साउदीमा लकडाउन खुकुलो बनाइँदै,के के खुल्ने ? के के नखुल्ने त?

साउदी ( अरेबिया ):=  साउदी सरकारले कोरोना भाइरस ( कोभिड – 19 ) को संक्रमणलाई नियन्त्रण गर्न जारी गरेको लकडाउन खुकुलो बनाउने तयारी गरेको छ । अन्य मुलुक जस्तै साउदीमा पनि कोरोनाको संक्रमण रोकथाम र नियन्त्रणका लागि विगत दुई महिनादेखि लगाइएको कर्फ्यु र लकडाउलाई ईद पर्व सकिएपछि विभिन्न ३ चरणमा विभाजन गरी लकडाउन खुकुलो बनाउने तयारी गरेको साउदीस्थित नेपाली दूताबासले जारी गरेको एक सुचना मार्फत जनाएका छ्न ।

साउदी प्रेस एजेन्सीका अनुसार पहिलो चरण मे २८ देखि मे ३०, सम्ममा मक्का बाहेकका क्षेत्र र प्रान्तहरुबीचको आवागमनलाई बिहान ६ बजेदेखि अपरान्ह ३ बजेसम्म खुल्ला गरिएको छ । बाँकी समय भने लकडाउन हुनेछ । यसअघिको लकडाउनमा प्रान्त र क्षेत्रहरुबीचको आवागमन बन्द गरिएको थियो । यस अवधिमा खुद्रा तथा होलसेल पसलहरु तथा मलहरु पुनः संचालनमा आउने साउदीको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । त्यस्तै सामाजिक दुरी कायम गर्नुपर्ने ब्युटिपार्लर, सैलुन, स्पोर्ट क्लब, हेल्थ क्लब, मनोरञ्जनका क्षेत्र, सिनेमा हल भने बन्द रहने छन् । दोस्रो चरणका रुपमा निर्धारण गरिएको मे ३१ देखि जून २० मा मक्का बाहेका क्षेत्र र प्रान्तहरुबीचको आवागमनलाई बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म खुला गरिएको छ । साथै, कोराना संक्रमण नियन्त्रणसम्बन्धी सबै गाइडलाइनहरुलाई पूर्ण पालना गर्ने गरी मन्त्रालय, सरकारी निकायहरु र निजी क्षेत्रका कम्पनीहरुमा कर्मचारीको उपस्थितिलाई पनि अनुमति दिइएको छ ।

सूचना अनुसार क्षेत्र र प्रान्तबीच चल्ने सार्वजनिक यातायातका साधनहरु भने संचालनमा आउने छैनन् । तर अन्तराष्ट्रिय उडानहरू भने अर्को सूचना नभए सम्मका लागि स्थगित नै रहने बुझिएको छ । यसैगरी यस अवधिमा रेष्टुरेण्ट र फुड तथा बेभरेज क्याफेहरु खुल्ने भएका छन् । दोस्रो चरणमा पनि सामाजिक दुरी कायम गर्नुपर्ने ब्युटिपार्लर, सैलुन, स्पोर्ट क्लब, हेल्थ क्लब, मनोरञ्जनका क्षेत्र, सिनेमा हललाई खोल्ने अनुमति दिइने छैन । तेस्रो र अन्तिम चरणका रुपमा विभाजन गरिएको जून २१ पछिको अवधिमा सरकारले आर्थिक गतिविधिका सबै क्षेत्रहरु खुल्ला गर्ने र लकडाउन भन्दा अगाडिको ‘सामान्य’ अवस्थामा मुलुकलाई लैजाने योजना बनाएको जनाइएको छ।