कम्बोडियामा हुने “संगम” एनआरएनए एकताको सम्मेलन हुनेछ: संयोजक , हरिप्रसाद भट्टराई।

यतिबेला गैर आवासीय नेपाली संघ “एनआरएनए” संस्थाको नाम विश्वब्यापी चर्चामा छ । एनआरएनएभित्र भैइरहेको विवादले नेपाल सरकारको मात्रै नभैइ विश्वकै ध्यान एनआरएनए तिरै केन्द्रित छ । अहिले एनआरएनएमा देखिएको समय सान्दर्भिक विषयलाई समेटेर एनसीसी मलेसियाको सन् २०१९ – २०२१ कार्यकालको निर्वाचित अध्यक्ष , सन् २०२१ – २०२३ मा एनआरएनए एसिया प्यासिफिक सह- संयोजक “डिआरसी” र सन् २०२३ – २०२५ सम्मको लागि ११औं महाधिवेशनबाट निर्वाचित एसिया प्यासिफिक संयोजक “आरसी” नेपाली ब्यावसायी , समाजसेवी व्यक्तित्व एनआरएनए अभियन्ता हरिप्रसाद भट्टराईसंग मलाया खबरकर्मी घनश्याम चौधरी “आरएन” ले लिएको अन्तरवार्ता यहाँ प्रस्तुत गरेका छौ :

(१) गैरआवासीय नेपाली संघ (एनआरएनए) अभियानमा तपाई लामो समयदेखि लाग्नु भएको छ, एनआरएनए अहिले कसरी अगाडि बढेको छ?
👉️ गैर आवासीय नेपाली संघ (एनआरएनए) बिश्वमा रहेका नेपालीलाई जोड्ने पवित्र संस्था हो । नेपाली डायस्पोराको सबैभन्दा ठूलो र मान्यता प्राप्त संस्थामा लामो समयदेखि आवद्ध भएर काम गर्न पाउँदा मलाई गर्व लाग्छ । यो संस्था राजनीति मुक्त , विदेशमा बस्ने नेपालीको हकहितमा काम गर्ने, नेपालमा लगानी भित्र्याउनु पर्छ र सम्बृद्ध नेपाल बनाउने अभियानमा साथ दिनु पर्छ भनेर काम गरिरहेको छ । नेपाल सरकारसँग सहकार्य गरेर सामाजिक तथा नेपाल र नेपालीको लागि काम गरेर अगाडि बढिरहेको छ ।

(२) अहिले एनआरएनए आईसीसी भित्र विभिन्न विवाद देखिएका छन्, खासमा के हो ?
👉️ एनआरएनएमा हिजो थोरै नेपालीहरु जोडिनु भएको थियो तर अहिले लाखौ जोडिनु भएको छ । सस्था ठुलो भएको छ । सस्थाको गरिमा र महत्त्व बढेसगै नेतृत्वमा आउन चाहने बढेका छन । आईसीसीमा देखिएको विवाद खासमा ११औं महाधिवेशनमा हार स्वीकार गर्न नसकेर राजनीतिक पहुचको आँडमा एनआरएनए संस्थालाई विवादमा तानौ भन्ने सोच भएको ब्यक्तिहरुको विचारको उपज हो । यो विवाद अब धेरै समय रहदैन । अदालतले समाधानको बाटोमा ल्याइसकेको छ, अव विवाद छैन भन्दा हुन्छ ।

(३) तपाईले विवाद छैन भन्दैगर्दा आईसीसीको महाधिवेशन पनि नजिकिदैछ, अर्को पक्ष मे महिनामा महाधिवेशन गर्न जुटिरहेको अवस्थामा कसरी विवाद समाधान होला त ?
👉️ एनआरएनएको विवाद अब अदालतको प्रक्रियामा गैइसकेको अदालतले बल्ल सहि ट्र्याकमा ल्याएको छ । कुनै पनि सामाजिक संस्थामा देखिएका विवाद समाधान गर्न कुनै गाह्रो छैन । पहिले १०औं महाअधिवेशनको बेला नै हालेको मुद्दाको सुनुवाइ चाहिँ अहिले भएको हो तर, सरकार र अदालत ले पनि दोस्रो फैसला दिएको अनुसार ११औं महाधिवेशनलाई मान्यता दिएको हुँदा प्रत्यक्ष चुनाव जितेर आएको कार्यसमितिलाई कार्यकाल नसकुन्जेलसम्म निरन्तर रुपमा काम गर्न बाटो खुल्ला गरेको अवस्था छ । यही निर्वाचित कार्यसमितिले नै अक्टोवरमा १२औं महाधिवेशन गराउन म्यान्डेट दिएको छ । अब आउने महाधिवेशन सदाझै दशैँ तिहार लगायत चाडपर्वलाई मध्य नजर गरि अक्टोबर महिनातिरै गराउनेछौ । अक्टोबर महिना एनआरएनहरुको महिना हो। अक्टोवरमा एनआरएनए डे पनि पर्ने भएकाले अक्टोबरमै महाधिवेशन गराउनेछौ । अनि फेरी म तपाईलाई सोध्न चाहन्छु कि दशैंमा लगाउने टिका चैते दशैंमा लगाएर हुन्छ ? दशैंमा लगाउने टीका त दशैंमै दुर्गा पुजा गरेर मनाउने हो नि त । हो त्यसरी नै प्रक्रिया अनुसार अक्टोबरमा महाधिवेशन हुन्छ ।

(४) तपाई एसिया प्यासिफिकको संयोजक पनि हुनुहुन्छ , आईसीसीको विवाद समाधानका लागि के कस्ता प्रयास गर्नुभयो त ?
👉️ मैले र मेरा सहकर्मी सबै मित्रहरुले एनआरएनए भित्रको विवाद मिलाउन बारम्बार पहल गर्दैआएका छौ । एनआरएनएको विवाद मिल्छ भने म आफ्नो पद छोड्न तयार छु भनेर धेरै पहल गरेँ । समाधान हामी भित्रैबाट खोज्नु पर्छ भनेर म विगतदेखि नै लागिरहेको छु । अब हाम्रो एकताको लागि अन्तिम प्रयासस्वरुप एक भिन्न कार्यक्रम आयोजना गरिरहेका छौं । सबैलाई एकै थलोमा राखेर पुनःर्मिलन गराउनको लागि एसिया प्यासिफिकले क्षेत्रीय सम्मेलन कम्वोडियामा आयोजना गरेर संगम भन्ने कार्यक्रम राखेका छौ । आधिकारिक एनआरएनएबाट टुटेर फुटेर गएका सबैलाई एकै ठाउँमा जोड्ने विश्वास लिएका छौ । संगम कार्यक्रममा एनआरएनएका पुर्व अध्यक्षहरु क्रमशः उपेन्द्र महतो , जिबा लामिछाने , देबमान हिराचन , शेष घले , कुमार पन्त , भवन भट्ट , र एनआरएनए अभियान्ता हरु लगायत सबैलाई एकै ठाउँमा राखेर विचार बिमर्शबाटै यो विवाद समाधान गर्ने र एकताको सन्देश दिनेछौ ।

(५) संगम कहिले आयोजना गर्न लाग्नु भएको हो, कार्यक्रमको तयारी कस्तो भइरहेको छ ?
👉️ मिति २०२५ मार्च १८ र १९ तारिख कम्बोडियाको होटल कम्बोडियाना फनोम फेन्हमा संगम आयोजना गर्ने  तयारीमा लागेका छौ। जसमा विश्वभरबाट एनआरएनए हरुको बाक्लो उपस्थिति रहनेछ। नेपाल सरकार, राजनैतिक दलका प्रतिनिधि, विश्वभरका एनआरएनएका अग्रज तथा कलाकार, संचारकर्मीको उपस्थिति हुनेछ । हामी कार्यक्रमको तयारीको अन्तिम चरणमा छौं ।

(६) तपाईहरुले संगम कार्यक्रम आयोजना गरिरहँदा डा. शेष घले पक्षले मे महिनामा नै एनआरएनए एकताको महाधिवेशन गर्ने भनेर तयारी थालिरहेको अवस्थामा , के अब एकताको महाधिवेशन हुन्छ त ?
👉️ हो, एकताको महाधिबेशन चै हुन्छ तर पहिलेदेखिनै भैइरहेको निश्चित समय अर्थात अक्टोबरमै हुन्छ । अदालतको फैसलालाई टेकेर सबै मिलेर अक्टोवरमा एकताको महाधिवेशन गर्नुको अर्को विकल्प छैन ।

(७) थाइल्यान्डमा आयोजना हुन लागेको युथ कन्फ्रेन्स अर्थात अन्तर्राष्ट्रिय युवा सम्मेलन कस्तो किसिमको सम्मेलन हो, यसका बारेमा बताइदिनुहोस् न ?
👉️ एनआरएनए आइसीसी युथ विभागले आयोजना गरेको युथ कन्फ्रेन्स अर्थात युवा सम्मेलन भनेको युवाहरुको सम्मेलन हो । दोश्रो पुस्ताका नेपालीहरुको आवाज हो । विदेशमा पुस्तौंदेखि बसोबास गरिरहेका नेपालीको नेपालमा लगानीको वातावरण सिर्जना गराउन , राजनीतिक पाटोबाहेकका क्षेत्रमा उनीहरुको अधिकार सुनिश्चित गराउन र युवा हरुबीचमा एकताको संदेश कायम गराउनलाई युवा सम्मेलन आयोजना गर्न लगिएको हो । जुन सम्मेलन कम्बोडियाको भन्दा पहिले नै यहीँ मार्च १५ र १६ तारिख आयोजना हुन गैइरहेको छ ।

(८) यता एनआरएनए एनसीसी मलेसियामा पनि विवाद देखिएको छ , एनसीसी मलेसियाको विवाद के हो ?
👉️ एनआरएनए एनसीसी मलेसियामा विवाद नै छैन । हिजो अधिवेशनको बेला सन् २०२३ ( २०२४ अध्यक्ष बिनोद थापा र अहिलेका २०२४(२०५ कार्यकालका अध्यक्ष राकेश प्रसाद महतो ूआरकेूबीच जे सहमति भयो त्यहीँ नै कार्वानयन भएको हो। अरु नयाँ केहि पनि हैन , विवाद नै छैन ।

(९) तपाई एनआरएनए एनसीसी मलेसियाको पुर्व अध्यक्ष र अहिलेको एसिया प्यासिफिक संयोजकको हैसियतले एनसीसी मलेसियाको विवाद समाधानको लागि पहल र प्रयास गर्नु भयो त ?
👉️ पहल गर्नलाई विवाद हुनुपर्यो नि ? सबै भन्दा पहिले तपाई क्लिअर हुनुस कि , एनसीसी मलेसियामा विवादनै छैन , विवाद हुने कुनै कारण पनि त छैन नि । पुर्व सहमति अनुसार नै एसिया प्यासिफिक क्षेत्रको एनसीसीको अधिकार आरसीसंग हुने भएकोले मैले सोही अधिकारको प्रयोग गरेर आरकेलाई अध्यक्ष पदको लागि शपथ गराएर पद सुम्पेको हुँ। शपथ गराउने क्रममा बहुमत सदस्यले पारित गरिसकेको कुरामा एक दुईजनाले अध्यक्ष मान्दिन भनेर हिड्नु विवाद नै हैन भन्छु म त , पहिले सहमति गर्ने बेलामा सबैको अगाडि तर्र्र्‍र्‍र्‍ ताली पिट्ने स्वागत तथा सम्मान गर्ने , अनि अहिले आएर तिनै एक दुई जनाले अध्यक्ष नमानेकोलाई विवाद भन्नै मिल्दैन नि ।

(१०) मलेसियास्थित नेपाली राजदूतावास र एनसीसी मलेसियाको सम्बन्ध अहिलेको अवस्थामा कस्तो छ , केही असन्तुष्टी बाहिर देखिएका छन् नि ?
👉️पहिलो कुरा नेपाली दूतावास हाम्रो अभिभावक हो, दूतावासको सहकार्यमा नै हामीले काम गर्नुपर्छ । एनसीसीको सम्बन्धको विषयमा मलाई थाहा भएन तर एनआरएनए भनेको परराष्ट मन्त्रालयमा दर्ता भएको संस्था भएकाले दूतावाससँग सबैभन्दा नजिक रहेर काम गर्नुपर्छ । दूतावासले पनि एनआरएनएलाई नजरअन्दाज गर्न हुँदैन । मिलेर सहकार्य गर्दै काम गर्नुपर्छ ।