काठमाडौं := नेपालको राजनीतिक इतिहासमै छोटो समयमा बलियो जनमत पाएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिखेर आफ्नो पहिलो ऐतिहासिक महाधिवेशनको तयारीमा होमिएको छ । परम्परागत दलहरूको अकर्मण्यताविरुद्ध सुशासन र उत्तरदायी राजनीतिको नारा दिएर नागरिकको ठूलो मत पाएको यो दल अहिले तल्लोदेखि केन्द्रसम्मै नेतृत्व चयन गर्ने प्रक्रियामा छ ।
तर, चुनावमा पाएको मतलाई संगठित शक्तिमा बदल्ने यो महत्त्वपूर्ण घडीमा रास्वपाभित्र पुराना दलहरूकै जस्तो आन्तरिक बेमेल, गुटबन्दी र अस्वस्थ प्रतिस्पर्धा देखिएको छ ।
आगामी असार ७ देखि ९ गतेसम्म पहिलो ऐतिहासिक महाधिवेशन गर्ने घोषणा गरेको रास्वपाले हालसम्म करिब ६० वटा जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको छ ।
तर, सम्पन्न भएका अधिकांश वडा, नगर तथा जिल्ला तहको नेतृत्वमा अन्य दलबाट असन्तुष्ट भई आएका नेताहरूकै वर्चस्व देखिएको छ । पार्टीमा राजनीति नबुझेका नयाँ युवाहरू र पुराना दलको लिगेसी बोकेका नेताहरूबीचको टकरावले अधिवेशनहरू नराम्ररी प्रभावित बनिरहेका छन् ।
रास्वपाको जिल्ला नेतृत्वको नतिजा हेर्दा धेरैजसो ठाउँमा पुराना राजनीतिक दलहरूबाट प्रवेश गरेका अनुहारहरू नै निर्वाचित भएका छन् । गत जेठ २४ गते तनहुँमा सम्पन्न रास्वपाको जिल्ला अधिवेशनमा सभापतिका दुवै प्रतिस्पर्धी नेपाली कांग्रेसका पूर्वनेताहरू हुनुहुन्थ्यो । कांग्रेस तनहुँका पूर्वसचिव विश्वनाथ बास्तोला र गण्डकी प्रदेशका पूर्वसदस्य शेषरमण न्यौपानेबीच भएको प्रतिस्पर्धामा बास्तोला विजयी हुनुभयो ।
त्यसैगरी, कांग्रेसबाटै नवलपुरको मध्यविन्दु नगर सभापति रहिसक्नु भएका दोमनबहादुर भण्डारी अहिले रास्वपाको नवलपुर जिल्ला सभापतिमा निर्वाचित हुनुभएको छ । कांग्रेसबाटै पाँचथरको फिदिम नगर सभापति रहिसक्नु भएका प्रकाश गुरुङ रास्वपा पाँचथरको सभापति बन्नुभएको छ भने अर्घाखाँचीको जिल्ला सभापतिमा निर्वाचित सीता पराजुली पनि यसअघि कांग्रेसकै जिल्ला सदस्य हुनुहुन्थ्यो ।
एमाले र माओवादी केन्द्रबाट आएका नेताहरूले पनि रास्वपाको नेतृत्व सम्हाल्न थाल्नुभएको छ । वि.सं २०७९ को स्थानीय तहको निर्वाचनमा एमालेबाट टिकट नपाएपछि बागी उम्मेदवार बन्नुभएकी पुनम शर्मा अहिले रास्वपाको बागलुङ जिल्ला सभापति बन्नुभएको छ ।
त्यस्तै, झापामा नेकपाबाट प्रवेश गर्नुभएका ओम भण्डारी र धनकुटामा माओवादी राजनीतिबाट आउनुभएका भुवन थापा जिल्ला सभापतिमा निर्वाचित हुनुभएको छ । यसले रास्वपामा नयाँ विचारभन्दा पनि पुराना दलको शैली र लिगेसी हावी हुनसक्ने जोखिम बढाएको राजनीतिक वृत्तमा चर्चा छ ।
तल्लो तहमा रवि र बालेनका नाममा गुटबन्दी
केन्द्रमा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच समझदारी रहेको र सरकार बालेनले तथा पार्टी रविले चलाउने भनिए पनि तल्लो तहमा त्यसको उल्टो प्रभाव परेको छ । तल्लो तहका कार्यकर्ताहरू रवि, बालेन, डा. स्वर्णिम वाग्ले र पूर्वविवेकशील समूहका नाममा विभाजित भएका छन् ।
पार्टीका एक नेताका अनुसार, अधिवेशनमा पुराना दलका नेताहरू मात्र होइन, काठमाडौं बस्ने र नबस्ने, नयाँ र पुरानो भन्दै विभिन्न नाममा गुटबन्दी भइरहेको छ । स्वार्थ समूहहरूले आफ्नो वर्चस्व स्थापित गर्न नेताहरूका नाममा अस्वस्थ प्रतिस्पर्धा गरिरहेका छन् । राजनीतिक विश्लेषक कृष्ण पोखरेलले रास्वपा अहिले प्रशव वेदनामा रहेको टिप्पणी गर्नुभएको छ ।
‘आन्दोलनको रूपमा सफल तर संगठनको रूपमा असफल हुने नेपालको पार्टी प्रणाली नै हो । रास्वपा पनि असन्तुष्टिका आवाज र महत्त्वाकांक्षाको मिश्रणबाट बलियो मत परिणाम प्राप्त गर्ने अवस्थासम्म आइपुगेको हो’, उहाँले भन्नुभयो, ‘अनेक आकांक्षाले रास्वपामा अहिले देखिएको भद्रगोल स्वाभाविक नै हो ।’ उहाँका अनुसार बालेनको संगठनमा खासै रुचि नभए पनि स्वार्थले पार्टीमा छिरेकाहरूले नै उहाँको र रविको नाममा गुट खडा गरेका हुन् ।




















