सीमापारी रहेका नेपाली तत्काल आउन नपाउने

सुदूरपश्चिमलाई कोरोनाको इपिसेन्टर हुन दिँदैनौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सीमा क्षेत्रस्थित भारतीय क्वारेन्टाइनमा रहेका नेपालीलाई तत्काल स्वदेश ल्याउन नसकिने प्रष्ट पार्नुभएको छ । कोरोना संक्रमण फैलन सक्ने जोखिम उठाउन तत्काल सरकार तयार नहुने भन्दै उहाँले सीमावर्ती भारतीय क्षेत्रमा रहेका नेपालीले नेपाल प्रवेश नपाउने प्रष्ट पार्नु भएको हो ।

आइतबार सरकारी समाचार एजेन्सी ‘राष्ट्रिय समाचार समिति’ले प्रकाशित गरेको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘स्वदेश आउन पाउनुपर्छ । तर देशभक्ति उम्लिने कतिबेला ? हामी उहाँहरूलाई कोरोनारहित अवस्थामा स्वदेश फर्काउन चाहन्छौं । के संक्रमितलाई धमाधम ल्याएर गाउँगाउँ पठाएर अरु मान्छे सोत्तर बनाउनुपर्छ भन्ने हो ?’

उहाँले सीमामा अलपत्र परेकालाई इच्छाअनुसार होटलमा वा क्वारेन्टाइन राख्न भनेको दावी गर्दै केही मानिस होटलमा नबस्ने, क्वारेन्टाइनमा नजाने र दशगजामा सुत्ने गरेको पाइएको बताउनु भएको छ । ‘नेपालीलाई पारी(भारततिर) पनि खानबस्न व्यवस्थाका लागि सम्बन्धित सरकारसँग कुरा भएको छ । अनि जसरी पनि आउनुपर्ने ? हामी भारतको संक्रमणको स्थिति हेरेरमात्रै सीमा खुलाउँछौं,’ उहाँले भन्नुभयो, ‘सुदूरपश्चिमलाई कोरोनाको इपिसेन्टर हुन दिँदैनौं ।’ 

प्रधानमन्त्री ओलीले यस्तो बेलामा संविधानको किताब हेरेर हिँडडुलको अधिकार खोज्ने होइन, कोरोनबाट बच्ने हो भन्ने पनि प्रष्ट पार्नुभएको छ ।

आफूले नेपालीहरु रहेका विभिन्न मुलुकका समकक्षीसँग चरणबद्धरूपमा नेपालीहरूको अवस्थाबारे कुरा गरिरहेको जानकारी दिँदै उहाँले भन्नुभएको छ, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि विभिन्न सरकार प्रमुखसँग कुरा गरेको छु । र अन्य संयन्त्रले सम्बन्धित तहमा कुरा गरिरहेका छन् । त्यहाँका सरकारले त्यहाँ रहेका श्रमिक र विद्यार्थी नेपालीलाई आवश्यक उचित प्रबन्ध गर्छौं भनेका छन्, त्यसकारण आत्तिनुपर्ने स्थिति छैन ।’

सरकारले कोरोना रोकथामका लागि बेलैमा विभिन्न उपाय अवलम्बन गरेको प्रधानमन्त्री ओलीको दावी छ ।‘विदेशबाट हवाईमार्ग आउने नागरिकलाई हामीले अझै अगाडि रोक्न सक्ने थियौँ तर हामी विश्व व्यवस्थाभन्दा अलग्गै वा एक्लै अघि बढ्न सक्ने स्थिति पनि थिएन,’ अन्तरवार्तामा उहाँले भन्नुभएको छ, ‘कतिपय मुलुकले उडानहरु नरोकेको समयमा नेपालमा मात्रै रोकिँदा किन रोकियो ? भन्ने प्रश्न पनि आउन सक्ने थियो । अन्तर्राष्ट्रिय प्रवेशविन्दु र सीमानाका बन्द तथा आवश्यक स्वास्थ्य सतर्कता अपनाएकाले नेपालमा यस महामारीले विशाल रूप लिनसकेको छैन ।’

सरकारले मानवीय मूल्य र तिनको जीवनरक्षालाई पहिलो प्राथमिकता दिएको उहाँको भनाइ छ । ‘यसमा हामी राजनीति गर्दैनौँ, अर्थतन्त्रको नाफाघाटा हेर्दैनौं, नेपाली जनता, मानव र नागरिक बचाउनेतिर मात्र हाम्रो ध्यान छ । यसबाट कसैको ज्यान नजाओस् र बिरामीले राम्रोसँग उपचार पाओस् भनेर पहलहरु गरेका छौं । लकडाउन पनि त्यसैको उपज हो ।’

उहाँले लकडाउन अझै लम्ब्याउन सक्ने संकेत पनि गर्नुभएको छ । ‘लकडाउन एउटा विधि हो । यो सरकारलाई चाहिएको विषय होइन,’ अन्तरवार्तामा उहाँले भन्नुभएको छ, ‘परिस्थिति हेरेर स्थिति सहज भएपछि हाम्रा आर्थिक गतिविधि क्रमशः अगाडि बढ्नेछन् । कोरोनाका कारण उत्पन्न आतंक समाप्त पार्नुपर्छ । कतिपय मुलुकमा हामीले देख्यौं, बाकसमा लगेर लाशमाथि लाश पुरिएको छ । के हामी पनि खाल्डोमा लाशमाथि लाश पुरिएको हेर्न चाहान्छौँ ? यसले आतंक सिर्जना भएमा त्यसले ल्याउने डिप्रेशन र क्षतिको आँकलन गरेका छौं ?’

ठूला भनिएकै मुलुकमा संक्रमित संख्या बढेपछि अस्पतालमा उपचार गर्न नसकेर सडकमै पाल टाँगेर भेन्टिलेटर राखेर उपचार गराइएको जिकिर गर्दै प्रधानमन्त्री ओलीले यस्तो स्थितिमा पुग्नुको साटो लकडाउन सहनु नै उपयुक्त हुने बताउनु भएको छ । ‘त्यसैले लकडाउन गरेर सरकारले जनतालाई दुःख दियो भन्न मिल्दैन,’ उहाँले भन्नुभयो ।

अन्तरवार्तामा उहाँले अगाडि भन्नुभएको छ, ‘लकडाउन खुकुलो पार्दै जाने होइन, अन्त्य नै गर्ने हो । त्योभन्दा पहिला कोरोनाको अन्त्य हुनुपर्छ । मान्छेको जीवन बचाउनुपर्छ ।’

पहिले–पहिलो भएका भ्रष्टाचारका मुद्दालाई यो सरकारले छानबिन र कारवाही गरेको दावी गर्दै उहाँले त्यसैको प्रतिशोधमा केहीले सरकार भ्रष्टाचारमा संलग्न रहेको भन्ने ढंगले ‘कुप्रचार’ गर्ने गरिएको बताउनु भयो । ‘जस्तो बालुवाटारको ललिता निवास प्रकरण विगतमै भएको हो । हामीले चाँजबुझ अघि बढायौं,’ उहाँले भन्नुभयो, ‘वाइडबडी प्रकरणको कुरा पहिल्यै शुरु भएको हो । ३८ केजी सुन प्रकरणमा हाल करिब ७३ जना कारागारमा छन् ।’

तिनीहरु छानबिनमा आएपछि शासन सुव्यवस्था नभएको र भ्रष्टाचार भएको भनी आरोप लगाइएको उहाँको भनाइ छ । ‘प्रधानमन्त्री अहिले पहिलेको जस्तो खरिद बिक्रीको कारोवार गर्दैन,’ उहाँले भन्नुभयो, ‘पहिला–पहिला आफूले गरेकाले त्यही सम्झिएर वा ऐनामा हेर्दा आफ्नो त्यही अनुहार देखेर अहिले अरुले पनि त्यही गरेको हुनुपर्छ भन्ने हल्ला चलाइरहेका छन् ।’