जोहोरबारु (मलेसिया):= सामाजिक सञ्जालमा भाइरल भएको घरेलु कामदारमाथिको कुटपिटको भिडियोपछि जोहोर प्रहरीले दुई दम्पतीलाई पक्राउ गरेको छ। जोहोर प्रहरी प्रमुख दातुक अब रहामान अरसादका अनुसार ३० देखि ३४ वर्ष उमेरका चारै जना संदिग्धलाई शुक्रबार साँझ तामान जोहोर, ताम्पोईस्थित एक घरबाट पक्राउ गरिएको हो।
प्रारम्भिक अनुसन्धानमा दुवै दम्पती एउटै घरमा बस्दै आएको र महिला संदिग्धहरू दिदीबहिनी रहेको खुलासा भएको छ।प्रहरीका अनुसार घटनामा तीन जना घरेलु कामदार संलग्न रहेका छन् र कुटपिटको घटना गत वर्ष जुलाई २६ मा भएको विश्वास गरिएको छ। पीडितमध्ये एक जनाले भिडियो रेकर्ड गरे पनि यो हालै मात्र सामाजिक सञ्जालमा सार्वजनिक भएको बताइएको छ।
तीनै घरेलु कामदार २० वर्ष आसपासका रहेको र घटना पछि भागेका भए पनि अझै मलेसियामै रहेको आशंका गरिएको छ। प्रहरीले संदिग्धहरूको मोबाइल फोन, लुगाफाटा, सीसीटीभी उपकरण तथा दुई घरेलु कामदारको राहदानी (पासपोर्ट) समेत बरामद गरेको जनाएको छ।
चारै जना संदिग्धलाई चार दिनका लागि रिमाण्डमा राखिएको छ। उनीहरूमाथि शारीरिक चोट पुर्याएको, धम्की दिएको, महिलामाथि दुर्व्यवहार गरेको तथा अन्य सम्बन्धित कानुनी प्रावधानअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।सामाजिक सञ्जालमा भाइरल भएका भिडियोहरूमा घरभित्र सोफामा बसेकी एक महिला घरेलु कामदारमाथि केही व्यक्तिहरूले दुर्व्यवहार र कुटपिट गरेको देखिन्छ।




















