काठमाडौं । कोरोना भाइरस भित्रिन नदिनका लागि सरकारले विदेशबाट आउने यात्रुमा कडाइ गरेसँगै ३५ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फिर्ता पठाइएको अध्यागमन कार्यालयले जनाएको छ । विभिन्न मुलुकबाट आएका उनीहरूलाई तोकिएको मापदण्ड पूरा नगरेको पाइएपछि अध्यागमनले नेपाल प्रवेश गर्न रोक लगाउँदै फिर्ता पठाएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार विदेशबाट आउने जोसुकैले पनि नेपाल आइपुग्ने मितिले बढीमा सात दिन अघि स्वाब परीक्षण गरेको रिपोर्ट पेस गर्नुपर्ने हुन्छ । कोरोना परीक्षणबारे स्वाब रिपोर्टसहित सम्बन्धित देशमा रहेको नेपाली कन्सुलर सेवाबाट भिसा लिएर मात्र नेपाल प्रवेश गर्न दिने व्यवस्था गरिएको भए पनि ३५ जनाले स्वास्थ्य परीक्षणको रिपोर्ट पेश नगरेका कारण उनीलाई फिर्ता पठाइएको सो कार्यालयले जनाएको छ ।
सरकारले फागुन २६ गते ८ वटा देशबाट नेपाल आउनेका लागि मात्र स्वास्थ्य परीक्षण रिर्पोट चाहिने निर्णय गरेको थियो । चैत १ गतेबाट सबै देशबाट नेपाल आउनेका लागि यो नियम लागू गरिएको छ । गैरआवासीय नेपाली र काम विशेषले नेपाल प्रवेश गर्न चाहनेले यो नियम अनिवार्य पालना गर्नुपर्ने हुन्छ ।
अध्यागमन कार्यालयका प्रमुख सागर आचार्यले कोरोना परीक्षणको रिपोर्ट नल्याउनेलाई सम्बन्धित देशमै फिर्ता पठाउने गरिएको बताए । ‘स्वास्थ्य परीक्षण रिपोर्ट नहेरी दूतावासले भिसा दिँदैन तर, साथमा रिपोर्ट नल्याएकालाई विमानस्थलबाटै फिर्ता गरिन्छ,’ उनले भने ।
यसरी फिर्ता जानेमा गैरआवासीय नेपाली संघमा आबद्ध नेपाली मूलका विदेशी नागरिक पनि छन् । गैरआवासीय नेपालीले पनि सात दिन अघिसम्मको स्वाब रिपोर्टसहित सम्बन्धित देशमा उपलब्ध नेपालको कन्सुलर सेवाबाटै भिसा लिनुपर्ने व्यवस्था गरिएको अध्यागमन कार्यालयले प्रष्ट पारेको छ ।
हालसम्म स्वास्थ्य परीक्षणको रिपोर्ट देखाउन नसकेका कारण विमानस्थलबाटै फिर्ता जानेमा सबैभन्दा धेरै फ्रान्सका नागरिक छन् । फ्रान्सबाट आएका ६ जनालाई विमानस्थलबाट फिर्ता पठाइएको अध्यागमन कार्यालयले जनाएको छ । यस्तै, चीन र बेलायतबाट आएका ५÷५ जना, जापानबाट आएका ४ जनालाई पनि स्वास्थ्य जाँचको रिपोर्ट नभएका कारण फिर्ता पठाइएको छ ।
अध्यागमन कार्यालयको तथ्यांकअनुसार नेदरल्याण्डबाट आएका ३ जना, इटली, इजरायल र चेक रिपब्लिकबाट २÷२ जना तथा हङकङ, अमेरिका, मेक्सिको, अफगानिस्तान, अष्ट्रेलिया र मलेसियाबाट आएका १÷१ जनालाई पनि फिर्ता पठाइएको छ ।
कोरोना रोकथाममा कांग्रेसद्वारा ध्यानाकर्षण
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारलाई कोरोना भाइरसको संक्रमणबाट नागरिकलाई जोगाउनका लागि गम्भीर भएर काम गर्न सजग गराएको छ ।
सभापति शेरबहादुर देउवाले सोमबार कोरोना जोखिमप्रति विशेष सतर्कताका लागि अपिल गर्दै संक्रमणबाट नागरिकलाई जोगाउन युद्धस्तरमा कार्य गर्न सरकारको प्रभावकारिता नदेखिएको आरोप लगाए ।
‘कोरोना भाइरस अर्थात् कोबिड–१९ ले विश्वव्यापी रूपमा महामारीको रूप लिइसकेको स्थितिमा नेपालले अपनाउनुपर्ने सतर्कताबारे हामी सबै गम्भीर छौं,’ उनले भनेका छन्, ‘जोखिम सामना गर्न सरकारलाई हाम्रो सम्पूर्ण साथ रहने घोषणा हामीले गरिसकेका छौं । तर, युद्धस्तरमा कार्य गर्न सरकारको प्रभावकारिता नदेखिएकोमा सरकारलाई गम्भीर भएर कार्य गर्न सजग गराउँदछु ।’
कांग्रेसले सीमा नाकामा प्रभावकारी र भरपर्दो कडाइ हुन नसक्दा कुनै पनि समय संक्रमण नेपाल भित्रिन सक्ने खतरासमेत औंल्याएको छ । सीमा नाकामा प्रभावकारी बन्दोबस्तका लागि सरकारलाई गम्भीर भएर काम गर्न पनि कांग्रेसले अपिल गरेको छ ।
सम्भावित जोखिम सामनाका लागि दक्ष जनशक्ति तयार राख्न, जरुरी उपकरणहरूदेखि आइसोलेसन वार्ड, वैकल्पिक क्वारेन्टाइनहरू तथा आइसियुसम्मको अभाव हुन नदिन सरकारले युद्धस्तरमा कार्य गर्नुपर्ने कांग्रेसको भनाइ छ ।
सभापति देउवाले अफवाह चिर्दै वास्तविक सूचना सम्प्रेषण गर्ने कर्तव्य राज्यको भएको भन्दै अत्यावश्यक खाद्यान्नको थप मूल्य वृद्धिसँगै कालोबजारी फस्टाएको प्रति सरकारको ध्यानाकर्षणसमेत गराए । ‘बजारमा सरकारका सम्बन्धित निकायहरूको उपस्थितिबाट उपभोक्ताको हित संरक्षण जरुरी रहेको आवश्यकता औंल्याउन चाहन्छु,’ उनले भनेका छन् ।
सार्वजनिक सेवाको क्षेत्रमा क्रमशः असर पर्दै जाने संकेत दृष्टिगत गरेर सरकारले समयमै आवश्यक रणनीति निर्माण गर्न जरुरी देखिएको सभापति देउवाको भनाइ छ । कोरोनाको त्रासका कारण पर्यटन क्षेत्र प्रत्यक्ष मारमा परेको, कतिपय उद्योग र अन्य व्यावसायिक क्षेत्रले संक्रमण पूर्वको असर भोग्नुपरेको भन्दै कांग्रेसले सरकारलाई समग्र निजी क्षेत्रको मनोबल उच्च राख्न बैंक कर्जाको ब्याजदर घटाउन तथा ऋण चुक्ताको समयावधि थप्न पनि आग्रह गरेको छ ।
कांग्रेसले सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने स्थिति आएमा गरिबीको रेखामुनि रहेका, न्यून आय भएका नागरिक एवं दैनिक ज्यालादारीबाट जीवन गुजारा गरिरहेकाहरूलाई अत्यन्तै कष्टकर अवस्था बन्ने देखिएको प्रति सरकारलाई सचेत पार्दै उनीहरूका लागि राहतको योजना ल्याउनसमेत माग गरेको छ ।
कांग्रेसले विद्यार्थीहरूको शैक्षिक भविष्यलाई असर नपर्ने गरी जोखिमबाट विद्यार्थीहरूलाई जोगाउन आवश्यक निर्णय र सतर्कताका लागि सरकारको ध्यानाकर्षण गराएको छ । स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीलाई कोरोनाबाट सतर्क रहन र एक भएर सामना गर्न पनि कांग्रेसले अपिल गरेको छ ।




















