म्याग्दी र बागलुङका नाकामा कडाइ : सीमा क्रस गर्नेलाई ५ हजार जरिवाना

म्याग्दी । कोराना भाइरस (कोभिड १९) को जोखिम न्यूनीकरण गर्न म्याग्दी र बागलुङको सीमानामा कडाइ गरिएको छ । सीमा नाकामा पर्ने म्याग्दीको मंगला गाउँपालिका–५ का वडा अध्यक्ष भुपेन्द्र खत्री र बागलुङको ताराखोला गाउँपालिका–४ का वडा अध्यक्ष जीतबहादुर खत्री लगायत स्थानीय जनप्रतिनिधिहरुको संयुक्त बैठकले सीमाबाट आवतजावत गरेको पाइएमा रु ५ हजार जरिवाना सहित १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो । म्याग्दीको मंगला र बागलुङको ताराखोला गाउँपालिकाले दुईवटै स्थानीय तह जोड्ने देउरालीको सीमानामा आवतजावत गर्नेलाई क्वारेन्टाइन र ५ हजार नगद जरिवाना गर्ने निर्णय भएको मंगला गाउँपालिका ५ का वडाअध्यक्ष भुपेन्द्र खत्रीले जानकारी दिनुभयो ।

बैठकले गोरेटो र मोटरबाटोमा आवतजावत गर्न नदिने, निर्णयको अवज्ञा गरी लुकिछिपी हिड्नेलाई आफ्नै खर्चमा १४ दिन क्वारेन्टाइनमा बस्नुका साथै रु पाँच हजार जरिवाना गरिने मंगला गाउँपालिकाका योजना शाखाका कर्मचारी सिजन रोकाले बताउनु भयो । साथै बागलुङ तर्फबाट बिभिन्न नाकाबाट पैदल यात्रा मार्फत म्याग्दी प्रवेश भइरहेको गुनासोपछि अनुगमन र निगरानी थालिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।