एजेन्सी:= नयाँ दिल्लीमा विधानसभाका लागि भएको निर्वाचनमा ५८ प्रतिशत मत खसेको छ । कूल ७० सदस्य भएको विधानसभाका लागि शनिबार मतदान भएको हो । ७० सदस्यसहितको दिल्ली विधानसभामा बहुमतका लागि ३६ जना विधायक आवश्यक पर्दछ। चुनाव सम्पन्न भएसँगै दिल्ली विधानसभामा यो पटक कसको पल्लाभारी होला भनेर बहस सुरु भएको छ ।
दुई दिनपछि आउने नतिजाको पूर्वअनुमान र मत सर्वेक्षण सुरु भएको छ । यदि भारतीय सञ्चारमाध्यामहरु र केही संस्थाहरुको मत सर्वेक्षणलाई विश्वास गर्ने हो भने योपटक पनि दिल्लीको सत्तारूढ दल आम आदमी पार्टी नै नेतृत्वमा आउने प्रबल सम्भावना देखिएको छ ।
भारतका प्राय सबै न्यूज च्यानलहरूले आम आदमी पार्टी र मुख्यमन्त्री अरविन्द केजरीवाललको नेतृत्वलाई आफ्नो एक्जिट पोलमा निर्णायक धारमा देखाएका छन्। मत सर्वेक्षणले भनेको छ, ‘दिल्ली र विपक्षीको भूमिका खेल्ने भाजपा र काँग्रेस दुबै सत्ताको दौडमा यो पटक पनि चिप्लिएका देखिन्छन्।’ यद्यपि,चुनावको वास्तविक परिणाम मंगलबार मात्र आउनेछ। एबीपी न्यूज एक्जिट पोलकाअनुसार आम आदमी पार्टीले ४९ देखि ६३ सीट ल्याउने सम्भावना देखिएको छ भने टाइम्स नाउ र इप्सोस सर्वेक्षणले आम आद्मीको ४७ सीट आउने सर्वेक्षण गरेका छन् ।
एबीपी न्यूजको सर्वेक्षणमा भाजपाले ५ देखि १९ र काँग्रेसले ० देखि ४ सिट पाउने अनुमान गरेको छ । टाइम्स नाउले भाजपालाई २ र काँग्रेस पराजय हुने मत सर्वेक्षण गरेको छ । इन्डिया न्युजकाअनुसार भाजपा उम्मेदवारहरुले ११ देखि १७ सिट पाउने देखिएको छ भने काँग्रेसले २ सीट प्राप्त गर्न सक्ने देखिएको छ ।
विधानसभामा ६७२ उम्मेदवारहरूले चुनावी मैदानमा प्रतिस्पर्धा गरेका थिए । चुनावमा आम आदमी पार्टी, भाजपा र काँग्रेसबीच त्रिकोणीय प्रतिस्पर्धा हुने अपेक्षा गरिएको थियो। तर त्यस्तो देखिएन । आम आद्मीले चुनाव जित्ने सम्भावना बलियो देखिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन्।
यसअघि सन् २०१५ को विधानसभा चुनावमा पनि आम आदमी पार्टीले ६७ सीटका साथ बहुमत प्राप्त गरेको थियो । यसपटक पनि आम आदमी पार्टीले सत्तामा फर्कन पूर्ण रुपमा शक्ति लगाएको देखिएको छ । केजरीवालभन्दा अघि लगातार १५ वर्षसम्म दिल्लीको सत्तामा रहेको काँग्रेसले यसपटक पनि हार ब्यहोर्ने निश्चितजस्तै देखिएको भारतीय सञ्चारमाध्यामहरुको आँकलन छ।
सन् २०१३ डिसेम्बरमा भएको विधानसभा चुनावमा भने कुनै दलले बहुमत प्राप्त गर्न सकेका थिएनन् । त्यसपछि आम आदमी पार्टीले काँग्रेससँग मिलेर सरकार गठन गरेको थियो, जुन सरकार ४९ दिनमात्र चलेको थियो । त्यसपछि आम आदमी पार्टी आफैंले सरकार खारेज गरेर पुनः चुनावमा उत्रिएको थियो । त्यसयताको यात्रामा आम आद्मी पार्टी विजयी हुँदै गएको देखिएको छ । यो पटक पनि सो पार्टीले सफलता हासिल गर्ने सम्भावना नजिकै देखिएको छ । दिल्ली सरकारको कार्यकाल २२ फेब्रुअरी मा समाप्त हुँदैछ




















