वुहान । कोरोना भाइरसको उद्गमस्थल चीनको हुबेई प्रान्तमा आइतबार एकै दिनमा १ सय व्यक्तिको मृत्यु भएको छ । यद्यपि, यस भाइरसको कारण चीनभर आइतबार १ सय ५ व्यक्तिको मृत्यु भएको चिनियाँ अधिकारीले सोमबार जनाएका छन् । त्यसैगरी, आइतबार चीनभरी २ हजार ४८ जना संक्रमित भएका समाचारमा जनाइएको छ । संक्रमितको यो संख्या चीनको ३९ प्रान्तमा रहेको बताइएको छ ।
गत डिसेम्बरबाट सुरु भएको यस कोरोना भाइरसको संक्रमणको कारण हुबेई प्रान्तमा मात्र ५८ हजार १८२ जनालाई कोराना भाइरस संक्रमण भएको आइतबार प्राप्त समाचारमा जनाइएको छ ।
चीनमा फैलिएको प्राणघातक कोरोना भाइरस संक्रमणबाट आजसम्म कम्तीमा पनि एक हजार ७७७ जनाको ज्यान गएको छ । वैज्ञानिकहरूले कोभिड–१९ नाम दिएको यो भाइरसको नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि २६ अर्ब युआन विनियोजन गरेको चिनियाँ अधिकारीले जनाएका छन् । यस भाइरसको उपचारका क्रममा खटिएका कम्तीमा पनि २ हजार स्वास्थ्यकर्मी संक्रमित भएका छन् । यसबाट संक्रमणबाट छजना स्वास्थ्यकर्मीको उपचारका क्रममा मृत्यु भएको छ ।
यस भाइरसको प्रकोप नियन्त्रणका लागि विश्वका नेताले चीनलाई साथ दिने प्रतिबद्धता जनाउँदै आएका छन् । संयुक्त राष्ट्रसंघ, विश्व स्वास्थ्य संगठन, युरोपेली युनियनसहित विश्वका नेताले पनि यो संक्रमणको नियन्त्रणमा चीनलाई सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट चीनभरिमा करिब ६५ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । भाइरसको सुरुवात भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् ।



















