रिपा प्रसाइन जानकीनगरका २७ वर्षीय विकेश कुमारको मृत्यु भएको उपरीक्षक श्रेष्ठले बताउनुभयोे । श्रेष्ठकाअनुसार झडपमा सशस्त्र प्रहरीतर्फ तीन जना र भारतीय नागरिक दुई जना घाइते भएका छन् । घाइते सशस्त्र प्रहरीको जिल्ला अस्पताल मलंगवा र भारतीयहरूको सीमापारीकै अस्पतालमा उपचार भइरहेको छ । 

झडपमा भारतीयहरूले खोसेर लगेको हतियार फिर्ता ल्याइसकिएको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो । झडप भएको स्थानमा व्यापक सुरक्षाकर्मी तैनाथ छन् ।

थप विवाद हुन नदिन सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठ र प्रहरी उपरीक्षक विश्वमणि पोखरेल आफैँ नारायणपुर नाका पुग्नुभएको उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । सुरक्षा निकायले भने उनीहरू नेपाल–भारतमा अवैध रुपमा सामान ओसारपसार गर्ने तस्कर समूह भएको दाबी गरेको छ ।

सरकारले लकडाउन खुकुलो बनाएसँगै त्यसैको फाइदा उठाउँदै उनीहरू नेपाल प्रवेश गर्न खोजेको उपरीक्षक श्रेष्ठले बताउनुभयो । भारतीयहरू जबरजस्ती नेपालतर्फ प्रवेश गर्न खोज्दा केही दिनअघि सर्लाहीको विष्णु गाउँपालिकास्थित पकडी नाकामा पनि झडप भएको थियो ।