काठमाडौं:= गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ निर्माण गरिएको हाँस्यकलाकार एवं सामाजिक अभियन्ताहरु सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरेको चलचित्र ‘सेन्टी भाइरस’ ले राम्रो कमाइ गरिरहेको छ।
चलचित्रले दोश्रो साताको शनिबारसम्म आइपुग्दा ४ करोड ग्रस कलेक्शन गरेको छ । चलचित्रले काठमाण्डौमा २ करोड १० लाख ३ हजार र काठमाण्डौ बाहिर १ करोड ९० लाख ५ हजार ग्रस कलेक्शन गरेको काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर वितरक गोविन्द शाही र सिताराम कट्टेलले जानकारी दिए ।
चलचित्रको कुल लगानी २ करोड ८५ लाख हो । जसमा ओभरसिज १ करोड १५ लाखमा विक्री गरेको थियो भने ४५ लाख यसको डिजिटल राइट्स थियो ।चलचित्रमा धुर्मुस-सुन्तलीसँगै दयाहाङ राई, बुद्धि तामाङ, विल्सन बिक्रम राई, कमलमणि नेपाल, राजाराम पौडेल, वसन्त भट्ट, सूर्यमाला खनाल लगायतको अभिनय देख्न सकिन्छ।
रामबाबु गुरुङको निर्देशनमा रहेको चलचित्र ‘सेन्टी भाइरस’मा राजनराज शिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ ।
यस्तै डिन्डु लामा निर्माताको रुपमा रहँदा फूर्पा लामा सह–निर्माताको रुपमा छन् ।



















