धादिङ । स्याउलाले बारेको झुप्रो । यस्तै स–साना झुप्रोभित्र ओत लागिरहेका १२ जनासम्मको परिवार । घरभित्र अन्नपातको नाममा एक बोरा पिठोबाहेक अरु केही देखिन्न । अलि हुने खाने घरमा २०÷२५ झुत्ता मकै झुण्डिएको देखिन्छ । धादिङको गजुरी गाउँपालिका वडा नं ३ का चिलाउने खर्कका चेपाङ समुदायको अवस्था हो यो ।
आफ्नो पाखो बारीमा फलेका अन्नमध्ये अहिले मकैमात्र बाँकी छ । त्यही मकैको खोले बनाएर यहाँका चेपाङ समुदायले बिहान–बेलुकाको छाक टारिरहेको स्थानीय सुक्रिमाया चेपाङ बताउनुहुन्छ ।
धादिङको दक्षिणी भागको महाभारत पहाड क्षेत्रमा रहेका चेपाङ गाउँमा भोकमरी सुरु भएको हो । आफ्नो पाखो बारीमा भएको उब्जनी सकिएको र बाहिर गएर काम गर्न पनि नपाएपछि चेपाङ समुदायमा भोकमरी सुरु भएको हो ।
सुक्रिमाया चेपाङ २४ वर्षकी हुनुभयो । उहाँका पाँच सन्तान छन् । दैनिक आफ्ना छोराछोरीसहित जंगलमा गएर घाँस दाउरा गर्नु, कन्दमूल खोज्नु र सिस्नु टिपेर ल्याउनु अहिले उहाँको दैनिकी बनेको छ । ‘सिस्नुको खोले नभए त मरिन्छ नि,’ उहाँ भन्नुहुन्छ, ‘गाउँमा खानेकुरा छैन ।’
यो समस्या चिलाउने खर्कका चेपाङहरूकोमात्र नभई महाभारत पहाड क्षेत्रमा बसोबास गर्ने अधिकांश चेपाङ समुदायको हो । उनीहरूको घरमा यतिबेला खाद्यान्न संकट देखिएको छ । शहरमा बस्नेका लागि त एक दिन सिस्नु खाँदा रमाइलो लाग्छ तर सधँै खोले खाएर तागत नै नआउने र बिरामी भएजस्तो हुने गरेको प्रेममाया चेपाङले गुनासो गर्नुभयो ।
चेपाङहरूको धेरैथोरै पाखोबारी सबैको छ तर भदौताका भिœयाएको मकै र दशैंपछि भिœयाएको कोदो पनि सकिएको छ । घरमा भएको अन्नपात सकिएपछि ज्याला–मजदुरी गरेर किनेर खान थालेको भए पनि देशमा चलिरहेको लकडाउनले चेपाङहरूलाई थप समस्या पारेको छ ।
पाखोबारीमा भएको उब्जनीले ६ महिना पनि खान नपुग्ने उनीहरूको गुनासो छ । बाँकी ६ महिना ज्याला–मदजुरी गरी किनेर खाने चेपाङहरूमा लकडाउनका कारण बजार क्षेत्रमा काम गर्न जान नपाउँदा भोकै पो मरिने हो कि भन्ने चिन्ता थपिएको छ ।
गजुरी गाउँपालिकाले पनि यी र यस्तै समस्यामा परेका परिवारहरूको लागि भनेर खाद्यान्न वितरण गर्नको लागि फुड बैंक संचालन गरेको छ, तर त्यो पनि प्रभावकारी देखिएको छैन । लकडाउनकै कारण गाउँपालिकाभित्र रहेका कसैलाई पनि भोकै मर्न नदिने गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत बताउनुहुन्छ । चेपाङ समुदाय भने आफूहरूले अहिलेसम्म कुनै राहत नपाएको बताउँछन् ।
फागुन महिनादेखि असारसम्म चेपाङ गाउँमा अनिकाल लाग्छ । यो बीचमा काम गर्नसक्नेहरू दैनिक ज्याला–मजदुरी गरेर जसोतसो आफ्नो प्राण धान्ने गर्दछन् । यस वर्ष खाद्यान्न संकट सुरु हुन थालेसँगै देशभर भएको लकडाउनले सबैभन्दा बढी मार यी विपन्न चेपाङहरूलाई परेको छ ।
सरकारले धादिङमा गाउँपालिका मार्फत २०३६ सालदेखि चेपाङ विकास कार्यक्रम सञ्चालन गरे पनि यो कार्यक्रमको प्रभाव यहाँ परेको छैन । सरकारले सञ्चालन गरेको गरिबी निवारण कार्यक्रमको पनि यहाँ कुनै प्रभाव देखिएको छैन । विभिन्न संघसंस्थाले गरेको भनेको कार्यक्रम त गाउँसम्मै नपुगी फर्कने गरेको उनीहरूको गुनासो छ ।



















