हेटौंडा । सरकारले घोषणा गरेको लकडाउनका कारण पेट्रोलियम पदार्थको बिक्री वितरणमा ८० प्रतिशतले कमी आएको छ । कोरोना भाइरस नियन्त्रण गर्नका लागि गरिएको लकडाउनका कारण सवारी साधन नचल्दा पेट्रोल र डिजेलको ८० प्रतिशतले कमी आएको हो ।
नेपाल आयल निगम अमलेखगञ्ज डिपोमा पेट्रोल र डिपोको मौज्दात पूरा छ । उक्त डिपोको भण्डारण गर्ने डिजेल ट्यांकीमा दुई करोड लिटर डिजेल मौज्दात छ । त्यस्तै पेट्रोल ट्यांकीको क्षमता १९ लाख लिटर रहेको र त्यसमा १८ लाख लिटर पेट्रोल रहेको डिपोले जनाएको छ । बन्दका कारण डिजेल तीनदेखि चार लाख लिटर तथा पेट्रोल दैनिक एक लाख लिटरमात्र बिक्री भइरहेको डिपोका प्रमुख भरत रेग्मीले भन्नुभयो । रक्सोलबाट पाइपलाइनमार्फत आउने डिजेलको काम पनि रोकिएको उहाँले बताउनुभयो ।
राजमार्गको पम्पमा डिजेल र पेट्रोल कमी हुन नदिन त्यस पम्पमा समेत प्राप्त मात्रामा डिजेल र पेट्रोल दिइएको बताइएको छ । अहिले गहँु काट्ने, खेत जोत्ने, बीउबिजन लगाउने र सिँचाइ गर्न समय भएकाले ग्रामीण क्षेत्रमा डिजेलको बिक्री बढेको प्रमुख रेग्मीको भनाइ छ ।
अमलेखगञ्ज डिपोबाट विराटनगर तथा भैरहवा डिपोमा समेत डिजेल पठाइने गरिएको छ । आयल निगम विराटनगर शाखाको डिपोमा पेट्रोल र डिजेलको मोज्दात पूर्णरूपमा रहेको छ । नेपाल आयल निगम भैरहवा डिपोमा पनि पेट्रोलियम पदार्थको मौज्दात पूरा रहेको सो डिपोले जनाएको छ ।

















