कोरियाबाट बिदामा आएकालाई पठाउने तयारी

काठमाडौं । सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) प्रणालीबाट दक्षिण कोरिया गएर बिदामा नेपाल फर्केका नेपालीलाई वैदेशिक रोजगार विभागमा सम्पर्क गर्न आग्रह गरेको छ । कोरोना भाइरस संक्रमणका कारण लकडाउन तथा अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण फर्कन नपाएकाहरूलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचना जारी गर्दै स्वेच्छाले आफ्नो काममा फर्की जान चाहेको अवस्थामा विभागअन्तर्गत रहेको इपिएस कोरियामा शाखामा सम्पर्क गर्न आग्रह गरेको हो । 

कोरोना माहामारीअघि बिदा लिएर दक्षिण कोरियाबाट आएका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायीलाई नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया फर्काउने तयारी भएको छ । एनआरएनए केन्द्रीय कमिटी र नेपाल एयरलान्सबीच यस विषयमा सोमबार एक सम्झौतासमेत भइसकेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले वैध प्रवेशाज्ञा भई हाल बिदामा नेपालमा रहेका कामदारलाई स्वास्थ्य परीक्षण गराई उनीहरूकै खर्चमा चार्टर्ड उडानमार्फत जान स्वीकृति दिएको थियो । कोरोना महामारीअघि बिदा लिएर नेपाल आएका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायी अन्तर्राष्ट्रिय उडान बन्द हुँदा अलपत्र पर्दै आएका छन् ।

एनआरएनए कोरियाका महासचिव डा विमल सुवेदीका अनुसार पहिलो चरणमा अप्रिल ३० तारिखमा चार्टर्ड फ्लाइट हुनेछ । जसमा भिसा सकिन लागेकालाई प्रथमिकता दिइ उडाइनेछ ।

विशेषगरी लकडाउन हुनुअघि दक्षिण कोरियाबाट छोटो अवधिको बिदा लिएर नेपाल पुगेका नेपाली श्रमिक समयमै फर्किन नसक्दा भिसा नै रद्द हुने हो कि भन्ने चिन्ता थपिएको थियो । आफूले काम गरिरहेको कम्पनीले छिटो फर्कन ताकेता गरे पनि लकडाउनका कारण फर्कन नसक्दा नेपालमा रहेका नेपाली श्रमिक चिन्तित थिए ।

करीब २५० नेपाली कामदार कोरियाबाट बिदामा आएको हुनसक्ने अनुमान गरिएको छ । कोरियामा कोभिड–१९ को महामारी बिस्तारै कम हुँदै गएपछि त्यहाँका रोजगारदाताले नेपाली कामदारलाई जतिसक्दो चाँडो फर्कन आग्रह गर्दै आएका छन् ।

यसरी फर्किने श्रमिकले टिकटवापत एक लाख १३ हजार ७७५ रुपैयाँ अप्रिल २९ तारिख दिउँसो २ बजेभित्र बुझाउनुपर्ने हुन्छ । कोरिया फर्केपछि अनिवार्यरूपमा १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ । सेल्फ क्वारेन्टाइनको व्यवस्था गर्न नसक्नेहरूले इन्छन एयरपोर्टको हेल्प डेस्कमा सम्पर्क गरी दिनको एक लाख कोरियन वन तिरेर क्वारेन्टाइनको सुविधा लिनसक्ने पनि बताइएको छ ।