सीमापारी रहेका नेपाली भन्छन् : नागरिकता र लापुर्जाबाट नाम हटाइदेऊ

बैतडी । ‘सरकारले नागरिकताबाट हाम्रो नाम हटाउनु प¥यो, मेरो परिवारलाई पनि यतै पठाइदिनु प¥यो, कि त आफ्नो भूमिमा हामीलाई जान दिनु प-यो ।’ यो भनाइ बझाङको बित्थडचिर गाउँपालिका वडा नं ४ देउलेक धामी गाउँका गम्बे धामीको हो । धामीलगायत २२ दिनदेखि बैतडीको सीमापारी झुलाघाटको क्वारेन्टाइनमा बैतडी, बझाङ लगायतका अढाई सय नेपाली बसेका छन् । क्वारेन्टाइनमा बसेको तीन हप्ता हुँदा पनि सरकारले घर फर्काउन कुनै पहल नगरेको उनीहरूको गुनासो छ । 

‘यहाँको क्वारेन्टाइनमा न खाना समयमा पाइन्छ, न बास बस्न नै राम्रो छ,’ धामीले भने, ‘कोचिएर एउटै कोठामा ४० जना बसेका छौँ ।’ सरकारले उद्धार गरेर लगेमा आफ्नै देशको क्वारेन्टाइनमा महिनौँ बस्न तयार रहेको उनको भनाइ छ । 

‘घरपरिवार र आफ्ना लालाबालाको पेट पाल्न रोजगारी खोज्दै यहाँ आयाँै,’ बैतडीको दोगडाकेदार गाउँपालिकाका हरिशप्रकाश भट्टले भने, ‘अहिले हामी यो अवस्थामा छौँ, कसले बुझिदिने हाम्रो कुरा ?’

लकडाउन अचानक सुरु भएपछि आफुले काम गरेको पैसासमेत नपाएको उनले दुःखेसो छ ।

सर्वोच्च अदालतले सीमामा फसेका नेपालीलाई स्वदेश फर्काउन आदेश दिएको भए पनि कार्यान्वयन हुन नसकेको भट्ट बताउँछन् । ‘सर्वोच्चले त हामीजस्तालाई स्वदेश ल्याउन सरकारलाई भनेको छ रे, तर हामीलाई अझै लगिएन,’ उनले भने ।

भारतीय क्वारेन्टाइनमा बसेका नेपालीहरूले पटकपटक आफ्नै भूमिमा जान दिन आग्रह गरे पनि सुनुवाइ भएको छैन । यसबारे सरकारको निर्देशन र अर्को निर्णय नभएसम्म अहिले उद्धारका लागि कुनै कदम चाल्न नसकिने जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।