आलमलाई थुनामा राख्ने आदेश सदर

काठमाडौं । रौतहटमा सामूहिक हत्याकाण्डका मुख्य अभियुक्त पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई थुनामा राख्ने जिल्ला अदालत रौतहटको आदेश उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले सदर गरेको छ ।

न्यायाधीश डिल्लीराज आचार्य र सत्यमोहन जोशी थारूको संयुक्त इजलासले आलमलाई पुर्पक्षका लागि थुनामा नै राख्ने रौतहट जिल्ला अदालतको आदेश शुक्रबार सदर गरेको हो । 

रौतहट जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले गत कात्तिक २९ गते आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । उच्च सरकारी वकिल कार्यालय वीरगञ्जले रौतहटमा विचाराधीन मुद्दा पर्सा जिल्ला अदालत सार्न भन्दै पुस १ गते उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगगञ्जमा निवेदन दर्ता गरेको थियो ।

रौतहटमा मुद्दा चलिरहँदा त्यहाँ साक्षीको सुरक्षा र संकलित प्रमाण अझ मजबुत बनाउन असुरक्षा हुने देखेपछि जिल्लास्थित प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालयलगायत सम्बन्धित निकायले प्रतिवेदन उच्च सरकारी वकिलको कार्यालयमा पेश गरेका थिए । तर, इजलासले रौतहटबाट पर्सा नसार्ने आदेश गरेको छ ।

मुद्दा सार्न भन्दै अदालतमा निवेदन दर्ता भएपछि आलमले पनि आफूलाई नथुनेर तारेखमा राखेर मुद्दाको पुर्पक्ष गरीपाऊँ भन्दै पुनरावेदन गरेका थिए । आलम पुर्पक्षका लागि नख्खुस्थित कारागारमा छन् ।

रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसबाट निर्वाचित आलममथि २०६४ सालको संविधानसभा निर्वाचनमा धाँधली गरी चुनाव जित्ने उद्देश्यले बम बनाउँदै गर्दा विष्फोटमा परेर घाइते भएकालाई इँटाभट्टामा जलाएर मारेको अभियोगमा मुद्दा दर्ता भएको थियो ।