काठमाडौं := फागुन २१ गते भएको प्रतिनिधिसभा चुनावमा नराम्रो पराजय भोगेको परम्परागत दलमध्येको एक नेकपा एमालेले आगामी स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने भएको छ । जागरण अभियानमार्फत पार्टीको पुरानो साख फर्काउने एमालेको रणनीति छ ।
एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गराउने जिम्मेवारीसहित मिसन जागरण अभियानको विस्तृत कार्ययोजना पठाएको हो । पार्टीका सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारीसहित पठाइएको मिसन जागरणको अवधारणामा गत निर्वाचनको समीक्षा, पार्टीले हार व्योहोर्नुका कारण, कार्यकर्ता र जनताको पार्टीप्रति निराश हुनु आदि विस्तृत रूपमा केलाइएको छ ।
मुख्यगरी २०७४ को निर्वाचनमा वामगठबन्धनका कारण उत्साहित भएका जनता माओवादीसँगको पार्टी एकता टिकाउन नसक्दा र पछि एमाले फुट्दा निराश भएर पलायन भएको पार्टीले पठाएको दस्ताबेजमा उल्लेख छ । पार्टीले तयार गरेको मिसन जागरण अभियानको अवधारणामा भनिएको छ, ‘२०७४ को आमनिर्वाचन र नेकपाको गठनबाट उत्साहित बनेको जनमत नेकपाको विघटन र एमालेको विभाजनबाट समेत निराश हुँदै क्रमशः वैकल्पिक शक्तितर्फ आकर्षित भएको हो ।’
पार्टी र पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामहरू जनस्तरसम्म प्रचार गर्न नसक्दा त्यसको असर आमजनतासम्म पुगेको एमालेको दाबी छ । पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यले पार्टीका नेताहरू विगतदेखिको राजनीतिक उतारचढाव, निर्वाचनपछिको पार्टीको राजनीतिको मूल्यांकन र भावी कार्यदिशा बारे स्पष्ट भएर उनीहरूले मातहतमा सही सन्देश प्रवाह गर्न सकुन् भन्ने लक्ष्य रहेको जानकारी दिँदै भन्नुभयो, ‘पार्टी कमजोर हुनाको कारण, देशी विदेशीको चलखेल, निर्वाचनमा एमालेविरुद्ध अल्गोरिदमको प्रयोग जस्ता विषय विस्तृत रूपमा व्याख्या गरिएको छ ।’
‘६ ज को नीति’
नेकपा एमालेले जनतासँगको सम्बन्ध सुधारका लागि ‘६ ज’ को नीति अघि सारेको छ । एमालेको दस्ताबेजमा भनिएको छ, ‘जनतामा जाऔं, जनताका कुरा सुनौं, जनप्रिय बनौं, जनसंगठन परिचालन गरौं, जबजलाई आत्मसात् गरौं र जनमत सर्वेक्षणका आधारमा समेत प्रत्येक तहमा प्रतिस्पर्धामा सफलता हासिल गर्नसक्ने योग्य र सक्षम नेतृत्व तयार गरौं ।’ जारी ३१ पेजको अवधारणा पत्रमा पार्टीका नेताहरूको जिम्मेवारी तोकिएको छ ।
प्रमुख आचार्यका अनुसार सबै केन्द्रीय सदस्यलाई पालिकाको जिम्मेवारी दिइएको छ । केन्द्रीय सदस्यले नपुगेका ठाउँमा पार्टीका अन्य नेताहरूलाई समेत जिम्मेवारी दिइएको छ । जिम्मेवारी पाएका नेताहरू स्थलगत रूपमा खटेका छन् कि छैनन् भनेर अनुगमनको पनि व्यवस्था गरिएको छ । केन्द्रबाट खटिने नेताहरूलाई होटलमा भन्दा जनताको घरमै बस्न आग्रह गरिएको आचार्यले जानकारी दिनुभएको छ । अभियान र जिम्मेवारी आगामी स्थानीय तह र प्रदेशको निर्वाचनसम्म कायम रहने एमालेले जनाएको छ ।




















