चीनका जेलमा पनि कोरोना संक्रमण

बेइजिइ । कोरोना भाइरसको संक्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको संख्या दुई हजार नाघेको समाचार आइरहँदा यता चिनियाँ स्वास्थ्य अधिकारीले यहाँका कारागारमा पनि यसको संक्रमण देखिएको बताएका छ्न् । शुक्रबार चिनियाँ अधिकारीले जनाएअनुसार चिनियाँ कारागारमा रहेका करिब ४ सय व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएको पाइएको हो । 

यस प्राणघातक रोगको संक्रमण रोक्ने प्रयास चिनियाँ अधिकारीले खोजिरहेका बेला थुनामा रहेका व्यक्तिसमेतमा यस्तो अवस्था पाइएको खबरले यस महामारीको विषयमा चिनियाँ अधिकारीले चिन्ता व्यक्त गरेका छन् । 

चीनको पूर्वीभागमा रहेको शांडोङ प्रान्तमा रहेको रेञ्चेङ कारागारमा सातजना सुरक्षागार्ड र २०० जना कैदीमा कोरोना भाइरसको संक्रमण देखिएको प्रान्तीय स्वास्थ्य आयोगले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको बताइएको छ । कारागार प्रशासनका निर्देशक वू लेईले शुक्रबार सार्वजनिक भएको यो नयाँ घटनाले रोकथाम र नियन्त्रणका उपायको कार्यान्वयन प्रभावकारीरूपमा अघि बढ्न नसकेको देखिएको बताएका छ । 

यस्तै, चीनको पूर्वीप्रान्त झेजिङको शिलिफेन जेलमा पनि ३४ जनामा सो भाइरसको संक्रमण देखिएपछि सो कारगाराका निर्देशकले जानकारी दिएका छन् । गतवर्ष अन्त्यमा भाइरस देखापरेको मध्यप्रान्त हुबेइको कारागारले बिहीबार २७१ कोरोना भाइरसको थप संक्रमण देखिएको बताइएको छ । 

हुबेइ प्रान्तमा बिहीबार ४११ व्यक्तिमा कोरोना भाइरसका नयाँ संक्रमित देखिएको पुष्टि गरेको थियो तर केही समयपछि कारगारमा देखिएको संख्यासहित ६३१ जनामा सो भाइरसको संक्रमण देखिएको जानकारी दिइएको छ । यस प्राणघातक भाइरसका कारण चीनको जनजीवन झन् भन्दा झन् प्रभावित हुँदै गएको बताइएको छ । यहाँका विद्यालय बन्द छन् भने बाहिर कतैबाट बेइजिङ पुगेका चिनियाँ नागरिकलाई पनि कम्तीमा पनि १४ दिन क्वारेण्टाइनमा बस्न भनेको छ । त्यसैगरी बिहीबार नयाँ ठाउँका दुई नयाँ अस्पतालमा यस संक्रमणका बिरामी देखिएपछि बेइजिङले पनि थप सतर्कता अपनाउनुपर्ने भनेको छ । बेइजिङका फक्सिङ अस्पतालका ३६ जना बिरामी भेटिएका छन् भने त्यहाँ उपचारमा कार्यरत केही स्वास्थ्यकर्मी पनि बिरामी परेका छन् । ती स्वास्थ्यकर्मीका परिवारका सदस्यमा पनि यसको संक्रमण देखिएको बताइएको छ । 

कोरोना भाइरसको संक्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको संख्या दुई हजार २३६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीले शुक्रबार जनाएका छन् । गत वर्षको अन्त्यमा चीनको हुबेइ प्रान्तको वुहान सहरबाट सुरु भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको संख्या वृद्धि भए तापनि संक्रमितको संख्यामा भने कमी आएको चिनियाँ सरकारले जनाएको छ । शुक्रबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट चीनभरीमा मृत्यु हुने व्यक्तिको संख्या दुई हजार २३६ पुग्नुको साथै ७५ हजार ५७६ व्यक्ति संक्रमित भएका छन् ।