काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड १३ वर्ष पूरा गरी १४ वर्षमा प्रवेश गरेको छ । कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला अत्याधुनिक प्रविधिलाई अपनाउँदै उच्चस्तरीय बैंकिङ सेवा प्रवाह गर्दै आएको बैंकले यसपटक भर्चुअली वार्षिकोत्सव मनाएको हो ।
बैंकको ३३२औं सञ्चालक समितिको बैठकले यस सुखद् अवसरमा समस्त ग्राहक वर्ग, शेयरधनी, नियामक निकाय तथा शुभचिन्तकहरूमा हार्दिक कृतज्ञता व्यक्त गरेको छ । सो अवसरमा १३ वर्षको अवधिमा बैंकद्वारा हासिल विभिन्न उपलब्धि तथा प्रमुख वित्तीय सूचकांकहरू समावेश गरेर तयार पारिएको डिजिटल प्रस्तुति सार्वजनिक गरेको छ । यो प्रस्तुति यस बैंकको वेबसाइट तथा फेसबुक लगायतका सामाजिक सञ्जालमा समेत राखिएको बैंकले जनाएको छ ।
हरेक त्रैमासमा बैंकले प्रमुख वित्तीय सूचकांक, कर्मचारीद्वारा लेखिएका विभिन्न लेख रचना तथा बैंकमा भएका विभिन्न गतिविधि समावेश गरेर प्रकाशन गर्दै आएको ई–बुलेटिनको दोस्रो संस्करणको लोर्कापणसमेत यसै अवसरमा गरिएको छ ।
बैंकले आफ्नो १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘सिटिजन्स एक्स्ट्रा फिक्स्ड डिपोजिट’ निक्षेप योजना सार्वजनिक गरेको छ । तीन महिनादेखि १० वर्षसम्मको अवधि तथा एक लाखको न्यूनतम मौज्दातमा यो खाता खोल्न सकिने जनाइएको छ । यस खातामा ८.२५ प्रतिशत व्याजदर उपलब्ध हुने बैंकले जनाएको छ ।
शाखा प्रबन्धकले उक्त व्याजदरमा ०.५० प्रतिशत व्याजदरसम्म थप गर्न सक्ने पनि जनाइएको छ । यस निक्षेप योजनाअन्तर्गत व्यक्तिगत मुद्दति खाता खोल्ने ग्राहकले मुद्दति खाताबाट आर्जित व्याजमासमेत मुद्दति खाता बराबरकै ८.२५ प्रतिशत व्याजदर पाउन सक्नेछन् । यो निक्षेप योजना बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट उपलब्ध हुने जनाइएको छ ।
भर्चुृअली मनाईएको वार्षिकोत्सव कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकमा अनवरत १० वर्ष सेवा प्रवाह गरी ‘दीर्घ सेवा सम्मानपदक’बाट सम्मानित हुने कर्मचारीलाई धन्यवाद दिँदै बधाई तथा शुभकामना दिनुभयो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९४ वटा शाखा, ९४ वटा एटिएम. र १०३ वटा शाखारहित बैंकिङ एकाईहरूबाट करिव पाँच लाखभन्दा बढी ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
सिटिजन्स बैंक इन्टरनेशनले लकडाउनको अवधिमा पनि ग्राहकको सुविधाका लागि नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरू प्रदान गर्दै आएको छ । बैंकले सातै प्रदेशमा रहेका शाखाहरूमध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ सेवा दिँदै आएको छ ।

















