‘एजेन्ट’लाई कसिमन नदिन पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं । नेपाल वायुसेवा निगमको ‘चार्टर्ड फ्लाइट’ बापत एजेन्ट खडा गरी कसिमन लिएको भन्ने समाचार प्रकाशमा आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एजेन्टलाई त्यस्तो कमिशन नदिन निगम नेतृत्वलाई निर्देशन दिनुभएको छ । अष्ट्रेलियन दूतावासले आफ्ना २७४ नागरिकलाई स्वदेश लैजानका लागि चैत १९ गते गरेको निगमको ‘चार्टर्ड फ्लाइट’का लागि बोन ट्राभल्सलाई एजेन्टका रुपमा घुसाइएको तथ्य प्रकाशमा आएको थियो । कमिसनकै लागि यसरी एजेन्ट घुसाइएको तथ्य प्रकाशमा आएपछि मन्त्री भट्टराईले यस्तो निर्देशन दिनुभएको हो । उहाँले कमिसनबापतको भुक्तानी हाललाई रोक्न निगमलाई निर्देशन दिनुभएको हो । निगमका निमित्त महाप्रबन्धक गणेशबहादुर चन्द र कमर्सियल डिपार्टमेन्टका निर्देशक टङ्कनिधि दाहाललाई पर्यटनमन्त्री भट्टराईले एजेन्टलाई कमिसनबापतको भुक्तानी हाललाई रोक्न निर्देशन दिँदै एजेन्ट घुसाइएको विषय स्पष्ट पार्न आग्रह गर्नुभएको छ । उक्त सम्बन्धमा निगमको वाणिज्य विभागले भने अष्ट्रेलियन दूतावासले नै चार्टर्ड सेवा सहजीकरणका लागि बोन ट्राभल्सलाई एजेन्ट नियुक्तिका लागि लेखेको पत्रका कारण बोन ट्राभल्सलाई ‘एजेन्ट’ तोकिएको जानकारी गराएको थियो । तर मन्त्री भट्टराईले एजेन्ट घुसाएको विषयमा सबै तथ्य र प्रक्रिया स्पष्ट पार्न भन्नुभएको छ ।

यसअघि निगमको चार्टर्ड फ्लाइटमा ट्राभल एजेन्सी घुसाएर रु २७ लाख रुपैयाँ भन्दाबढी नोक्सानी गरेको समाचार प्रकाशन भएको थियो । लगत्तै मन्त्री भट्टराईले तत्कालै निगमका नेतृत्वलाई बोलाएर यो विषय स्पष्ट पार्न निर्देशन दिनुभएको थियो । नियतबस एजेन्ट घुसाएर अनियमितता गरिएको भए यसमा संग्लनलाई कारवाहीको दायरामा ल्याउने चेतावनी पनि मन्त्री भट्टराईले दिनुभएको छ । यही चैत १९ गते बुधबार निगमको जहाज काठमाडौँबाट अष्ट्रेलियन नागरिक बोकेर अष्ट्रेलियाको ब्रिसबेन उडेको थियो । नेपाल एअरलाइन्सले प्रतिघण्टा १८ हजार १०० डलरका दरले शुल्क लिएको छ ।