काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित दोस्रो व्यक्ति उपचारपछि निको भएर शनिबार डिस्चार्ज हुनुभएको छ । चैत १० गते कोरोना पुष्टि हुनुभएकी काठमाडौंकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा वार्डमा उपचाररत हुनुहुन्थ्यो । उहाँ २७ दिनपछि कोरोना जितेर शनिबार टेकु अस्पतालबाट डिस्चार्ज हुनुभएको हो ।
सबै रिपोर्ट नेगेटिभ आएपछि उहाँलाई डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । श्रेष्ठ चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आउनुभएको हो । फ्रान्सबाट कतारको दोहासम्म सँगै आएको भियतनामी साथीले फोन गरेर आफूलाई संक्रमण रहेको बताएपछि परिवारका सदस्यले उहाँलाई टेकु अस्पताल ल्याएका थिए । श्रेष्ठ नेपाल आएपछि संक्रमण भएको पत्तो लाग्नासाथ सरकारले नेपालमा अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो ।
उहाँले डिस्चार्जपछि डाक्टरहरुलाई धन्यवाद दिँदै आफूले पनि अब अन्य कोरोना संक्रमित बिरामीको उपचारमा सहयोग गर्ने बताउनुभएको छ । उहाँले संक्षिप्त कुरा गर्दै आफ्नो रगत कोरोना बिरामीलाई काम लाग्ने भए दिनसमेत तयार भएको प्रतिक्रिया दिनुभयो । उहाँले संक्रमण भएपछि नहड्बडाउन र नआत्तिन आग्रह गर्नुभएको छ । आत्मविश्वास र दृढ इच्छाशक्तिले नै कोरोना भाइरसमाथि विजय पाउन सम्भव हुने बताउँदै उहाँले आफ्नो उपचारमा सहयोग गर्नुहुने सबै चिकित्सक र स्वास्थ्कर्मी एवं अस्पताल प्रशासनप्रति आभार व्यक्त गर्नुभएको छ ।
यसैगरी मन्त्रालयले श्रेष्ठको परिवारलाई पनि मापदण्डअनुसार क्वारेन्टाइनमा राखेर टेस्ट गरेको जनाएको छ । श्रेष्ठको परिवारमा कसैको पनि रिपोर्ट पोजेटिभ नआएपछि घर फकाईएको बताएको छ । शनिबारको परीक्षणमा पनि श्रेष्ठको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पताललका प्रवक्ता डा.अनुप बास्तोलाले बताउनुभयो ।
नेपालमा पहिलोपटक कोरोना भाइरसको उद्गम स्थल चीनको वुहानबाट फर्कनुभएका ३२ वर्षीय पुरुषमा माघ १० गते कोरोना पोजिटिभ देखिएको थियो । उहाँ पनि निको भएर घर फर्किसक्नुभएको छ । यो कोरोनाविरूद्ध नेपाली चिकित्सकहरुको लागि दोस्रो सफलता हो । अहिले टेकु अस्पतालमा धादिङका संक्रमित युवा उपचाररत हुनुहुन्छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा सफल उपचार गराएर दुई जना डिस्चार्ज भएसँगै नेपालभित्रै पनि कोरोनाको सफल उपचार हुने अवस्था देखिएको छ । यसबाट जनमानसमा केही आशा पलाएको छ ।
अस्पतालका निर्देशक डा सागरराज भण्डारीका अनुसार संक्रमित युवती पूर्ण स्वस्थ भएर घर फर्किनुभएको हो । ४८ घण्टामा दुई पटक कोभिड–१९ परीक्षण नेगेटिभ आएका कारण बिरामीको सबै अवस्था राम्रो भएको पाइएपछि उहाँलाई घर फर्काइएको डा. भण्डारीको भनाइ छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट संक्रमित युवतीको उपचारमा संलग्न चिकित्सक टोलीलाई बधाई दिनुभएको छ ।
शनिबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसबाट पूर्णरुपमा स्वस्थ भई घर फर्किएकी ती युवतीको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बद्ध सबैलाई बधाई तथा धन्यवाद दिनुभएको हो ।
यसैबीच बागलुङकी ६५ वर्षीया वृद्धा पनि कोरोना संक्रमणबाट मुक्त हुनुभएको छ । दुई हप्तासम्म घरमै क्वारेन्टाइनमा बस्ने गरी उहाँलाई शनिबार साँझ धौलागिरी अस्पतालले डिस्चार्ज गरेको छ ।
स्वाब परीक्षण रिपोर्टमा ‘नेगेटिभ’ आएपछि उहाँलाई अस्पताल व्यवस्थापन समिति, जिल्ला सुरक्षा समिति र चिकित्सकको टोलीको बैठकले उहाँलाई डिस्चार्ज गर्ने निर्णय गरेको हो । स्वाबको तेस्रो परीक्षण रिपोर्टसमेत नेगेटिभ आएकाले उहाँलाई घर पठाइएको अस्पताल प्रशासनले जनाएको छ ।
उहाँ चैत १९ देखि उक्त अस्पतालको आइसोलेसनमा रहेर उपचार गराउँदै आउनुभएको थियो । उहाँ गत चैत ४ गते विदेशबाट कतार एयरवेजको विमानमा काठमाडौँ आउनु भएको थियो । बेल्जियममा छोरीज्वाई भेट्न जानु भएको उहाँ दुई साताको बसाईपछि नेपाल फर्कनु भएको थियो । काठमाडौंबाट घर फर्कने क्रममा उहाँसँगै नेपालकै पाँचौं कोरोना संक्रमित युवती पनि सँगै हुनुहुन्थ्यो । ती युवती धौलागिरी अस्पतालमै उपचाररत हुनुहुन्छ । उहाँको चौथो पटकको स्वाब परीक्षण रिपोर्टसमेत ‘पोजेटिभ’ आएको छ ।



















