सामुहिक नाचेर विश्व कीर्तिमानी राख्ने तयारी

काठमाडौं । एउटै स्टेजमा १३ नेपालीले लगातार २७ घण्टा नाचेर विश्व कीर्तिमानी राख्ने तयारी गरेका छन् । सन् २०११ मा अमेरिकाको एक अवार्ड आयोजकले २४ घण्टा नाचेर राखेको रेकर्ड तोड्ने तयारी गरिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । 

आउँदो फागुन २२ गते काठमाडौंभित्रै कार्यक्रमको आयोजना गरिने आयोजक मारुनी मिडिया नेटवर्कका अध्यक्ष डिलबहादुर मगर (डिकेश) ले जानकारी दिए । नृत्य गर्नेमा डिकेशसहित अन्य १२ युवायुवती छन् । ‘यसभन्दा अघि २४ घण्टा १ मिनेटको अमेरिकाको रेकर्ड छ । त्यसलाई तोड्न हामीले २७ घण्टाको टार्गेट राखेका छौं । सबै भाइबहिनीलाई अहिले तयारी बनाइरहेका छौं’, डिकेशले भने, ‘अब कार्यक्रमको मितिसम्म त्यसमा प्रयोग हुने नियम राम्रोसँग बुझ्दै छौं र अभ्यास गरिरहेका छौं ।’

कार्यक्रम भरी सबै नेपाली मौलिक गीत बज्ने डिकेश बताउँछन् । नेपाली गीतसंगीतलाई विश्वव्यापी पु¥याउन पनि यस कार्यक्रमले सहयोग गर्ने उनी बताउँछन् । यस कार्यक्रम गिनिज इभेन्ट नेपालले व्यवस्थापन गर्दैछन् । जुन संस्थाले नेपालबाट यसअघि चारवटा विश्व रेकर्डका कार्यक्रम व्यवस्थापन गरिसकेको छ । 

गिनिज इभेन्ट नेपालका अध्यक्ष सन्तोष लामाका अनुसार सामुहिक नृत्य गर्दा केही नीतिनियम जटिल हुने भएकाले त्यसको गृहकार्य भइरहेको छ । ‘हामीले यसअघि पनि नृत्य विधाकै दुईवटा रेकर्ड सफल बनाइसकेका छौं तर एउटै स्टेजमा १३ जनाले नृत्य गर्नुपर्ने हुँदा धेरै नियम हुन्छन् । त्यसलाई पछ्याउनु आवश्यक हुन्छ’, सन्तोषले भने । ‘सहभागिता जनाउने १३ युवायुवतीको जोश र जागर हेर्दा पक्कै सजिलै २७ घण्टा पार गर्नुहुन्छ होला ।’

यस नृत्य गर्नेमा डिकेशसहित केशरबहादुर पुर्जा, शान्ता तिलिजा, सरला तिलिजा, शिक्षा गर्बुजा, अंशु गर्बुजा, चन्द्र माया गुरुङ, जस्टिना श्रीस, सुस्मिता गुरुङ, शान्ती शाही, यमुना रोका, सञ्जु पुन, राजीन पुन छन् । 

जानकारी दिने उद्देश्यले शुक्रबार रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा प्रमुखअतिथिको रूपमा रहेकी लोकप्रिय गायिका राधिका हमाल पुनले सफलताको शुभकामना व्यक्त गरिन् । मानिसलाई केहीबेर यतिकै उभिन गाह्रो हुन्छ तर २७ घण्टासम्म नाच्नु सानो कुरा नभएको भन्दै आँट गरेकोमा प्रशंशा गरिन् ।