कोरोनाको केन्द्र बन्यो उदयपुर, एकैदिन ११ संक्रमित थपिए

काठमाडौं । प्रदेश १ को उत्तरपूर्वी जिल्ला उदयपुर पछिल्लो समय नेपालमा कोरोना संक्रमणको केन्द्रका रुपमा देखा परेको छ । उदयपुरमा मंगलबार ११ जना संक्रमित पाइएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४२ पुगेको छ । कुल संक्रमितमध्ये आधाभन्दा बढी उदयपुरमै फेला परेका हुन् । यसअघि उदयपुरमै १२ संक्रमित फेला परेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका बासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उदयपुरको त्रियुगा नगरपालिकाको मस्जिदमा यसअघि नै फेला परेका संक्रमितको सम्पर्कमा आएका र आसपासका बासिन्दामा नमुना परीक्षण गर्दा थप ११ जनामा कोरोना संक्रमण देखिएको हो ।

उदयपुरको भुल्केस्थित मस्जिद वरपरबाट लिइएको ६९ जनाको नमुना कोशी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ८ जनामा पोजिटिभ भएको शंका लागेपछि थप यकिन गर्न धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो ।

प्रदेश १ सरकारले मंगलबारबाट उदयपुर जिल्लालाई चारैतिरबाट सिल गर्ने निर्णय गरेको छ । उदयपुरबाट अन्य जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि जिल्ला सिल गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो ।

उदयपुर जिल्लाभित्रै पनि अन्य ठाउँमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन तथा उदयपुरबाट अन्य जिल्लामा पनि संक्रमण फैलिन नदिन पूर्ण रुपमा लकडाउनका साथै सिल गर्ने निर्णय गरिएको उहाँको भनाइ छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सर्वदलीय संयन्त्रको साथ र सहयोगमा जिल्लालाई पूर्ण लकडाउन र सिल गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको उहाँले बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म देशभरी आरडीटी विधिबाट २७ हजार ९ सय ५६ जनाको परीक्षण भएको छ भने पीसीआर विधिबाट ८ हजार ८ सय ६८ नमुना परीक्षण भएको छ । हालसम्म दुवै विधिबाट गरी ३६ हजार ७ सय १९ को परीक्षण भएको छ ।

त्यसैगरी अहिलेसम्म विभिन्न आइसोलेसनमा १०७ जना छन् । काठमाडौंमा ६ जना र उपत्यकाबाहिर १०१ जना आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म नेपालभर ८ हजार ७ सय ६३ जनाको कोरोना परीक्षण भईसकेको जनाइएको छ । 

अर्का संक्रमित पनि स्वस्थ

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत एक कोरोना संक्रमित मंगलबार स्वस्थ भई अस्पतालवाट डिस्चार्ज हुनुभएको छ । लगातार दुई पटक गरिएको नमूना परीक्षणमा ‘नेगेटिभ‘ नतिजा आएपछि धनगढी उपमहानगरपालिका–५का ती युवकलाई डिस्चार्ज गरिएको अस्पतालमा प्रवक्ता डा जगदीश जोशीले जानकारी दिनुभयो । 

दुबईबाट नयाँ दिल्ली र काठमाडौं हुँदै धनगढीस्थित घर पुग्नुभएका ३४ वर्षीय अमृत शाही कोरोनाबाट संक्रमित भएको पुष्टि भएसँगै चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

यसअघि सो अस्पतालबाट कैलालीको लम्की चुहानगरपालिकाका २१ वर्षीय राज विक पनि संक्रमणमुक्त भएर घर फर्किसक्नु भएको छ । हाल सो अस्पतालमा दुई महिला र एक पुरुष गरी तीन संक्रमितको उपचार भइरहेको छ ।