सामाजिक दूरी र कोरोना भाइरस संक्रमण रोकथाम बारे विशेष जानकारी।

[सामाजिक दूरी र संक्रमण रोकथाम]

मानिस-मानिस बीचको भौतिक दूरी वा सामाजिक दूरीलाई २ मीटर जति कायम राख्न सकियो भने कोभिड-१९ को संक्रमणलाई रोक्न सकिने अध्ययनमा देखाइएको छ। ( University of California, San Diego ) का एक प्राध्यापकको अनुसन्धानले बताए अनुसार तलको चित्रमा पनि कोरोना रोकथाम बारे देखाइएको छ

१. सामाजिक दूरी कायम नगरी मानिस स्वच्छन्द रूपले सधैं झैं हिँडडुल गर्ने हो भने एक संक्रमित बिरामीबाट ५ दिनमा २.५ जनालाई भाइरस सरी ३० दिनमा ४०६ जनामा संक्रमित हुने छन्।

२. मानिस-मानिस बीचको संसर्गलाई ५०% ले घटाउन सकियो भने एक संक्रमित बिरामीबाट ३० दिनमा जम्मा १५ जनामा मात्र सर्नसक्ने छ।

३. त्यस्तै गरि मानिस-मानिस बीचको संसर्गलाई ७५% ले घटाउन सकियो भने एक संक्रमित बिरामीबाट ३० दिनमा जम्मा २.५ जनामा मात्र सर्ने सम्भावना रहने छ।

मलेसिया,जापान,लगायत अन्य मुलुकमा अहिले लागू गरिएको आपत्कालीन व्यवस्थाले मानिस-मानिस बीचको संसर्गलाई ७०-८०%को हाराहारीमा राखेर एक महिना भित्रमा नयाँ संक्रमणलाई न्यून पार्ने योजना बनाइएको छ।

अहिले धेरै प्रयोग गरिने तीन शब्दहरूः सोसल डिस्टान्सिंग (सामाजिक दूरी), क्वारन्टीन (नेपालीमा के भन्ने?) र आइसोलेशन (एकान्तवास, मेरो आफ्नै रूपान्तरण) का बारेमा जानकारी गराउँ है।

सामाजिक दूरी भनेको मानिस-मानिस बीचको भौतिक दूरी न्यूनतम २ मीटर कायम राख्नु हो। यसका लागि भीडभाडमा जानु हुँदैन, बन्द कोठामा धेरै जना जम्मा भएर कुनै कार्यक्रम गर्नु हुँदैन।

क्वारेन्टाईन र आइसोलेशनको अर्थ उस्तै लागे पनि सानो फरक छ। भाइरसबाट संक्रमित भइसकेको शङ्का लागेको खण्डमा निश्चित अवधिसम्म बाहिरी नगई एकै ठाउँमा रहनुलाई क्वारन्टीन भनिन्छ भने भाइरसबाट संक्रमित भइसकेको लक्षण देखिएपछि कुनै एक कोठामा अन्य मान्छेबाट अलगै बस्नुलाई आइसोलेशन भनिन्छ।

हामी मलेसिया र जापानमा भएका नेपाली लगायत नागरिकहरु मिलेर अहिले सामाजिक दूरी कायम राख्ने सजिलो अवस्थामा छौं। हेलचेक्याइ नगरी सामाजिक दूरी कायम राखौं। कोरोनाबाट आफूपनि बचौ र अरुलाई पनि बचाऔँ ।