कण्ठे सुगाले आफ्नी ठुस्केर बसेकी स्वास्नी लालचुच्चीसँग चुच्चो जोडेर इत्रिदै भन्यो ‘चुच्चू ! बैसमा त तिमी मेरो कण्ठको मधुर गीत सुनेर खुबै मस्किन्थ्यौ त ! अहिले तिम्रो अधबैसे खसमले केही बोल्दा ठुस्किहाल्छेउ’ कर्के आँखा पार्दै लालचुच्चीले पनि जवाफ फर्काई ‘मलाई बिहा गर्नुअघि भुतुक्कै हुँदै कर्के आँखाले मेरो रातो चुच्चो हेर्दै तिमी पनि त मेरा लागि आकाशको तारा झारिदिउँलाझैँ गरेर मेरो छेउमा लेपासिन्थ्यौ नि । तिमी अहिले सुत्केरी स्वास्नीका लागि जाबो एउटा फल टिपेर ल्याइदेऊ भन्दा आनाकानी गर्छौ । पल्लागुँडे घोरल सुगाकी छोरीले भनेको भए त ल्याइदिन्थ्यौ होला नि ¤’
लोग्नेस्वास्नीको छेड्खानीपश्चात् मसक्क मस्कँदै कण्ठे भुरुरु उडेर फलको खोजीमा निस्कियो । लालचुच्ची प्याउलिँदै अर्धमुस्कानसहित आफ्नो सिमलको टोड्के गुँडभित्र छि¥यो । भोकले च्याँ च्याँ गरिरहेका आफ्ना बचराहरू कल्की र लाम्पुच्छ«ेलाई आफ्ना पखेटाले ढाकेर मातृस्नेहको स्पर्शद्वारा कण्ठेले फल लिएर फर्की नआउञ्जेल शान्त गराउने कोसिस गरिरहेकी थिई । आफ्नो लोग्ने गएको धेरैबेरसम्म पनि घर फर्की नआउँदा लालचुच्ची आत्तिन थाली ।
ऊ हस्याङफस्याङ गर्दै गुँडबाट बाहिर निस्किएर सिरसिर बतासले तलमाथि हल्लाएको सिमलको हाँगोमा बसेर सोइसोइला खेल्दै चारैतिर हेर्न थाली । गोधुली साँझको बेला डाँडापारि रक्तिम आकाश र क्षितिज चुम्बनमा व्यग्र थिए । सिन्दुरी आकाशको पृष्ठभूमि छिचोल्दै पन्छीहरू आफ्ना गुँडमा फर्किन व्यस्त थिए । कण्ठे पँखेटा फट्कार्दै आफ्नो परिवारका लागि खानाको जोहो गर्दै मुखमा भेट्नोसहितको एउटा ठूलो फल लिएर गुँडमा आइपुग्यो ।
आफ्नी प्यारीलाई पुलुक्क हेरेर मस्कँदै कण्ठे टोड्कोभित्र पस्यो । आपूmसहित त्यो फल खाएर कण्ठे र लालचुच्चीले मिलेर आफ्ना बचराहरूलाई अघाउनेगरी फल ख्वाए । बचराहरूलाई दुवैले आफ्ना पँखेटाले ढाकेर सपरिवार निदाए । घरमूली कण्ठे आफ्नो परिवारका लागि खानेकुराको खोजीका साथसाथै चिल, गिद्दजस्ता आकाशे सिकारीको आक्रमणबाट आफ्ना सन्तानलाई जोगाउन सतर्कता अपनाउँथ्यो ।
एकदिन लालचुच्ची दिउँसो घाम ताप्न टोड्काबाट बाहिर निस्किएर सिमलको हाँगामा बसी । पल्लोरुखे छिमेकिनी चिभेनी भाउजू आफ्ना खसमसँग रुखको हाँगामा सोइसोइला खेल्दै प्रेमालापमा मस्त थिई । तल्लो रुखको डालीमा एउटी नवयौवना सुनपुच्छ«ी सुगी एउटा युवा सुगासँग लुकीलुकी पिरतीको अँगालोमा टम्म बाँधिएकी थिई र लालचुच्चीलाई देखेर लाजले भुतुक्क हुँदै पुर्वतिर भुरुरु उडी ।
उसको बिहे त्यही परको विशाल पलाँसको रुखमा भएको थियो । बिहेमा विविध गोत्रका छिमेकी सुगाका साथसाथै ढुक्कुर, जुरेली, डाँफे, परेवा, भँगेराजस्ता परजातीय पन्छी पनि आमन्त्रित थिए । रंगीचंगी फूलहरूले सजिएको विशाल पलाँसका हाँगामाथि पाहुनाका बीचमा कण्ठे र ऊ बसेका थिए । विविध फल चुच्चामा च्यापेर कोसेली ल्याएका आमन्त्रित चराहरूको संगीतमय चिरिबिरीले बिहेको शोभा अझै बढाएको थियो ।
पल्लो रुखका चकचके बाँदर पनि विशाल चरागण देखेर शान्त भएर बिहेको माहोल हेरिरहेका थिए । सिम्रिकी साँझमा जंगलमा तिखो स्वरमा फ्याउरो कराएको आवाजले लालचुच्चीको पूर्वदीप्ति भंग भयो । झल्यास्स भएर उसले आफ्ना बचेरा र पोइलाई सम्झी । कण्ठे पनि खानाको जोहोसहित सायंकालीन गुलावी बादल छिचोल्दै आफ्नी जोई बसेको हाँगामा फ्यात्तै बस्यो । दुवैजना मुस्कुराउँदै बचराहरू भेट्न आतुर भए र भुरुरु उडेर आफ्नो टोड्केघरभित्र छिरे । त्यहाँको माहोल देखेर उनीहरू अर्धमूर्छित भए किनकि सुगाजोडीका प्राणप्यारा भुराहरू आफ्नो गुँडबाट गायब थिए ।
बिचरा कण्ठे र लालचुच्चीका काखे भुराहरू आफ्नो घरबाट चोरिएर एउटा साहुको घरमा पालिनका लागि पुगे । नाबालक कल्की र लाम्पुच्छे«लाई साहुको घरमा बडो स्नेहका साथ दूधभात र फल खुवाएर पाल्न थालियो । हेर्दाहेर्दै दुवैका शरीर चित्ताकर्षक हरिया र सुनौला प्वाँख र भुत्लाले ढाक्न थाले । सुन्दर राता चुच्चा बाएर मधुर कण्ठले च्याँच्याँ गर्दा साहुको महलमा सांगीतिक मधुरता गुञ्जिन्थ्यो ।
समयसँगै उनीहरू तरुणावस्थाको संघारमा उभिन थाले । पखेटा फट्फटाएर उड्ने कोसिसमा उनीहरू घरबाहिर पनि निस्किन थाले जसले गर्दा साहुलाई यिनीहरू बाहिर भाग्ने पो हुन् कि या कसैले उनीहरूलाई चोरेर पो लाने हो कि भन्ने आशंका हुन थाल्यो । उनीहरूलाई बार्दलीमा पिँजडाभित्र थुनेर राख्न थालियो ।
उनीहरूले आफ्ना बच्चाहरूलाई सबैतिर खोजे तर भेटेनन् । सन्तान वियोगको पीडामा जलिरहेका कण्ठे र लालचुच्ची हरबखत रूखको डालीमा बसेर आफ्नो उजाडिएको टोड्के गुँडतिर हेर्दै बलिन्द्र आँशुका धारा बगाइरहन्थे ।
यता बेघर बनाइएका निर्मल गगनका निर्भय पन्छीहरूलाई परपीडक मनुजले पिँजडाको कारागारमा कैद गरेको थियो । बार्दलीमाथिको नीलगगनमा उडिरहने पन्छीझुण्ड देख्दा उनीहरू पिँजडाभित्रबाटै पखेटा फिँजाई उड्ने कोसिस गर्थे तर लौहकोठरीको बारले उनीहरूको इच्छा रोकिदिन्थ्यो । विवश पन्छीहरू आफ्ना स्वजातीय उभयचरसँग क्याँ–क्याँ गर्दै हारगुहार गर्थे तर उनीहरूको आवाज पिँजडाको चारदीवारीमा बिलाउँथ्यो ।
पिँजडाभित्र निरास दिदीभाइ कल्की र लाम्पुच्छ«े, बाबुआमा र आफ्नो जन्मथलोको यादमा घरिघरि भाव विहृवल हुँदै रुन्थे । एकदिन गाडीको लस्करसहित देशका ठूलाठूला नेताहरू उनीहरूलाई पालिएको साहुको घरमा बैठक बस्नका लागि भेला भए । तिनीहरूको कुरा पिँजडामा थुनिएका दिदीभाइ कल्की र लामपुच्छ«ेले सुनिरहे । बैठकमा पारित भएको निर्णयानुसार उनीहरूको घर भएको सिमले वनमा एउटा ठूलो विमानस्थल र पक्की सडक भन्ने भयो ।
यसका लागि हजारौं वनका रूखबिरुवा काटेर झाडीहरूमा डढेलो लगाई पूर्वाधार तयार गर्नुपर्ने भयो । जंगल मासिँदा हजारौं वन्यजन्तु र चराचुरुंगी बेघर हुने भए । यो कुराले दिदीभाइको मनमा डढेलो लाग्यो । आफ्नो घर र बाबुआमाको यादमा उनीहरूको आँखाबाट बलिन्द्र आँसुका धारा बहन थाले । विवश बन्दी दिदीभाइ बार्दलीमा झुण्डिरहेको पिँजडाभित्र एकअर्कालाई हेर्दै भक्कानिन थाले । पिँजडाभित्र थुनिएको एक वर्षपछि वसन्त ऋतुको दिन साहुको नोकरले उनीहरूलाई पिँजडाभित्र खाना राखिदिएर पिँजडाको द्वार बन्द गर्न बिर्सियो ।
त्यही मौका छोपी निश्छल पन्छीहरू साहुको घरबाट भागेर नीलगगनमा स्वतन्त्रतापूर्वक विचरण गर्न थाले । पर वनमा डढेलो लागेर पतपती धुवाँ आकाशतिर उडिरहेको थियो । सडक र विमानस्थल निर्माणार्थ उनीहरूको जन्मभूमि वनका अधिकांश रुख स्वार्थी मानवले काटेर सखाप परेका थिए । टाकुरामा रात्रिविश्राम लिइरहेका दिदीभाइलाई आफ्ना बाबुआमा र जन्मघरको विनाशको भयले मनमा अप्रत्यासित भय पैदा भयो ।
सूर्यका कलिला किरणहरू छर्दै जब बिहानीको आगमन भयो उनीहरू आफ्ना बाबुआमा र जन्मघर खोज्न डढेलो लागेर धुवाँ उडिरहेको आकाशमाथि फन्को लगाउँदै जमिनतिर दृष्टिगोचर गर्न थाले । तल धर्तीमा हजारौं मृत जनावर र पन्छीहरू आगोले डढेर लडिरहेका थिए । रुखहरू ढालिएकाले अनगिन्ती पन्छीहरू घरबारविहीन हुँदै डढेलोले तड्पीतड्पी जलिरहेका थिए ।
आफ्नो घरमाथि उडिरहेका दिदीभाइ विषैलो धुवाँका कारण अनियन्त्रित र बेहोस भई एउटा ढलेर धुवाइरहेको सिमलको रुखको टोड्कोमाथि बज्रिए । त्यो टोड्कोमा एक जोडी सुगा जलेर खाग भएका थिए । त्यहीँ ती दिदीभाइको जन्मघर थियो र त्यो मृत जोडी सुगा, उनीहरूका बाबुआमा कण्ठे र लामपुच्छ«ी थिए । मृत बाबुआमा र जन्मभूमिको अन्तिम दर्शन गरेर ती दिदीभाइले पनि अग्निको राप र विषालु धुवाँको असरले गर्दा सदाका लागि आँखा चिम्ले ।




















