डिआइजीहरूलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले हालै बढुवा भएका प्रहरी नायव महानिरीक्षक (डिआइजी)हरूलाई तोकिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न निर्देशन दिनुभएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट हालै बढुवा भएका १० डिआइजीलाई मंगलबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सफल कार्यकालको शुभकामना दिँदै गृहमन्त्री थापाले कोभिड–१९ संक्रमणको जोखिम रहेको वर्तमान अवस्थामा सीमा नाकामा थप कडाइका लागि विशेष ध्यान दिन आग्रह गर्नुभयो । बढुवा भएकामध्ये अधिकांशले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् ।

गृहमन्त्री थापाले भन्नुभयो, ‘राज्यले विश्वास गरेर तपाईंहरूलाई यो जिम्मेवारी प्रदान गरेको छ, जिम्मेवारी इमान्दारीपूर्वक पालन गर्दै सृजनात्मक ढंगले काम कारवाही अघि बढाउनुहोस् ।’

मुलुक कोरोना विरुद्धको लडाइँमा रहेको अवस्थामा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले अग्रमोर्चामा रहेर काम गरिरहेको उहाँको भनाइ थियो । राज्यको रणनीति सफल भएमात्र यो लडाइँ जित्न सकिने बताउँदै उहाँले लकडाउनको समयमा नागरिकलाई कुनै समस्या भए तत्काल पूरा गर्नतर्फ अग्रसर हुनसमेत निर्देशन दिनुभयो ।

‘सबै प्रदेशको आ–आफ्नै विशेषता छ, त्यसलाई मनन् गर्दै काम गर्नुहोस्, प्रदेश सरकारसँग राम्रो समन्वय गर्नुहोस्,’ गृहमन्त्री थापाले प्रदेश प्रमुख भएर जाने प्रहरी अधिकृतलाई निर्देशन दिँदै भन्नुभयो ।

सो अवसरमा गृहसचिव महेश्वर न्यौपानले बढुवा भएका डिआइजीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो ।

घनश्याम अर्याल, प्रकाशजङ्ग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार विसी हालै डिआइजीमा बढुवा भएका हुन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार हाल नेपाल प्रहरीको प्रदेश नं १ मा डिआइजी ईश्वरबाबु कार्की, प्रदेश नं २ मा धीरजप्रताप सिंह, वाग्मती प्रदेशमा वसन्तकुमार लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल, प्रदेश नं ५ मा रवीन्द्रबहादुर धानुक, कर्णाली प्रदेशमा वसन्तकुमार पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तमराज सुवेदीलाई प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ ।