सडकमा पैसा फालेर फरार महिला पक्राउ

जनकपुरधाम । जनकपुरधामस्थित महावीर चोकमा सडकमा पैसा फाल्दै हिड्ने दुई महिलालाई शनिबार धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकी दुई महिलामध्ये एक जनामा कोरोना संक्रमण देखिएको छ । ती महिलाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो । 

कोरोना भाइरस संक्रमणको संत्रासकाबीच पैसा फालेर फरार भएको भनिएको महिलालाई नियन्त्रणमा लिई प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परीक्षणमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ । नियन्त्रणमा लिइएका दुवैजनाको पिसिआर टेस्ट पनि भइरहको बताइएको छ । पिसिआर टेस्ट रिपोर्ट आइतबार आउने बताइएको छ ।

शुक्रबार दिउँसो महावीर चोकमा पैसा फालेर फरार भएको भन्दै सिसिटिभी फुटेजको आधारमा जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगरकी आमुना खातुन र अलिना खातुनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार नियन्त्रणमा लिइएका दुबैजना नन्दभाउजु हुन् । शनिबार दिउँसो मस्जिद पछाडि लुकेर बसेको अवस्थामा दुवैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।